४ बैशाख २०८१, मंगलबार

जनताको स्वास्थ्यप्रति नगर प्रतिबद्ध छ : नेपाली 

बागलुङ । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र यस क्षेत्रका समुदायको साझा गहना बबताएका छन । उनले स्वास्थ्य चौकीको ब्यबस्थापन र गुणस्तरिय सेवा प्रवाहमा सबैको साथ सहयोग र जिम्मेवारी रहनुपर्ने बताए ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित सामाजिक परिक्षणको आम भेलालाई सम्बोधन गर्दै उनले जनताको स्वास्थ्यप्रति नगर प्रतिबद्ध रहेको बताए । स्वास्थ्य चौकीलाई स्तरउन्नति गरी अस्पतालको रुपमा बिकसित गर्न आफुहरु लागिरहेको उनले बताए । 

स्वास्थ्य केन्द्रलाई जनतामुखी बनाउन सेवाग्राहीसँग स्वास्थ्यकर्मीको ब्यबहार नम्र हुनुपर्ने र ब्यबस्थापकीय पक्ष प्रभाकारी हुनुपर्नेमा उनले जोड दिए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय सरकार आएपछि क्रमिक रुपमा सुधार आएको र अब नयाँ सोच र योजनामार्फत यसबाट जनतालाई गुणस्तरिय सेवा प्रदान गर्न आफुहरु तत्पर रहेको नेपालीले बताए ।

सामाजिक परिक्षण कार्यको पहिलो चरणमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरक्रिया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरुसँगको अन्तरक्रिया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरक्रिया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको छ । 

अभियानको क्रममा ढोरपाटन नगरपालिका वडा नं १ का  विभिन्न स्थानमा तथ्याङ्क संकलन गरिएको थियो । सेवा केन्द्रले प्रवाह गरेका सेवा सुविधा, सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । 

सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण गरेकी थिईन ।

भेलामा सहभागीले प्राथमिक स्वास्थ्य केन्द्रबाट पाउने सेवा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिए । उनीहरुले स्वास्थ्य केन्द्रमा खानेपानी र सरसफाइको उचित ब्यबस्थापन, बिरामीको चाप अनुसार स्वास्थ्यकर्मी उपलब्ध गराउन सम्बन्धित निकायलाई सुझाए । पहिलेको तुलनामा नेपाल सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरु पर्याप्त उपलब्ध भएको तर स्वास्थ्य केन्द्रबाट प्रवाह हुने केही सेवामा लिइदै आएको सेवा शुल्कलाई सहुलियत गर्नुपर्ने उनिहरुको माग छ ।
 
भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख कृष्णहरी श्रेष्ठ, प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चित्र भण्डारीले प्रतिवद्वता सहित स्पष्ट पारे । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्