जातीय विभेद विरुद्धका अभियान्ता भगतसर्वजीतको सम्झनामा संग्रहालय

बागलुङ । जातीय विभेद् विरुद्धका अभियान्ता स्व. भगतसर्वजीत विश्वकर्माको सम्झनामा संग्रहालय निर्माण गर्न थालिएको छ । जिल्लाको बागलुङ नगरपालिका–७ ठारास्वारास्थित उहाँकै जन्मस्थानमा संग्रहालय निर्माण थालिएको भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानले जनाएको छ । 

जातीय विभेद् विरुद्ध उहाँले गर्नुभएको सङ्घर्षकोे विवरण, उहाँले अध्ययन गर्नुभएको धार्मिक पुस्तक, उहाँद्वारा लिखित पुस्तकका साथै विभिन्न परम्परागत संस्कृति झल्काउने सामग्री संग्रह गर्न संग्रहालय निर्माण गर्न थालिएकोे उक्त प्रतिष्ठानका अध्यक्ष ओमबहादुर विश्कर्माले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको रु १० लाखको लागतमा संग्रहालयको भवन निर्माण शुरु गरिएको हो ।

प्रतिष्ठानले विश्वकर्माको सम्झनामा संग्रहालय र पार्क बनाउने गरी योजना तयार पारेको छ । “हामीले पहिलोचरणमा संग्रहालयको भवन निर्माण गर्नेछौं,” उहाँले भन्नुभयो, “योजना अनुसारको संग्रहालय तथा पार्क निर्माणका लागि आवश्यक बजेट अभाव छ ।” 

अध्यक्ष विश्वकर्माका अनुसार संग्रहालय तथा पार्क निर्माणका लागि रु दुई करोड ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ । यसका लागि स्थानीयवासी लालबहादुर विश्वकर्माले चार आना जग्गा निःशुल्क उपलव्ध गराउनुभएको हो । 

संग्रहालय तथा पार्क निर्माण भएपछि स्व. विश्वकर्माको जीवनी बुझ्न तथा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ । विसं १९५० चैतमा बागलुङ नगरपालिका–७ ठाडास्वारा जन्मनुभएका उहाँले भारतको बनारसमा संस्कृत विद्या अध्ययन गरी १९९७ नेपाल आएर जातीय विभेद विरुद्ध आन्दोलन गर्नुभएको थियो ।

प्रतिष्ठानले अगाडि सारेको योजनाका लागि प्रदेश, केन्द्रीय तथा स्थानीय सरकारसँग बजेट विनियोजनका लागि पहल भइरहेको वडाध्यक्ष खगराज पाण्डेयले बताउनुभयो । 

विश्वकर्माले हिन्दू धर्म अध्ययन गरी धार्मिक सहिष्णुता भङ्ग गरेको भन्दै स्थानीयवासीले उहाँको आश्रम भत्काएका थिए भने सरकारले १७ महीनासम्म कारागारमा कठोर यातना दिएर राखेको थियो । कठोर यातनापछि ६० वर्षको उमेरमा उहाँको निधन भएको थियो । 

जातीय विभेद् विरुद्ध सचेना अभियान चलाएको भन्दै उहाँको मार्गदर्शनलाई आत्मसाथ गर्न उक्त प्रतिष्ठान स्थापना गरी उहाँकै नाममा थुपै्र सामाजिक काम हुँदै आएको अध्यक्ष विश्कर्माले बताउनुभयो । 

संग्रहालय शनिबार गण्डकी प्रदेश सांसद् इन्द्रलाल सापकोटाले शिलान्यास गर्नुभएको थियोे । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय