तानसेनमा खानेपानीको समस्या विकराल 

पाल्पा । सुख्खा मौसमसँगै पाल्पा सदरमुकाम तानसेनमा खानेपानीको समस्या देखिन थालेको छ । तानसेन बजारभित्रका अधिकांश ढुङ्गेधारा, खानेपानीका मुहान सुकेका छन ।

अहिले तानसेनवासीलाई पानीको जोहो कसरी गर्ने भन्ने समस्याले पिरोलिएको छ । गर्मीयाम बढेसँगै दिन प्रतिदिन खानेपानीको समस्या विकराल बन्दै गएको छ । 

तानसेनमा अहिले एक हप्तादेखि पन्ध्र दिनमा एक पटक धारामा पानी आउने गरेको स्थानीवासीको गुनासो छ । बालबालिकालाई विद्यालय पठाउनभन्दा पनि खानेपानीको जोहो गर्नुपर्ने बाध्य रहेको तानसेन नगरपालिका–६ का नन्दबहादुर आलेले बताए । “खडेरीयाम शुरु भएपछि पानीको समस्या बर्सेनी हुन्छ” उनले भने, “छोराछोरीको पठनपाठनभन्दा पनि खानेपानी जोहोकै समस्याले सताउने गरेको छ ।”

तानसेनमा अहिले भुल्के, सिस्ने, होलाङ्दी र तीनधाराबाट पम्पिङ गरेर खानेपानी आपूर्ति गरिँदै आएको छ । एक घण्टाको बाटो हिँडेर पानी लिन आउँदा दुई घण्टासम्म लाइनमा बस्नुपरेको तानसेनमा कोठा भाडा गरी बस्ने हेमा रानाले बताईन । एक घण्टाको समय पैदल हिँडेर आए पनि धारामा पानी भर्नेको लाइनले पालो पाउनै मुस्किल पर्ने गरेको उनको भनाइ छ ।

खानेपानी अभावले विशेषगरी तानसेनमा पढ्न बसेका विद्यार्थीहरुलाई बढी समस्या परेको छ । आफ्नो पढाइलाई समेत थाती राखेर पानीको व्यवस्था गर्नु परेको त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी बिमल पौडेलले बताए । “पढाइभन्दा पनि खानेपानीको चिन्ता बढी छ” उनले भने, “खानेपानी सहज नहुँदा पढाइ नै प्रभावित हुन पुगेको छ ।” लामो खडेरी तथा बिद्युत आपूर्तिमा समस्या रहेकाले खानेपानी अभाव झन विकराल बन्दै गएको हो ।

खानेपानी समस्याको निराकरणका लागि तानसेन खानेपानी उपभोक्ता समितिको पहलमा नेपाल सरकारको ४० करोडको लगानीमा कालीगण्डकी खानेपानी योजनाको काम अगाडि बढेको बताइएको छ । योजनाको काम तीव्र गतिमा अगाडि बढिरहेका कारण यहि असार, साउनसम्म तानसेनवासीले कालीगण्डकीको पानी उपभोग गर्न पाउने खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले बताए ।

कालीगण्डकी खानेपानी योजनाको काम करीब ८० प्रतिशत सम्पन्न भइसकेकाले अब छिट्टै तानसेनवासीको प्यास कालीगण्डकीले मेटाउनेमा भने स्थानीयवासी ढुक्क देखिन्छन । तानसेनमा दैनिक करीब बीस लाख लिटर पानीको माग भइरहेकामा अहिले करीब साढे सात लाख लिटर पानी मात्र आपूर्ति हुँदै आएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय