गुमनाम ‘दारेढुङ्गा’

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका १३ मा रहेको भँगारी भवने डाँडा (दारेढुङ्गा) पर्यटकीय स्थल संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

पिकनिक तथा पर्यटकीय स्थलका रुपमा झण्डै आठ वर्ष अघि विकास गरिएतापनि पर्याप्त प्रचारप्रसार नहुँदा दारेढुङ्गा गुमनाम छ । ०६८ सालमा पर्यटन मन्त्रालयको पन्ध्र लाख बजेटले यहाँ विभिन्न संरचना निमार्ण गरिएको थियो । 

तत्कालिन समयमा निकै मनमोहक संरचना निमार्ण गरेर आकर्षक बनाईएको भएपनि अहिले ती संरचना जिर्ण बन्दै गएका छन । पछिल्लो समय ती संरचनालाई मर्मत गरेर फेरी सजाउने प्रयास भईरहेको छ । यहाँ संरचना निमार्ण गरी पिकनिक तथा पर्यटकीय स्थलका रुपमा विकास गरिएतापनि संरक्षण एवम प्रचारप्रसार सम्बन्धित पक्षले चासो नदेखाएपछि ओझेलमा परेको हो । 

रामबहादुर थापाको नेतृत्वमा ०६९ सालमा नै दारेढुङ्गासम्म पुग्ने मोटरबाटो निमार्ण गरिएको थियो । जिल्लाको सदरमुकाम तम्घासबाट पूर्वतर्फ झण्डै दश किलो मिटर पक्की सडक र केहि कच्ची सडकको यात्रपछि पर्यटकीय स्थल दारेढुङ्गा पुगिन्छ । पछिल्लो समय उक्त स्थल हुँदै रेसुङ्गासम्म जाने सडकलाई स्तरोन्नती गरिएको छ तर यसको पनि मर्मत तथा संरक्षणको लागि भने कुनै चासो दिईएको छैन । 

दारेढुङ्गामा विश्राम स्थलसहितका छाताहरु, बनभोज जानेहरुको लागि पकाउने स्थललगायत अन्य धेरै मनमोहक संरचनाहरु छन । यहाँबाट जिल्लाका बिभिन्न स्थानहरुसँगै छिमेकी जिल्ला अर्घाखाँची, पाल्पालगायतका भु–भाग समेत अवलोकन गर्न सकिन्छ । 

दारेढुङ्गालाई पिकनिक स्पोटको लागि नगरबाट बजेट विनियोजन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी होटलसहित व्यवस्थापन गर्ने सोचमा रहेको रेसुङ्गा नगरपालिका १३ का वडाध्यक्ष खुमबहादुर खत्रीले बताए । पछिल्लो समयमा नगरप्रमुखले पनि चासो देखाएकाले यसक्षेत्रको बिकासको लागि लागि पर्ने उनले बताए । यसको संरक्षण र प्रचारप्रसार गर्न सके जिल्लाकै गौरव राख्ने पर्यटकीय क्षेत्र बन्ने खत्रीले बताए । 

शनिवार र बिदाको समयमा छिटफुट रुपमा पर्यटकहरु त्यहाँ पुग्ने भएपनि धेरैलाई भँगारी भवने डाँडा (दारेढुङ्गा) को बारेमा जानकारी समेत नभएको घुम्न आएका इस्मा गाउँपालिकाका नबिन अर्यालले बताए । अरुबाट सुनेर घुम्न आएको बताउँदै उनले यसक्षेत्रको प्रचार गरी अगाडी ल्याउन सके नगरलाई पर्यटक तान्न सहज हुने बताए ।

दारेढुङ्गा पिकनिक स्र्पोटको अवलोकन गर्न पुगेका रेसुङ्गा नगरपालिका भाँडगाउँका सुरज कुँवरले यसक्षेत्र निकै मनमोहक रहेकाले प्रचारप्रसार र सुबिधासम्पन्न बनाउनुपर्ने सुझाव दिए । उनले दारेढुङ्गाको बारेमा धेरैलाई जानकारी समेत नभएकाले प्रचारप्रसारमा ध्यान दिन आग्रह गरे । जिल्लाको गौरवका रुपमा रहेको रेसुङ्गा क्षेत्रको काखमा पर्ने उक्त पर्यटकीय स्थलको संरक्षण र रेखदेखको अभाव खडकिएको कुँवरको भनाई छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय