८ बैशाख २०८१, शनिबार

‘खेल्दै सिक्ने केन्द्र’

नेपालगञ्ज । वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगञ्जमा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई थप प्रभावकारी बनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई थप प्रभावकारी बनाउन रणनीतिक कार्ययोजना निर्माण कार्यक्रम अघि बढाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ बाँके, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदलले निर्माण गरेको कार्ययोजनाअनुसार यो आर्थिक वर्षका लागि थप रु एक लाख ९० हजार विनियोजन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले भने, “करीब १२ हजारभन्दा बढी बालबालिका र किशोरकिशोरीहरु विद्यालयबाहिर रहेकाले उनीहरुलाई केन्द्रमा समेट्ने उद्देश्यले थप रणनीतिक योजना निर्माण गरिएको हो ।”

खेल्दै सिक्ने केन्द्रलाई अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने केन्द्र राखिएका नेपालगन्ज उपमहानगरपालिकाको टोलअन्तर्गतको वडा कार्यालयले पनि अपनत्व ग्रहण गरेको छ । नेपालगञ्ज–४ का अध्यक्ष सफिक बेहनाले भने, “खेल्दै सिक्ने केन्द्र आफ्नो वडामा रहेकाले जिम्मेवारी बोध गरी यसका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था वडा कार्यालयले मिलाएको छ ।” अहिले नेपालगञ्ज–४ र ८ मा दुई वटा खेल्दै सिक्ने केन्द्र सञ्चालनमा रहेको छ । आगामी आर्थिक वर्षको साउनदेखि वडा नं १४, १५ र १९ मा तीन केन्द्र थप गरी पाँच वटा केन्द्र सञ्चालन गरिने शिक्षा शाखाप्रमुख गोर्खबहादुर थापाले बताए ।

श्रम गर्नुपर्ने तर विद्यालय जान नसक्ने बालबालिका र किशोरकिशोरीले ती केन्द्रमा बिहान १० देखि अपराह्न ५ बजेसम्म जुनसुकै समयमा आएर पढ्न र खेल्न पाउने व्यवस्था मिलाइएको छ । बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरुको सम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकाले केन्द्रमा लगानी गर्दै आएको युनिसेफका रामप्रसाद गौतमले बताए ।

केन्द्रमा १० देखि १९ वर्ष उमेरका विद्यालय छाडेका तथा नगएका बालबालिका र किशोरकिशोरीले विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशील, सूचना तथा प्रविधि, आयआर्जनलगायतका विषयमा ज्ञान हासिल गर्ने बताइएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्