सधै पर्दा पछाडी जिल्ला अस्पताल

गुल्मी । गरिवको जिल्ला अस्पताल तम्घास । दैनिक लगभग दुई सयले उपचार गराउँछन् । यो अस्पताल आधा अर्घाखाँचीका मानिसको पनि जीवन हो ।

अहिलेसम्म थुप्रै खाले राम्रा नराम्रा छाप आम नागरिकमा छन । नराम्रो छाप मेटाएर हरेक नागरिकलाई अस्पताल प्रति अपनत्व महसुस गराउनु नै अस्पतालको चुनौति हो । जिल्ला अस्पताल फेरिएको छ । तर सामान्य नागरिक भन्दा ठुलाबडाहरुकै धारणा फेरिएन । बिगतले अस्पतालको बर्तमान धुमलिएका छ । जसका कारण गाउँबाट सरकारी अस्पतालकै लागि आएकाहरु पनि अस्पतालको गेटबाट बटारिन्छन् ।

मेडिकलसम्म पुग्छन्, एक थैला औषधी बोकेर फर्कन्छन् । एक जनाले सक्ने सवैलाई जिल्ला अस्पतालले राम्रो सुविधा दिएन, औषधी पाइएन, धेरै समय लगाइदिए भनेर प्रचार गरिदिन्छ । तर यथार्थमा उ सरकारी जिल्ला अस्पतालमा पाइला टेकेकै हुँदैन । त्यसपछि एउटा अर्को प्रवृति जो सधै जिल्ला अस्पताललाई कम्जोर देख्न चाहन्छ । अनि जिल्ला अस्पताललाई रेफर सेन्टर भनेर आफ्नो व्यापार गरिरहेको छ ।

त्यस्ता व्यक्ति र प्रवृतिका कारण पनि जिल्ला अस्पताल ओझेलमा छ । त्यसैमाथी राज्यको दृष्टि पुग्दैन । जसका कारण बिरामी भन्दा अस्पताल थला पर्दै जान्छन् । परिणाम जिल्ला अस्पतालको बिशेषज्ञ डाक्टर गाउँको धामी जस्तो र क्लिनिकका मालिकहरु बिशेषज्ञ बन्ने दिन आउँछ । अहिले पनि केहि मेडिकल खसीको टाउको देखाएर कुकुरको मासु बिक्री गर्न चाहान्छन् ।

कुनै नाम चलेको अस्पतालको डाक्टरको नाममा १० देखि २० वटा रोग सन्चो बनाउने ठेक्का पट्टा चलेको बर्षौ भयो । गाउँबाट सदरमुकाम आउँदा रोग बोकेर आएका थिए कि थिएनन, त्यो भगवानले जाननु । तर सदरमुकामबाट गाउँ जाँदा रोग र औषधी बोक्नुपर्ने बिडम्बना सोझा नागरिकमा छ । गाउँमा डिप्रेशन भएर तम्घास की तम्घासबाट गाउँ फर्किदा डिप्रेशन । त्यसको लेखाजोखा गर्ने कहिले ? र कसले । सरकारी भनेपनि सस्तो, वा निशुल्क जसका कारण आम नागरिकको बुझाईमा त्यसलाई गुणस्तरहिन मानिन्छ ।

यो बिषयमा धेरैले बुझ्न र बुझाउन बाँकी छ । अर्को पट्टि उचित व्यावस्थापन बिना जिल्ला जनस्वास्थ्य कार्यालयबाट अस्पताल छुट्टाएर राज्यले टुहुरो जस्तो बनाएको छ । यो अस्पताल बास्तवमै गरिवको अस्पताल हो । जो एम्बुलेन्समा चढेर समेत अस्पताल आउने हैसियत राख्दैनन । त्यस्ता व्यक्तिहरुको प्राण जिल्ला अस्पताल तम्घास भौतिक संरचनामा कम्जोर छ ।

एकातिर कम्जोर भौतिक संरचना र मनस्थिती । अर्कोतिर कम जनशक्ति । तर पनि जिल्ला अस्पतालले निरन्तर सेवा दिइराखेको छ । यो अस्पताल मानसिकताले मात्रै नभएर भौतिक उपस्थितीमा समेत साँघुरिएको छ । जिल्ला अस्पतालको लागि ३५ रोपनी जग्गा आवश्यक पर्दथ्यो । तर अहिले जम्मा १४ रोपनी मात्रै उपलब्ध छ । संरचना अभावले बिरामीलाई मात्रै नभएर सेवामा २४ सै घण्टा खट्ने कर्मचारीहरु पनि आजित छन् । जिल्ला अस्पताल कागजमा ५० वेडकै हो ।

जनशक्ति र भौतिक संरचनाको कारण ३० वेडमै सिमित छ । यो अस्पतालको बिडम्बना जिल्लाका स्थानीय सरकारलाई जानकारी छ । थुप्रै पटक छलफल र बसह भए । तर स्थानीय सरकारका प्रमुखहरु सकरात्मक देखिदैनन् । जिल्ला अस्पतालमा आउने बिरामी मध्ये ९० प्रतिशत गाउँबाटै आउँछन् । तर जिल्ला अस्पतलाको विकासको लागि एक रुपैयाँ बिनियोजन गर्न सकरात्मक नदेखिनुले जिल्ला अस्पताल कतै रेसुंगा नगरपालिकाको मात्रै काँधमा सिमित हुने हो कि भन्ने शंकाहरु उब्जिएको छ ।

बिरामी आउने आधारमा पनि रेसुंगा नगरपालिका मुसिकोट नगरपालिका, इस्मा, मदाने, धुर्कोट र मालिका गाउँपालिकाले बार्षिक बजेट बिनियोज गर्नपर्छ । भौतिक संरचनाको अभावमा जिल्ला अस्पतालका अहिलेका डाक्टरहरु एउटा कोठामा दुईदेखि तीन जनाले बिरामी जाँच्नुपर्ने बाध्यता छ ।

संरचना भए दरबन्दी अनुसारका बिशेषज्ञ डाक्टर ल्याउन सक्ने संभावना पनि प्रवल नै छ । तर रकम अभावमा अहिलेकै अवस्था सेवा प्रवाहमा समस्या सृजना हुने वा डाक्टरले आफ्नो क्षमता अनुसारको काम गर्न नसक्नु बिडम्बना हो । जिल्ला अस्पतालमा अधिकांश शव पोष्टमार्टम हुन्छ । तर शव पोष्टमार्टम गरे बापत पाउने सुविधाबाट डाक्टर बिमुख बन्नुपर्ने बाध्यता छ । साथै अतिरिक्त सेवा गरे बापत डाक्टरहरुले पाउने सेवा पनि पाउन सकिरहेका छैनन् ।

अहिले स्थानीय समेत रहेका बिशेषज्ञ डाक्टर उत्तम पाच्यालाई जिल्ला अस्पतालले पाएको छ । उनी अहिले अस्पताल प्रमुख भएपछि नागरिकमा आएको उत्साह र जिल्लामा अस्पताल प्रमुख भएर आउन पाएकोमा डाक्टर पाच्या पनि उत्साहित नै छन् । दुवै पट्टीको उत्साहले केहि नयाँ गर्न सकिन्छ । त्यसमा स्थानीय निकायहरुको साथ अपरिहार्य छ ।

जिल्ला अस्पताल तम्घासले गत बर्ष सात सय ६८ जना आमाहरुको सुरक्षित प्रसुति गरायो । जसमध्ये ८६ जनाको शल्यक्रिया मार्फत प्रसुति गराइएको अस्पतालको तथ्यांक छ । एक जनाको अण्डवाहिनीमा गर्भ रहेकाले अण्डवाहिनी नली फुटेको र पेटमा रगत बगेपछि शल्यक्रिया मार्फत उपचार सफल भयो ।

अस्पतालमा सामान्य चिकित्सा तथा बालरोग सेवाअन्तर्गत दम, मुटु, निमोनिया, बाथ, थाइराइड, मधुमेह, उच्च रक्तचाप, एच.आई.भि. क्षयरोगको नियमित रुपमा उपचार भइरहेको छ । रगत, कलेजो, बोसो, दिसा, पिसाब, रगतको जाँच तथा कल्चर सेवा र उच्चस्तरिय जीन एक्सपर्ट मार्फत क्षयरोगको नियमित रुपमा परिक्षण भैरहेको छ ।

अस्पतालको आफ्नै फार्मेसी छ । एकद्धार प्रणाली मार्फत हिंसामा परेका विपन्न नागरिकहरुको उपचार भैरहेको छ ।

२०७५ भदौ ३० गते प्रकाशित चैत्र २६ गते अद्यावधिक गरिएको ।

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय