४४ वर्षदेखि नलेखिएको रोल नम्बर १३ को रहस्य

गुल्मी । गुल्मीमा एउटा विद्यालयमा रोल नम्बर १३ सुन्दा पनि विद्यार्थी, शिक्षक र अभिभावक झसकिन्छन् । सुन्दा अचम्म लाग्न पनि सक्छ, तर जिल्लाको एउटा विद्यालयमा झण्डै ५ दशकदेखि एउटा रोल नम्बर १३ नराखि बिद्यार्थीको हाजिरी गरिर्दै आएको छ ।

जिल्ला सदरमुकाम तम्घासको महेन्द्र माध्यमिक विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ नलेखेको अहिले ४४ वर्ष बढी पुगेको छ । विद्यालयको कक्षा ९ मा पढ्ने विद्यार्थीहरूले रोल नम्बर १३ सुनेका छैनन् । विद्यार्थीहरू मात्र होइन, शिक्षकहरू पनि रोल नम्बर १३ बाट निकै टाढा छन् । 

२०३२ सालदेखि उक्त बिद्यालयमा रोल नम्बर १३ नलेखिदैँ आएको हो । कक्षा ९ को रोल नं १३ सधैं खाली हुन्छ । सो कक्षामा रोल नम्बर १२ पछि एकैपटक १४ आउँछ ।

बिद्यार्थीको लगातार मृत्यु भएको भन्दै विद्यालयले कक्षा ९ मा रोल नम्बर १३ नराखेको हो । विद्यालयमा भर्ना भई कक्षा ९ मा अध्ययन गर्ने १३ रोल नम्बर भएका बालबालिकाको विभिन्न समयमा मृत्यु भएका कारणले विद्यालयले नै रोल नम्बर १३ लेख्न छोडेको हो । 

विद्यालयका सहायक प्राचार्य युवराज ज्ञवालीले रोल नम्बर १३ भएका विद्यार्थीको निधन भएका कारणले रोल नम्बर १३ लेख्न छोडिएको धरातल अनलाईनलाई बताए । उनका अनुसार विद्यालयको कक्षा ९ मा १३ रोल नम्बर भएका तत्कालिन अर्खले गाबिस ७ भण्डारी टोलका ढुण्डीराज भण्डारीको २०२५ सालमा परिक्षा दिने क्रममा पेट दुखेर मृत्यु भएको थियो ।

त्यस्तै २०३० सालमा तत्कालिन तम्घास गाबिस ४ का जुनप्रसाद श्रेष्ठ, २०३१ सालमा तत्कालिन तम्घास गाबिस १ रमेश श्रेष्ठ र २०३२ तम्घास पुरानोबजारका कृष्णप्रसाद पाण्डेयको विद्यालयमै परेको चट्याङ लागेर मृत्यु भएको थियो । 

लगातार बिद्यार्थीहरुको मृत्यु भएका कारण बिद्यार्थी अबिभावकहरुले कक्षा ९ मा १३ अशुभ भएको भनेकाले सबैको सल्लाह अनुसार लेख्न छोडिएको ज्ञवालीले बताए । पहिले पहिले १३ रोल नम्बर लेख्ने गरेता पनि हाल भने लेख्न छोडिएको ज्ञवालीले छ । सबैको मनमा अशुभ भन्ने रहेका कारण कसैले पनि १३ रोलनम्बर लेख्न सुन्न पनि चाहदैनन् । 

अप्रिय घटना घटेका कारण अहिले पनि घटना हुन्छ की भन्ने डरले १३ रोल्नम्बर नलेखिएको बिद्यालय व्यवस्थापन समितिका सदस्य घनश्यम पाण्डेयले धरातल अनलाईनलाई बताए । लगातार ४ जना बिद्यार्थीको १३ रोल नम्बर भएकाले मृत्यु भएको र बिद्यार्थीहरुले पनि १३ रोल नम्बर राख्न नचाहेका कारण बिगतदेखि यसलाई निरन्तरता दिँदै आएको उनले बताए । 

२००९ सालमा स्थापना भएको बिद्यालयमा १२ कक्षासम्म पढनपाठन हुँदै आएको छ । बिज्ञान, शिक्षा बिज्ञान, मानबिकी, व्यवस्थापन १२ सय वढि बिद्यार्थीहरु पठन पाठन गर्दै आएको बिद्यालयले जनाएको छ । 

जिल्लाकै सामुदायिक बिद्यालयमा उत्कृष्ट बिद्यालयका रुपमा महेन्द्र परिचित छ । बिद्यालय नमुना बिद्यालयको रुपमा छनोट समेत भएको छ । बिद्यालयमा पढ्न जिल्ला र छिमेकी जिल्लाहरुमा समेत बिद्यार्थीहरु आउने गर्दछन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय