१६ चैत २०८०, शुक्रबार

सामान्य नेपाली लेखपढ गर्न जान्ने कार्यालय सहयोगीले गर्छिन विरामीको जाँच

पाल्पा । जिल्लाको एक स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । पाल्पा रामपुर नगरपालिका –१ स्थित गाडाकोट आयुर्वेदिक औषधालय कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो ।

विगत सात महिनादेखि कार्यालय सहयोगी ईश्वरी अर्यालको भरमा सो औषधालय सञ्चालन हुँदै आएको छ । कार्यालय सहयोगी अर्याललाई आफ्नो कार्यभारभन्दा पनि बिरामीको स्वास्थ्य अवस्था जाँच गर्ने, औषधि वितरण, प्रेसर जाँच कार्यमा भ्याइनभ्याइ हुन्छ । कार्यालय प्रमुखदेखि सहयोगीका सबै काम उनी एक्लैले चलाउँदै आएकी छन । सामान्य नेपाली अक्षर लेखपढ गर्न मात्र सक्ने अर्यालले सात महीनादेखि निरन्तररुपमा कविराज, वैद्यको जिम्मेवारी बहन गर्दै आएको बताईन ।

“कविराज वैद्य कोही पनि नभएपछि कार्यालय प्रमुखदेखि लिएर सहयोगीसम्मका सबै कार्यभार मेरै जिम्मामा छ” उनले भनिन, “कार्यालयमा मङ्सिरदेखि कोही पनि हुुनुहुन्न ।” उनीँ बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालयमा बसेर बिरामीको स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने गर्छिन । 

“बिरामीले मेरो काम होइनभन्दा पनि बुझ्दैनन, बाध्यताले स्वास्थ्य जाँजबुझ गर्ने, औषधि दिने गरेको छु, कार्यालय पनि जङ्गलको एकान्त र बीच भागमा हुँदा एक्लै बसेर काम गर्न पनि डर छ”, उनले गुनासो गरिन ।

औषधालयका कविराज राजिवकुमार भारती सर्लाही, वैद्य सुनिलकुमार चौधरी चितवनमा २०७५ मङ्सिर १ गतेदेखि सरुवा भएर गएपछि यस क्षेत्रका नागरिकले कार्यालय सहयोगीबाटै सेवा लिन बाध्य छन । दैनिकजसो १० देखि १५ जनासम्म बिरामी आउने गरेको उनको भनाइ छ । रामपुर नगरपालिका वडा नं १, २, निस्दी गाउँपालिका वडा नं १ बाकामलाङ, नवलपुरको रकुवालगायतका नागरिकले यस औषधालयबाट सेवा लिइरहेका छन ।

विसं २०५८ मा स्थापना भएको यो औषधालय नेपाल सरकारको ४१ लाखको लागतमा २०६६ मा सुविधा सम्पन्न आवाससहित सात कोठाको भवन निर्माण भई सञ्चालनमा आएको हो । पेट तथा प्रेसरसम्बन्धी औषधालयमा कार्यालय सहयोगीसँग स्वास्थ्य जाँच गराएका रामपुर नगरपालिका–१ का ५६ वर्षीय खिमबहादुर खाँणले कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या परेको बताए । “डाक्टर नभएपछि कार्यालय सहयोगीसँगै जाँच गर्ने, औषधि लिने गरेर फर्कने काम भएको छ, अन्यत्र जान टाढा पर्छ” उनले भने, “दरबन्दी छ तर डाक्टर छैनन, यसको मार हामी गाउँका जनताले खेप्नु परेको छ ।”

औषधालयका अध्यक्ष एवम वडा नं १ का अध्यक्ष मित्रलाल कँडेलले कर्मचारी नहँुदा सेवा प्रवाहमा समस्या परिरहेकाले कर्मचारी पदपूर्तिका लागि नगरपालिकाको कार्यालय तथा सम्बन्धित निकायमा माग गरिएको बताए । रामपुर नगरपालिकाका वरिष्ठ कविराज निरीक्षक चेमनप्रकाश पोखरेलले कर्मचारी समायोजनले रिक्त रहेको दरबन्दी पदपूर्ति गर्न नसकिएको बताए । “कर्मचारी बाहिरी जिल्लाका हँुदा सकेसम्म घर पायक अन्यत्र सरुवा भएर जाने प्रवृत्तिले गर्दा कर्मचारी टिकाउन समस्या परिरहेको छ” उनले भने ।

नगरप्रमुख रमणबहादुर थापाले विज्ञापन आह्वान भइसकेकाले अबको तीन दिनभित्रमा कर्मचारी व्यवस्थापन गर्ने तयारीमा रहेको जानकारी दिए । “नागरिकले गाउँकै औषधालयबाट सेवा नपाउनु दुःखद् पक्ष हो” उनले भने । गाउँमा बसेर सेवा दिनुभन्दा पनि जागिर खाने मात्र सोचाइ रहेकाले यस्ता समस्या धेरै गाउँ ठाउँमा छन । हुन त कर्मचारीलाई टिकाउने वातावरण पनि सम्बन्धित निकायले सिर्जना गर्न सकियो भने नागरिकले सहजरुपमा गाउँबाटै सेवा पाउन सक्छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्