१६ चैत २०८०, शुक्रबार

गर्मी छल्न गुल्मी जाऔँ

गुल्मी । नेपालमा मनसुन आइपुग्न ढिलो भएपछि पछिल्लो समय देशका विभिन्न ठाउँमा अत्याधिक मात्रामा गर्मी बढीरहेको छ । प्रिमनसुन कमजोर रहेकोले यो समय देशभर गर्मी बढेको हो । अरब र बंगालको खाडीमा उत्पन्न हुने जलवाष्पसहितको संयुक्त उच्च चापीय वायु नै नेपालको मनसुनको मुख्य आधार हो । 

नेपालमा  असारको पहिलो साता मनसुन शुरु हुने अनुमान गरिएको थियो । तर पहिलो साता बित्नै लाग्दा पनि मनसुन सुरु हुने छाँटकाट छैन । पश्चिमी वायुको गति र प्रभाव कम हुँदै जाँदा पानी पर्छ र बढ्दो तापमान सन्तुलनमा आउने हुँदा मानिसले राहत महसुस गर्छन । 

मौसमविद्का अनुसार पहाडी भेगमा अझै एकसाता र तराइमा अलिक लामो समय गर्मी रहनेछ । गत सातानै आइपुग्नु पर्ने मनसुन यो वर्ष एकसाता ढिला हुने मौसमविद्को भनाइ छ । पानी पार्ने मौसम भित्र्नि ढिला हुँदा नेपालका पहाडी भेगको तुलनामा तराईमा अत्याधिक मात्रामा गर्मी बढेको छ । देशको तराईका क्षेत्रहरुका अधिकतम तापक्रम ४३ डिग्रीसम्म पुगेको छ ।

तराई र आसपासका क्षेत्रमा अत्याधिक मात्रामा गर्मी बढीरहेको समयमा पहाडी जिल्ला गुल्मीमा शितल वातावरण छ । तराईबाट गर्मी छल्न यो समयमा गुल्मी उत्तम गन्तव्य बनेको छ । जिल्लाको रेसुङ्गा, अर्जुन जस्ता अग्ला पहाडको बिचमा सदरमुकाम तम्घास छ । समुद्री सतहबाट तेईस सय मिटर अग्लो शिर रेसुङ्गा र दुई हजार मिटरको उचाइमा रहेको अर्जुनडाँडा गर्मी छल्न उपयुक्त गन्तव्यका रुपमा परिचित छन । 

चिसो चिसो हावासँगै मनमोहक दृश्यको अवलोकनका लागि तराईका जिल्लाबाट यहाँ पुग्नेको संख्या बढको छ । वढ्दो गर्मी छल्न जिल्लाबाट तराई बसाईसराई गरेका र तराईमा बसोवास गर्ने मानिसहरुको यो समय गुल्मी रोजाईमा पर्ने गरेको छ ।

बुटवलबाट एक सय पन्ध्र किलोमिटर पक्की सडकको यात्रापछि सदरमुकाम तम्घास पुग्न सकिन्छ । यहाँसम्म पुग्न विभिन्न यातायातका साधन सजिलै पाईन्छन । यो समय यहाँको अधिकतम तापक्रम २७ डिग्रीसम्म पुग्छ । तम्घासको चिसो हावासँगै रेसुङ्गाको अवलोकनका लागि पुग्ने आन्तरिक पर्यटकमध्ये तराईका जिल्लाका पर्यटकको संख्या बढी छ ।       
     
तम्घासबाट २५ मिनेटको सवारी साधन र केहि पैदल यात्रापछि धार्मिक स्थल रेसुङ्गा पुग्न सकिन्छ । रेसुङ्गा प्रसिद्ध धार्मिक स्थल हो । यहाँबाट जिल्लाका र छिमेकी जिल्लाका रमणीय दृश्य देख्न सकिन्छ । रेसुङ्गामा नै बस्नेहरुका लागि समितिले निशुल्क सादा खाना र बस्नको व्यवस्था गरेको छ । रेसुङ्गाको अवलोकन गर्ने यो उत्तम सयम हो भने तराईको गर्मी छल्न रेसुङ्गा उपयुक्त विकल्प बनेको छ ।  दिउँसोको समयमा छिनछिनमा खुल्ने आकाश अनि देखिने सुन्दर दृश्यले जोकोहीको पनि मन लोभ्याई हाल्छ । रेसुङ्गा ऐतिहासिक धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण मानिने क्षेत्र हो । यहाँको महिमा बिचित्र छ । 

रेसुङ्गासँगै यतिबेला अर्जुन क्षेत्र पनि  शितलता लिनको लागि उपयुक्त गन्तव्य बनेको छ । सदरमुकाम तम्घासबाट २० मिनेटको यात्रापछि अर्जुन क्षेत्रमा पुग्न सकिन्छ । बढ्दो गर्मी छल्न र प्रकृतिसँग रमाउन एकपटक गुल्मी पुगौँ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्