१६ चैत २०८०, शुक्रबार

जहाँ पशु विरामी हुँदा पनि झारफुक गरिन्छ

दाङ । जिल्लाको राजपुर गाउँपालिकामा यादव र चौधरी समुदायको बाहुल्यता छ । यहाँ प्रत्येक घरमा दुईदेखि ५०/६० सम्म भैँसीपालन गर्ने गरिन्छ । सोही क्षेत्र भैँसीपालनका लागि पनि पकेट क्षेत्र मानिन्छ । तर कुनै कारणवश भैँसी बिरामी परेमा भैँसीलाई झारफुक गर्ने चलन छ । 

केही महीनाअघि मात्रै राजपुरमा भैँसीमा भ्यागुते रोग देखियो । त्यतिबेला पनि झारफुककै भरपर्दा त्यहाँका करीब ३० भैँसी मरेका थिए । “भैँसीमा भ्यागुते रहेछ, यहाँका नागरिकले रोग देखापरेपछि झारफुक गर्न थाले” स्थानीय बुद्धिजीवी बिन्तुराम यादवले भने, “त्यसैले ३० भन्दा बढी भैँसी मरे ।” 

यहाँ पशु प्राविधिकसम्बन्धी ज्ञान नहुँदा पशुमा जुनकुनै रोग लाग्दा पनि यसरी नै झारफुक गर्ने गरेको उनको भनाइ छ । तर अब पशु विज्ञान सञ्चालनमा आएपछि भने यो समस्या अन्त्य हुने उनको विश्वास छ ।

पशु बिरामी परे पनि त्यसका लागि कि त गढवाबजार कि लमही बजार जानुपर्ने अवस्था छ, यसले गर्दा पनि समस्या हुने गरेको साधारण माध्यमिक विद्यालय गङ्गदीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदयराज चौधरीले बताए । “नजिकमा पशु प्राविधिक हुँदैन थिए”, उनले भने, “त्यसैले यहाँका किसान झारफुकमा भर पर्ने गरेका थिए ।” 

राजपुरमा उत्पादन भएको दूध दाङको लमही, घोराही, तुलसीपुर, भालुवाङलगायतका बजारमा जाने गरेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्