१६ चैत २०८०, शुक्रबार

दश वर्षमा निर्माण भयो धालागिरी अञ्चल अस्पतालको भवन

बागलुङ । धौलागिरि अञ्चल अस्पतालको सुविधा सम्पन्न ‘बी’ ब्लक भवन निर्माण शुरु भएको १० वर्षमा पूरा भएको छ । तत्कालीन बागलुङ जिल्ला अस्पताललाई रुपान्तरण गरी अञ्चल अस्पतालका लागि चाहिने भवन निर्माण थालिएको १० वर्षपछि बल्ल पूरा भएको उक्त अस्पतालले जनाएको छ ।

अञ्चल अस्पतालको ‘ए’ ब्लक विसं २०६९ मा नै निर्माण भएको थियो । विसं २०६६ वैशाख १ गते दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिष, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लक हाल मात्रै निर्माण गरेका हुन ।

अस्तपालतको ‘बी’ ब्लकको भवन छ करोड, ६० लाख ३९ हजार २१४ लागतमा निर्माण गर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले छ करोड, ५१ लाख १६ हजार २८८ रकम लिएर पटक–पटक ताकेता गर्दासमेत सम्पर्कविहीन बनेको थियो । ठेक्का रद्द गर्ने अन्तिमपत्र निर्माण व्यवसायीलाई पठाएपछि हाल आएर निर्माण गरेकोे आयोजना कार्यन्वयन एकाइका लेखा अधिकृत महेश सिग्देलले बताए । उनकाअनुसार अन्तिम भुक्तानी लिन आउने समयमा म्याद नागेको जरिवानासमेत कार्यालयले असुरउपर गर्ने जानकारी दिए । 

तीन तले सुविधा सम्पन्न उक्त भवनमा करीब ४० कोठा छन । भवन अभावका कारण बिरामीलाई सहज सेवा प्रदान गर्न नसकिएका कारण भवन हस्तान्तरण नहँुदै नयाँ भवनबाट सेवा दिन बाध्य भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले जानकारी दिए ।

हाल सम्पन्न भएको भवनबाट केही सेवा दिन शुरु भइसकेको छ भने केही सेवा दिन बाँकी रहेको अस्पतालले जनाएको छ । ‘बी’ ब्लकबाट फार्मेसी, प्रयोगशाला, निःशुल्क औषधि वितरण कक्ष, टिकट काउन्टर, हाडजोर्नी तथा नसा रोग, नाक, कान र घाँटी, शल्यक्रिया, सामान्य उपचार सेवा, भिडियो एक्सरे, दन्तसेवा, बालरोग, स्त्री तथा प्रसूतिलगायत सेवा प्रदान गरिने अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए । 

पटक–पटक निर्माण व्यवसायीलाई भवन निर्माणका लागि ताकेता गर्दा गर्दै बल्ल आएर भवन निर्माण सम्पन्न भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सागरकुमार राजभण्डारीले बताए ।

निर्माण व्यवसायीले समयमै भवन निर्माण गर्न नसकेकाले २०७५ असार मसान्तसम्म म्याद थप गरिएको कास्कीस्थित आयोजना कार्यान्वयन एकाइका प्रमुख नारायण भण्डारीले बताए । “निर्माण व्यवसायीले २०७५ असार मसान्तपछि म्याद नथपिकनै भवन बनाएको छ”, उनले भने, “कागजी प्रक्रियाका लागि म्याद थप गरी भवन हस्तान्तरण गर्नेछौँ ।”

प्रमुख भण्डारीका अनुसार अस्पतालको निर्माणधनी ‘सी’ ब्लकको भवनसमेत अहिले अलपत्रजस्तै बनेको छ । निर्माणाधीन ‘सी’ ब्लकसमेत सम्झौताअनुसार काम नगरेका कारण ठेक्का प्रक्रिया तोड्ने प्रक्रिया अगाडि बढाइएको छ । अस्पताल भवनको नमूना बनाउँदा तल्लो भाग जग (फाउण्डेशन) नमिलेको र समयमा नै विद्युतको हाइटेन्सन लाइन विस्थापित नहुँदा निर्माण सम्पन्न गर्न समय लागेको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि शीतल ढकालले बताए । अस्पतालमा भौतिक संरचनाको अभावमा बिरामीलाई लाइनमा राख्नुपर्ने अवस्था रहेकामा नयाँ भवनबाट सेवा प्रदान गर्दा लाइन बस्नुपर्ने बाध्यता अन्त्य गरी टोकन प्रणालीबाट उपचार सेवा प्रदान गरिने भएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्