१६ चैत २०८०, शुक्रबार

घुम्टे जोडने पदमार्ग निर्माण तीव्र 

बागलुङ । गलकोट नगरपालिका ७ मल्ममा पर्यटन पदमार्ग निर्माण कार्यले तिव्रता पाएको छ । पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारको पर्यटन तथा वन मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा २० लाख विनियोजन गरेको थियो । 

दरमखोला भीमसेन ढुङगादेखि मल्म आँगाखेत, सिरबारे, मल्मडाँडा, भल्साङ, राम्चे ढुङगा हुँदै घुम्टे जोडने उक्त पदमार्गको यस वर्ष ६ सय मिटर मार्ग निर्माणको कार्य चलिरहेको पर्यटन पदमार्ग निर्माण समितिका अध्यक्ष रुद्र केसीले जानकारी दिए । पर्यटकीय स्थल राम्चे ढुङगा, पाण्डवखानी सिद्वथान होमस्टे र घुम्टेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई सहजता प्रदान गर्न यो पदमार्ग प्रभावकारी बन्ने केसीले बताए  । 

यस्तै पदमार्ग अन्तर्गत मल्मको टोकरी अजिराखर्क, तुलसी मैरो, सानो घुम्टे हुँदै घुम्टेसम्मको निर्माण कार्य तीव्र रुपमा अगाडी बढीरहेको छ । निर्माणलाई तदारुकताका साथ अगाडी बढाईएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितीका अध्यक्ष राम बहादुर विकले बताए । पर्यटन पदमार्ग निर्माणको लागि भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले समन्वय गरिरहेको छ । पुरातात्विक दृष्टिकोणले महत्वपुर्ण होस भन्ने हेतुले स्थानीय ढुङगा र माटोको प्रयोग गरी पदमार्ग निर्माण भईरहेको छ । 

विदेशी पर्यटकहरु सडक मार्ग भन्दा ट्रेकिङ रुट मार्फत पदमार्गको प्रयोग गर्ने हुँदा यसले पर्यटन प्रवद्धनमा थप महत्व राख्ने भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्ण प्रसाद घिमिरेले बताए । यस आर्थिक वर्षमा ६ सय मिटर पदमार्ग निर्माण हुने र बाँकी क्रमागत योजनामा समावेश गरी बाँकी काम अगाडी बढाईने वडाध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए । अहिले मल्मको आगाँखेतदेखि तल्लो सिरबारे, माईको थान हुँदै सिरबारे र अजिराखर्क, तुलसी मैरासम्मको ट्रयाक सम्पन्न हुनेछ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्