को बन्ला ‘गुल्मी लोक तारा–२’ ?

गुल्मी । ‘गुल्मी लोक तारा २’ को अन्तिम चरण (फाईनल) का लागि दश जना छनोट भएका छन । लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाले उच्च राशीको पुरस्कारसहित सुरु गरेको लोक गायन प्रतियोगिताको तेस्रो चरणको कार्यक्रम उनीहरु अन्तिम चरणका लागि छनोट भएका हुन ।

गत बैशाख १५ गतेबाट सुरु गरिएको ‘गुल्मी लोकतारा २०७६ सिजन २’ मा जिल्लाका विभिन्न ग्रामीण स्थानमा भएको पहिलो चरणबाट १ सय ६७ जना छनोट भएका थिए । उनीहरुमध्ये ३५ जना दोश्रो र २१ जना तेस्रो चरणका लागि छनोट भएका थिए । तेस्रो चरणमा प्रतियोगिले लोक विधामा आफ्नो प्रस्तुती दिए । 

फाईनलका लागि मुसिकोट नगरपालिकाकी धनमायाँ राना, सत्यवती गाउँपालिकाका खिमा नेपाली, निश्चल गुरुङ्ग गोर्खा र लालिमायाँ कुँवर, कालीगण्डकी गाउँपालिकाका झग बहादुर बुढा, इस्मा गाउँपालिकाका सम्झना कुँवर र गगन सिंजाली, गुल्मी दरबार गाउँपालिकाका लक्ष्मण सुनार, रुरु गाउँपालिकाका कमल बिक र धुर्कोट गाउँपालिकाका खिम काउछा छनोट भएका छन । फाईनलमा प्रतियोगीले लाइभ म्युजिकमा गाउने प्रतिष्ठानका अध्यक्ष जनक पन्थले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार, कप र प्रमाणपत्र, द्धितिय हुनेले नगद रु ३० हजार, कप र प्रमाणपत्र, तृतिय हुनेले नगद रु २० हजार कप र प्रमाणपत्र  पाउने कार्यक्रम संयोजक बसन्त खत्रीले बताए । 

तेस्रो चरणमा प्रतिष्ठान प्रदेश ५ अध्यक्ष डिल्लीनारायण पाण्डेय, प्रदेश संयोजक लक्ष्मण खड्का, सदस्य पुरुषोतम गैरे, प्रतिष्ठान गुल्मीका गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्रीले निर्णयकको भूमिकामा थिए । कार्यक्रमका वक्ताले लुकेको प्रतिभा छान्न गरिएको प्रयास राम्रो रहेको बताए । कलागला भएका प्रतिभालाई अगाडी ल्याउन प्रतिष्ठान गरेको प्रयासले नयाँ कलाकार जन्माउन ठूलो भूमिका राखेको उनीहरुको भनाई छ ।

प्रतिष्ठानले फाईनल आगामी साउनमा आफ्नो जिल्ला अधिवेशनसहित गर्ने छ । फाईनलबाट उत्कृष्ट प्रतियोगीको छनोट प्रतिष्ठान केन्द्रिय कार्यसमितिले गर्ने पन्थले बताए । अधिवेशनमा राष्ट्रियस्तरका कलाकारसहित बिकास दुत, सरसफाई दुत, सामाजिक दुत, श्रेष्टा सम्मान, उत्कृष्ट पत्रकारिता पुस्कार, उत्कृष्ट सदस्य पुरस्कारले विभिन्न व्यक्तिहरुलाईसम्मान गरिने उनले बताए । 

लोक संस्कृतीको जगेर्ना र संरक्षणमा विषेश सहयोग पुग्ने, गाउँघरमा लुकेका प्रतिभा प्रष्फुटन गर्न मद्दत पुग्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको संयोजक खत्रीले बताए । कार्यक्रमबाट पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहन गर्न मद्दत, लोप हुन लागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले अपेक्षा लिएको छ ।
 
प्रतिष्ठान गुल्मी शाखाले ०७१ सालमा ‘गुल्मी लोक तारा’ सञ्चालन गरेको थियो । पहिलो सिजनमा उत्कृष्ट दुई जनाको प्रतिष्ठानकै लगानीमा लोक गीत रेकर्ड र म्युजिक भिडियो निमार्ण गरिदिएको पन्थले बताए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय