६ बैशाख २०८१, बिहीबार

विश्वकप क्रिकेट : सन् १९९२ दोहोरिएला ?

केही अनौठा संयोग

बुटवल । बेलायतमा जारी विश्वकप क्रिकेटमा सहभागी १० टिमबीच लिग चरणमा प्रतिस्पर्धा भइरहेको छ । प्रतिस्पर्धामा दक्षिण अफ्रिका र अफगानिस्तान लिग चरणबाटै बाहिरिने पक्का भइसकेको छ, भने वेस्ट इन्डिज पनि अर्को चरणमा जाने बाटो लगभग समाप्त भइसकेको छ ।

सेमिफाइनलमा पुग्ने होडमा न्यूजिल्याण्ड, अस्ट्रेलिया सहज अवस्थामा छन् । भारत, इंग्ल्याण्ड पनि सेमिफाइनलको दाबेदारका रुपमा देखिएका छन् । त्यस अतिरिक्त बंगलादेश, श्रीलंका र पाकिस्तानले पनि सम्भावनालाई जीवित राखेका छन् ।

 सन् १९९२ को विश्वकप क्रिकेट विजेता पाकिस्तानी टिम

क्रिकेट अनिश्चितताको खेल हो । हरेक बलको नतिजा अनिश्चित हुन्छ । त्यसैले यतिबेला धेरैले सन् १९९२ को विश्वकप क्रिकेटलाई स्मरण गरिरहेका छन्, जसमा अप्रत्यासित नतिजा आएको थियो । जारी विश्वकप क्रिकेटमा सन् १९९२ विश्वकप क्रिकेटसँग मिल्दाजुल्दा संयोग पनि देखिएको छ । यस्ता संयोग पाकिस्तानी टिमसँग बढी मेल खाइरहेको छ । पाकिस्तान सन् १९९२ को विश्वकप च्याम्पियन हो ।

२७ वर्ष अघिको त्यो इतिहाससँग जारी विश्वकपमा पाकिस्तानी टिमको प्रदर्शनमा धेरै मेल खान्छ । जारी विश्वकप र सन् १९९२ मो विश्वकप क्रिकेटमा पाकिस्तानले खेलेका सुरुवाती ६ म्याचको नतिजा उस्तै छ ।

सन् १९९२ र २०१९ मा पाकिस्तानले आफ्नो दोस्रो म्याच जित्नुअघि वेस्टइन्डिजसँग पराजय झेलेको थियो । दुवै पटक पाकिस्तानको तेस्रो म्याच वर्षाका कारण रद्द भएको थियो ।

सन् १९९२ मा जस्तै यसपटक पनि पाकिस्तानले आफ्नो चौथो र पाँचौं म्याचमा पराजय झेलेको छ । सन् १९९२ मा आफ्नो छैठौं म्याच जितेको पाकिस्तानले जारी विश्वकपमा पनि छैठौं म्याचमा जित हासिल गरेको छ ।

सन् १९९२ मा पाकिस्तानले सेमिफाइनलमा पुग्नका लागि आफ्नो खेलमा मात्र नभएर अस्ट्रेलियाको खेलमा समेत निर्भर हुनुपरेको थियो । अहिलेको अवस्था पनि त्यस्तै छ । त्यतिबेला अस्ट्रेलियाले वेस्टइन्डिजलाई पराजित गरेको अवस्थामा मात्र पाकिस्तानका लागि सेमिफाइनलको यात्रा पक्का हुने थियो । नतिजा पाकिस्तानकै अनुकुल हुने गरी आइदियो ।

यस पटक अस्ट्रेलियाले इंग्ल्याण्डलाई पराजित गरिदिएमा पाकिस्तानका लागि सेमिफाइनलमा पुग्न सहज हुनेछ । अस्ट्रेलिया र इंग्ल्याण्डबीच आज खेल हुँदैछ । त्यो नतिजा पाकिस्तानको अनुकुल हुने गरी आउँछ कि आउँदैन ? प्रतीक्षाको विषय बनेको छ ।

संयोगको सूची यतिमा मात्र सीमित छैन । सन् १९९२ मा पाकिस्तानसँग प्रतिश्पर्धा गर्नु अघिसम्म न्यूजिल्याण्ड अपराजित थियो । जारी विश्वकपमा पनि न्यूजिल्याण्ड अपराजित छ । उसले पाकिस्तानको सामना गर्न बाँकी नै छ । बुधबार यी दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

पाकिस्तानी टिमका पूर्व कप्तान वासिम अकरम विश्वकप क्रिकेटमा पाकिस्तानका लागि सम्भावना जीवित रहेको बताउँछन् । उनले खेलाडीहरुले विगतमा भएका गल्तीलाई सुधार गर्दै अघि बढेको खण्डमा पाकिस्तानले सुखद नतिजा ल्याउने बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्