गाँस र बासको खोजीमा ८३ वर्षीया वृद्धा
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा नजिकैको एक बौद्ध गुम्बा पछाडि सानो काठको टहरामा ८३ वर्षीया वृद्धा गाँस बासको खोजीको सहारामा भौतारिएको अवस्थामा भेटिईन् ।
पत्रकारको टोली त्यहाँ पुग्दा सोही गुम्बामा बस्ने पुजारीले उनको अवस्था जानकारी गर्न थाले । पुजारीले साहाराविहीन व्यक्ति खान, बस्न पनि समस्या भएको बताए । महिला बोल्न हिचकिचाइरहेकी थिईन् । केही छिनमा उनलाई बाहिर बोलाएर गुम्बा अगाडि उनको परिचय र अवस्थाका बारेमा जानकारी लिन खोज्दा ८३ वर्षीया ज्येष्ठ नागरिक महिलाले अहिलेसम्म नागरिकता प्राप्त गर्न सकेकी छैनन् ।
मुगुको डोल्पु स्थायी ठोगाना बताउने महिला वर्षौंदेखि बास र गाँसको खोजीमा भौतारी रहेकी छन् । जुम्ला सदरमुकाममा चार वर्षदेखि माग्दै हिँड्ने गरेकी र अन्तिममा बस्ने व्यवस्था कतै नभएपछि उनी गुम्बाको आश्रयमा गएर ओत लिईरहेकी छन् ।
नाम साङ्गे फटिङ बताउने ती महिलाले २० वर्षदेखि जुम्लाको चौधबिस क्षेत्रमा बसेर साहाराविहीन भएपछि जीवन जिउन सदरमुकाम आएको बताईन् ।
उनले भनिन्, “चौधबिसको खालाढिकमा विवाह गरेको तर श्रीमान् र छोरा दुवैको मृत्यु हुँदा आफू एक्लिएपछि साहाराविहीन भएकी छु, श्रीमान् र जवान छोरा रोगले मरेपछि र आफ्नो कोही नभएपछि अहिले गुम्बाको आडमा बसिरहेकी छु ।”
उनको साहारामा अहिले उर्गेन र्तीनजङ गुम्बाका ७८ वर्षीय गुरु कांसर लामा र ५९ वर्षीय टोमा लामा छन् । उनीहरुले पछिल्लो समय बास र गाँस दिइरहेको बताए । अहिलेसम्म ती वृद्धाको नागरिकतासमेत छैन । कसरी बनाउने भन्नेमा आफूलाई पनि थाहा नभएको गुरु कांसरले बताए ।
साहाराविहीन भएकी वृद्धा महिलाको अवस्था बुझेपछि स्थानीय छिमेकीको सहयोगमा भने अहिले खाद्यान्न सहयोग पाइएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँग आबद्ध स्थानीय सामाजिक क्षेत्रमा कार्यरत संस्था अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र जुम्लाले ती महिलाको अवस्थाका विषयमा अध्ययन गरिसकेपछि अहिले उनीलाई सिविएम नेपालको सहयोगमा आइएनएफ जुम्लाले कोरोना राहत कार्यक्रमले सघाउ पु¥याएको छ । उनलाई पहिलो चरणमा ६० किलो चामल, दालसहित आधारभूत खाद्यान्न उपलब्ध गराइएको छ ।
प्रतिक्रिया थप्नुहोस्