मैले फेरि आरन खोल्छु [कविता]

थे हिन्दु राजा  
थ्यो पञ्चायती शासन
जयजयकार उनैको
हालीमुहाली उनैको 
तर
हामरा दुःख थ्यो उस्तै 
मन्दिरमा पुजा गर्दा मेडा हाम्ले अर्जापेका औजारले छिनिन्थे 
बड लाउँदा बजाउथेम 
हाम्ले दमाहा, सहनाई र कर्नाल 
र गुन्जिन्थे मन्दिरसँगै पाखापखेराहरु 
हाम्ले काटेका ध्वजाले रंगिन्थे मुर्तिहरु 
तेही सेराफेरा हामी मन्दिर बाहिरै हुन्थेम 
कुवा, पधेराट पानी लिन ‘विष्टबराजु’ को ज्यु गर्थेम 
यस्तो ब्यवस्था हाम्ला ठिक लागेन 
पञ्च फाल्ने आन्दोलनमा लागिम 
बहुदल ल्याईम, बहुदल लेर के भो 
बेवस्था फेरेर मात्र नहुने रैच
व्यक्ति उही
सस्कार उही 
चिन्तन उही 
पञ्चेहरु नै बहुदलका मालिक भएसी
फेरि उही ताल
जेथाभरी धाँमीलाई बेथा हामीलाई भो ।। 
पुरानो संस्कार तोडन
पुरानो सत्ता बदल्न जनयुद्ध सुरु भो 
हामी जनयुद्धमा सामेल भईम
हाम्रै आरनमा बने घरेलु बन्दुक
बने सकेट बमहरु सँगै बने लडाईमा चाहिने सरजामहरु 
खिया लागेका सरजामहरु सहिसलामत बनाईम 
बन्दुक सँगै विचार भएसी लडदै गयौँ
थोरै हारिम धेरै जितिम 
जित्दै जाँदा कैयन जीवन गुमे 
आन्दोलन र संघर्ष चर्किदै गो 
तेही आन्दोलनले लोकतन्त्र ल्यायो
तेही आन्दोलनले गणतन्त्र ल्यायो 
तर 
हाम्रो अनुहारमा चमक आएन 
हाम्रो पिडा बीस को उन्नीस भएन ।।
हिजो हाम्ला संघर्षमा हिडाउनेहरु 
हिजो हाम्रो संघर्षमा आफ्नो जित देख्नेहरु 
आज कोही नवधनाढय भए
कोही छोटेराजा भए 
तिनै ‘विष्टबराजुु’ मा फेरिए
देशको भातभान्सामा तिनै रमाए 
हाम्ले पाको सानो पित्कोमा नि आँखा लाए 

अब यसरी भैन 
हिजो हामी काङग्रेस भर लडिम 
माले, एमाले भर लडिम
माओबादी, मधेसी भर लडिम 
अब हामी शोषित पिडित एक भर लडम 
भुलियो अथवा भुले झै गरियो 
ईतिहास बिसे नर्गचीको 
भुलियो अथवा भुले झै गरियो 
बलिदान गोर्खाली दिल बहादुर रम्तेलको 
कुल्चदै अपमान गरियो 
रगत सेतु बिके को 
अब यसरी कुल्चन नदिम
सुरुसुरुमा बातले लडम 
बातले मानेनन भने लातले लडम्ला
लातसँगै चाहिने सरजामहरु हाम्रा आरनमा बनाम्ला
हिजो हाम्रा आरनमा बन्दुक बनाईम
खुकुरी बनाईम
सकेट बमहरु बनाईम 
र अब फेरि पनि ती सरजाम बनाउनेछम
समयले मागेसी, 
हाम्रो ईतिहास र संघर्ष कुल्चिदै हिडेसी
मैले फेरि आरन खोल्छु 
हो मैले फेरि आरन खोल्छु ।।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय