२७ बैशाख २०८१, बिहीबार

असिनाले हिउँदेबाली नष्ट

रुकुम पुर्व । विभिन्न स्थानमा परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । जिल्लाको अधिकांश ठाउँमा दोस्रोपटक परेको असिनाले गहुँबाली, जौँबाली, तरकारीबाली र फलफूललाई ठूलो क्षति पु¥याएको छ । यस वर्ष समय–समयमा हिउँदे वर्षा हुँदा हिउँदे बालीको उत्पादनमा वृद्धि हुने आशामा बसेका किसान चिन्तित बनेका छन् । 

असिनाले गहुँबाली, जौँबाली, तरकारीबाली र फलफूलमा ठूलो क्षति पु¥याएको किसान टेकप्रसाद रोकाले बताउनुभयो । “सिँचाइ सुविधा नभएको सबै ठाउँमा यस वर्षको वर्षाले गहुँ र जौँबाली राम्रो भएको थियो”, किसान रोकाले भन्नुभयो, “खेतबारी नै सेताम्य हुने गरी असिना परेपछि सबै बाली सखाप बनाइदियो ।” पाक्नै लागेको गहुँबाली र फुल्नै लागेका फलफूलमा असिनाले ठूलो क्षति पु¥याएको किसान बताउँछन् ।

फुल्दै गरेको सुन्तला, मौसम, कागती, आलुबखडा, नास्पातीलगायतका सबै फलफूलमा क्षति पु¥याएको छ । त्यसैगरी गहुँ पाक्नै लाग्दा असिना परेपछि उत्पादनमा कमी आउने भन्दै जिल्लावासी चिन्तित बनेका छन् ।

सिस्ने गाउँपालिका–५ का किसान प्रकाश विसी भन्नुहुन्छ, “‘नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छ बाबुको अनुहार’ भनेजस्तै पसिना बगाउँदै परिश्रम ग¥यो, फल पाउने बेलामा सबै असिनाले लगिदियो ।” कृषिमै निर्भर रहेका जिल्लावासी चैतभित्र दुई पटक परेको असिनाले बालीनालीमा क्षति पु¥याउँदा निराश बनेका हुन् ।

जिल्लामा कूल क्षेत्रफलको चार हजार २०० हेक्टर क्षेत्रफल जमीनमा गहुँ उत्पादन हुँदै आएको छ भने सिस्ने गाउँपालिकाको ७ र ८ नं वडालाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ । तर यहाँका कुनै पनि किसानले बाली बीमा गरेका छैनन् । त्यसैले वर्षेनी विभिन्न कारणले बालीनालीमा क्षति पुगे पनि किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

किसानले बाली बीमा नगरेकै कारण क्षतिपूर्ति पाउन नसकेको कृषि शाखा कार्यालय रुकुमकोटले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्