१९ असोज २०८१, शनिबार

ग्रामीण क्षेत्रका महिलालाई निःशुल्क बीउ

गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीले महिलालाई निःशुल्क बीउ वितरण गरेको छ । ग्रामीण तथा पिछडिएका क्षेत्रका महिलालाई हरियो तरकारीको महत्व बुझाउदै तरकारी खेतीतर्फ आकर्षित गर्न बीउ वितरण गरिएको हो ।

केन्द्रले जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका सय जना बढी महिलाहरूलाई विभिन्न आठ प्रकारका बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । यहाँ करिब १ सय भन्दा बढी कुमाल तथा पिछडिएका समुदायले बसोबास गर्दै आएका छन् ।

स्थानीय रेनु थापाले तरकारी खेतीका लागि योग्य जमिन भएपनि पानीको अभाव रहेको बताईन् । उनले महिलाहरुमा तरकारी खेतीसम्बन्धी आधारभुत ज्ञानको अभाव रहेको बताउँदै स्थानीय सरकार तथा कृषि ज्ञान केन्द्रले थप सहयोग गरेमा तरकारी खेतीतर्फ लाग्न सहज हुने बताईन् ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले मानव जिवनमा हरियो तरकारीको महत्त्व बुझाउदै पानीको अभावमा पनि कपडा तथा भाडा धोएको र नुहाएको पानीलाई सिचाइमा प्रयोग गरेर तरकारी खेती गर्न सकिने बताए ।

अब लहरे तरकारी लगाउने सिजन सुरु भएकाले सबैलाई आकर्षण गर्न बीउ वितरण गरिएको उनको भनाई छ । स्थानीय सरकारले प्रत्येक घरमा एक घर एक करेसा बारीलाई अनिवार्य गर्ने इस्मा गाउँपालिका–६ का वडाध्यक्ष ढालबहादुर कुँवरले बताए ।

उनले उर्भर जमिनमा थोरै भएपनि तरकारी खेती गरेर खानका निम्ति प्रोत्साहन गर्न स्थानीय सरकारले सधै साथमा रहेको बताए । कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लाभर एक हजार जनालाई निःशुल्क बीउ वितरण गर्दैछ ।

प्रत्येक स्थानीय तहमा रहेका पिछडिएका क्षेत्रका महिलालाई कम्तीमा घरमा प्रयोग गर्नका लागि भएपनि तरकारी उत्पादन गर्ने उदेश्यले बीउ वितरण गर्न लागिएको हो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय