२५ कार्तिक २०८१, आइतबार

डा. उत्तम पच्यालाई १५ प्रश्न

रेसुङ्गा नगरपालिका–१४ पराल्मीका डाक्टर उत्तम पच्या । एम बि.बि.एस, एमडी जनरल प्राक्टिस) अध्ययन गरेका पच्याले गुल्मी अस्पतालमा पाँच वर्ष सेवा गरे ।

उनी निक साइमन इन्स्टिच्युटबाट करार सेवामा गुल्मी अस्पताल प्रवेश गरेका हुन् ।  अस्पतालमै कार्यरत रहँदा स्थायीमा नाम निकालेका पच्याले नियुक्तीपछि पनि नेतृत्वमा रहेर विवादरहित चार बर्ष बिताए ।

सरल जीवन र स्वभाव भएका पच्याले गुल्मी अस्पतालमा गरेको सेवा प्रबाह र योगदान आमनागरिकबिच अवस्मरणीय छ ।  केन्द्रिय राजधानी काठमाडौंको बीर अस्पताल भर्खरै सरुवा भएका डाक्टर पच्यासंग हामीले पाँच बर्षे कर्मभूमिका सेवाका बारेमा कुराकानी गरेका छौं

गुल्मी आउने प्रेरणा 

आफ्नो जन्मभूमि जसले मलाई हुर्कायो, पढायो अनि एउटा अब्बल विद्यार्थीको रुपमा स्थापित गर्‍यो । यस्तै  मिठा अतित र वर्तमानका साथीहरुको साथ सहयोगले गुल्मीमा सेवा गर्ने मौका प्राप्त भो । त्यतिबेलाको राजनीतिक तथा प्रशासनिक सहयोगको पनि भूमिका रह्यो ।

स्थायी भएर जिल्ला बस्नु भयो, बस्छु भन्ने भावना स्थायी भएपछि आयो कि पहिले नै थियो ?

वि.स. २०७२ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालबाट जनरल प्राक्टिसमा एमडी गरे पछि निक साइमन इन्स्टिच्युटबाट करारमा ताप्लेजुङ्ग अस्पतालमा २ वर्ष सेवा गरेँ । गुल्मीमा सेवा गर्ने एउटा हुटहुटी मनैदेखि थियो ।

ताप्लेजुङ्ग काम गर्दा जुन सफलता मिल्यो र त्यहाँको जनताको जुन माया पाएँ त्यसैगरी गुल्मीमा पनि आफनै दाजुभाइ, बुवाआमाको आशिर्वाद थाप्ने लोभ जाग्यो र यहाँ यस अस्पतालमा सेवा शुरु गरें ।

२०७४ भाद्र १ देखि स्थायी हुनुभन्दा  ठिक एक वर्ष अघि निक साइमन इन्स्टिच्युटबाट करारमा सेवा शुरु गरेको थिएँ । सेवा गर्ने भावना स्थायी हुनु भन्दा १ वर्ष पहिल्यै आयो र सुरु पनि गरें ।

स्थायी हुने वित्तिकै आफ्नो जिल्लामा गुल्मी अस्पतालको नेतृत्व गर्न पाउँदाको खुशी कस्तो रह्यो ?

अत्यन्तै खुशी भएँ, किनकि मैले करारमा एक वर्ष सेवा गरी सकेको थिएँ र मेरो सेवाबाट सेवाग्राही खुशी र सन्तुष्ट भएकोले फेरी स्थायी भई नेतृत्व सम्हाल्ने गरी सेवा गर्न पाउँदा साह्रै खुशी लाग्यो साथसाथै चिन्तित पनि, नेतृत्व गर्न सकिन्न कि भनेर ।

गुल्मी अस्पतालमा सेवा कसरी बढाउने भन्ने खाका कोर्न सकें, सोही अनुसार अगाडी बढ्न सकें । कर्मचारी र अस्पताल विकास समितिबाट सहयोग तथा काम गर्ने प्रेरणा पाएँ । अहिले फर्केर हेर्दा केही आनन्द आउँछ मनमा  ।

नेतृत्व भित्रका चुनौती कस्ता रहे ?

सीमित श्रोत साधनको बीचमा गुणस्तरीय सेवा जनभावना अनुरुप दिन चुनौती रह्यो सधैं । सधै प्रदेश मन्त्रालय, संघीय मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य निर्देशनालय तथा आपूर्ति केन्द्रसंग सम्पर्कमा रही रहनुपर्‍यो ।

आफुलाई आवश्यक जनशक्ति र औजार उपकरणको लागि सधै संघर्ष गर्नुपर्‍यो । गुणस्तरीय सेवा प्रवाहको लागि अस्पताल विकास समितिलाई विश्वस्त पार्नु अर्को चुनौती थियो भलै समितिले सधैं सहयोग गर्‍यो ।

गुल्मीका सरोकारवालाहरु, राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु तथा जनसमुदायसंग सधै जवाफदेही हुन सन्तुलित विचार तथा कार्य गर्ने चुनौती पनि रह्यो तर चुनौतीहरुले सधैं काम गर्ने प्रेरणा दिईरहे ।

चार वर्षमा आफैलाई सन्तुष्टि प्राप्त हुने परिवर्तन के–के भए ?

सानो भौतिक पूर्वाधार भएको  ५० बेडको अस्पतालमा के–के सेवा दिन सकिन्छ भनेर योजनाको खाका तयार गरी क्रमशः एक पछि अर्को परिवर्तन ल्याउन सक्यौं । सन्तुष्ट प्राप्त हुने धेरै परिवर्तन मध्ये केही बताउन चाहन्छु । फार्मेसी सेवा लुम्बिनी प्रदेशको पहिलो  होला हाम्रो अस्पतालमा सुरु भएको । यसलाई कालान्तरमामा २४ सै घण्टे सेवामा परिणत गर्‍यौं ।

नाम दर्तामा  सेवा इलेक्ट्रोनिक सेन्ट्रल बिलिङ्ग प्रणाली सुचारु गर्‍यौं । यसलाई पनि ७ देखि ९ सम्मको अवधिलाई बढाएर २४ सै घण्टामा परिणत गरेका छौं । टोकन प्रणाली लागू गरी बिरामीलाई अनावश्यक लाइन लाग्नुबाट मुक्त गर्‍यौं ।

सामाजिक सेवा एकाई स्थापना गरी गरीब, असहाय, ज्येष्ठ नागरीक, महिला स्वयंसेविका तथा अन्यले ५० प्रतिशत देखि १०० प्रतिशत सेवामा सहुलियत पाउँछन, बीमा स्थापना गरी सेवाग्राहीलाई निकै सजिलो भएको र सहुलियत प्राप्त भएको छ ।

एक्सरे सेवा १० देखि ५ बाट २४ सै घण्टा सेवा दिने भएको छ, १ जनाबाट ३ जना रेडियोग्राफरहरु व्यवस्था भएको छ । प्रयोगशाला सेवा सामान्य रगत पिसाबको जांच अहिले ट्युमर मार्कर, इम्युनोलजिकल मार्कर, थाइरोइडको जांच, कल्चर तथा क्षयरोगको लागि जिन एक्स्पर्टसम्म सेवा विस्तार भएको छ र यो पनि २४ सै घण्टा सेवा छ ।

यस आर्थिक वर्ष २०७९/८० बाट निःशुल्क रक्तदान सेवा शुरु भएको छ, ब्लड बैंक अस्पताल आफैले सञ्चालन गरेको छ । लैंगिक हिंसाले पीडित मानिसको लागि ओसिएमसी  सेवा निरन्तर छ । प्रतिरोधात्मक सेवाहरु खोप, परिवार नियोजन, गर्भ जांच, टिबी, एचआइभी सेवा निरन्तर छन् । फिजियोथेरापी सेवा सुरु गरी निरन्तर रहेको छ ।

सामानको दाखिला इलेक्ट्रोनिक (ELMIS & PAMS) प्रणालीबाट हुन्छ । प्रदेश सरकारको अनुदान बजेट भुक्तानी Electronic Fund Transfer(EFT) द्वारा हुन्छ । एक आर्थिक वर्षको लागि रु ५० हजार सम्म श्वासप्रश्वासका दीर्घ रोगीलाई निःशुल्क सेवा दिइएको छ ।

इमर्जेन्सी सेवामा मोनिटर तथा अक्सिजन जोडी थप सेवा विस्तार गरिएको गरेका छौं । अन्तरंग सेवामा special Neonatal care unit स्थापना गरी नवजात शिशुलाई भर्ना गरी निःशुल्क सेवा प्रदान गरिएको छ ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत सामान्य, जटिल तथा अप्रेशन निःशुल्क उपलब्ध छ । high dependency unit खोली सिकिस्त बिरामीलाईसस्तो सुलभमा सेवा उपलब्ध गराएका छौं । बेड चार्ज जम्मा २० रुपैयाँ मात्र छ जबकी अरु अस्पतालमा १५०० देखि २००० सम्म बेड चार्ज छ ।

कोभिड महामारीमा राज्यको अनुदानसंगै पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियानबाट उठेको ५० लाख पैसाले अक्सिजन प्लान्ट खरीद गरी सञ्चालनमा छ । अक्सिजन प्लान्ट लागि आवश्यक घर गुल्मी उद्योग वाणिज्य संघले निर्माण गरी दिएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीलाई मात्र नभई घरमै अक्सिजन लिने बिरामीलाई पनि सहज भएको छ । आईसीयुको भौतिक पूर्वाधारसहित औजार उपकरण खरीद भएको छ । आईसीयु चलाउने आवश्यक विशेषज्ञको व्यवस्थापनमा जुटिरहेका छौं ।

हालसालै हाडजोर्नीको सेवा तथा स्त्री तथा प्रसूति विशेषज्ञबाट बिरामीको सेवा शुरु भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरी त्यहाँका रेजिडेन्ट चिकित्सक यहाँ ग्रामिण प्राक्टिसको लागि आउनुहुन्छ साथै एमबिबिएसका अन्तिम वर्षका मेडिकल विद्यार्थी ग्रामिण पोस्टिंगमा सिक्न आउनुहुन्छ र गुल्मी अस्पताल मेडिकल एकेडेमीको लागि ग्रामिण शिक्षण अस्पतालको रुपमा रहेको छ ।

अस्पतालको नयाँ ५ तले भवन निर्माण हुँदै छ, जसबाट धेरै भन्दा धेरै सेवाग्राहीले सेवा पाउने छन् । फोहोर व्यवस्थापनमा लुम्बिनी प्रदेशमै उदाहरण बनेको छ । शवगृहमा मच्र्युरी फ्रिजसहितको व्यवस्था गरिएको छ । सी.एम.सी. नेपालर लुम्बिनी प्रादेशिक अस्पतालसंग समन्वय गरी महिनाको एक पटक दोश्रो हप्ताको सोमबार मानसिक तथा नशा रोग विशेषज्ञबाट वहिरंग सेवा सञ्चालान गरेका छौं ।

आगामी समयमा डा. भगवान कोइरालाको परियोजना काठमाडौं एन्टिच्यूट अफ चाईल्ड हेल्थको वहिरंग सेवा निकट भविष्यमा हुँदैछ । सघन कक्ष सञ्चालन गर्ने र डायलाइसिस सेवा शुरु गर्ने योजना रहेको छ ।

सेवा प्रवाहको क्रममा गुल्मी अस्पताल सबैभन्दा सुखद् र दुखद् क्षण ?

धेरै सुखद् भए, दुखद नगण्य रहे ।

आफैले गर्न नसकेको महसुस के–के कुरामा भइरहेको छ ?

आईसीयु सञ्चालन गर्न नसकेकोमा दुःख लागेको छ । आशा गरौँ निकट भविष्यमा यो सेवा शुरु हुने छ ।

गुल्मेली नागरिकको सरकारी अस्पतालप्रतिको सद्भाव र विश्वास कस्तो रह्यो ?

मलाई भन्दा सेवाग्राहीलाई सोधी दिन अनुरोध गर्दछु । यहाँका जनप्रतिनिधि तथा सबै सरोकारवालाहरुलाई सोध्नुभयो भने निष्पक्ष जवाफ आउथ्यो । मलाई विश्वास छ नागरिकको सद्भाव र विश्वास सकारात्मक छ, त्यो अस्पतालको तथ्यांकले पनि देखाउँछ ।

पहाडी जिल्लामा डाक्टर बस्नै मान्दैनन् किन ?

केही कारणहरु छन् । विश्वविद्यालय तथा प्रतिष्ठानमा पढ्छन उनीहरु, त्यहाँको वातावरणमै काम गर्न रमाउछन् । काम गर्न सजिलो पनि छ, बहु विशेषज्ञ सेवा भएको ठाउँमा काम गर्दा, त्यसमा आफ्नो विशेषज्ञ विभागमा टिम पनि हुन्छ जुन पहाडी जिल्लाका अस्पतालमा एकल व्याण्ड आर्मी भएर काम गर्नुपर्छ, जुन जोखिम विरलै डाक्टरले लिन सक्छन ।

आफुलाई सुरक्षित ठान्दैनन्, जोखिम मोलेर काम गर्न । किनकी चिकित्सा सेवा सधैं जोखिम पूर्ण हुन्छ । सामान्य औषधि उपचारमा पनि औषधिको रियाक्सनले मान्छेको ज्यान जान सक्छ ।

आफ्नो व्यक्तिगत तवरमा मलाई जति सजिलो वीर अस्पतालमा काम गर्न हुन्छ, यहाँ हुँदैन त्यसमा पनि प्रमुख भएर काम गर्न त निकै चुनौतीपूर्ण हुन्छ । सबैले आ–आफ्नो सुविधा क्षेत्र खोज्ने हो । अर्को कुरा आर्थिक पनि हो, विना आर्थिक सम्पन्नताका  साहेवहरु हो हामी । कसैले डाक्टर साब भनेर सम्बोधन गर्दा के को साब भनेर प्रति प्रश्न पनि गर्न मन लाग्छ ?

गुल्मी अस्पताल लुम्बिनी प्रदेशको तेश्रो बन्यो । दुर्गमका अस्पताललाई न्यूनतम सेवा मापदण्ड पालना गर्न कत्तिको अप्ठ्यारो छ ?

लुम्बिनी प्रदेशमा तेश्रो र नेपालमा पाचौं स्थान हासिल गर्‍यौं । दुर्गममा न्यूनतम सेवा मापदण्ड पालना गर्न निकै चुनौतीपूर्ण छ । कम्तिमा पनि चार कारणले । अपर्याप्त भौतिक पुर्वाधार, अपर्याप्त औजार उपकरण, अपर्याप्त मानव संसाधन र अपर्याप्त अर्थ ।

यी ४ कारकहरु उपलब्ध भए, त्यसलाई व्यवस्थापन गर्ने र सबै सरोकारवालाहरुसंग समन्वय गर्ने अस्पताल प्रमुख, नीतिगत निर्णय गर्ने अस्पताल व्यवस्थापन समिति तथा आफ्नो अस्पताल मेरो अस्पताल भावना जागृत  भएका कर्मचारी भएमा न्यूनतम सेवा मापदण्डमा अब्बल हुन अप्ठ्यारो पर्दैन ।

तपाईं जत्तिकै विशेषज्ञता हासिल गरेका जिल्ला बाहिर  काम गर्ने गुल्मीका चिकित्सकलाई के भन्नुहुन्छ ?

आफ्नो जिल्ला आफ्नै मातृभूमि हो । आफ्नो मातृभूमिको सेवा गर्ने कर्तव्यलाई रहर र हुटहुटीमा बदलौं । कम्तिमा पनि एक वर्ष सेवा गरौँ । आफ्नो जिल्लालाई मेडिकल क्षेत्रको रुपमा परिणत गरौँ । जाउँ है गुल्मी भन्ने अभियानको रुपमा अगाडी बढौं ।

अब जिल्ला अस्पताल कस्तो हुनुपर्छ ?

जिल्लाको रेफरल केन्द्र बन्नुपर्छ । विशेषज्ञ सेवा दिएर यसलाई मेडिकल हव बनाउनुपर्छ । 

बाहिर भए पनि तपाईंको भूमिका कस्तो रहन्छ ?

सधै सकारात्मक र कसरी गुल्मी अस्पताल राम्रो बनाउन सकिन्छ भन्ने योगदान रही रहनेछ । आउने मेसुले सहयोग माग्नु भो भने सधै सहयोग गर्न तयार रहनेछु ।

हाइ हाइका बीच बाइ–बाइ किन ?

त्यस्तो हाइ हाइ पनि होइन होला । गुल्मेली जनताले माया गर्नुभो, विश्वास गर्नुभो र सद्भाव राख्नुभो । त्यसको लागि कृतज्ञ छु । सधै एकै ठाउँमा उही भूमिकामा रही रहनु उचित हुँदैन । लामो समय पनि भयो । परिवारसँग बस्ने मौका पनि हो । सधै परिवारबाट टाढा बस्न पनि सकिन्न नि ।

अन्तिममा गुल्मेली जनतालाई के भन्न चाहनुहुन्छ ?

सधै सम्झिरहनेछु । पाँच बर्ष गुल्मेली गरिव, बिपन्नसहितका आम नागरिकको सेवा गर्ने मौका र माया तथा आर्शिवाद पाएँ । मलाई जस्तै माया, सद्भाव र सहयोग एवम् विश्वास अब आउने अस्पताल प्रमुखसहित सिङ्गो अस्पतलालाई गरिदिनुहोला भन्न चाहान्छु ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्