१९ असोज २०८१, शनिबार

गुल्मीको एक मात्र महिला निर्वाचन अधिकृतको निर्वाचन अनुभुति

गुल्मी । मुना पौडेल धुर्कोट गाउँपालिको निर्वाचन अधिकृतको रुपमा सिफारिस भएकी थिइन् । जिल्लाका १२ स्थानीय तहका मध्ये महिला निर्वाचन अधिकृत पौडेल मात्रै हुन् । 

स्थानीय तहको निर्वाचन आफैमा चुनौतिपूर्ण हुन्छ । त्यो माथि पुरुषवादी सोंचका कारण मुना पौडेलमाथि थुप्र्रैका कैयन आशंका थिए । तर, उनको उच्च कार्यशैलीका कारण शान्तिपूर्ण रुपमा निर्वाचन सकिएको छ । 

पौडेल ०७१ सालमा नेपाल सरकारको न्याय सेवा अन्तर्गतको शाखा अधिकृतको रुपमा राष्ट्र सेवकको रुपमा प्रवेश गरेकी हुन । उनीसंग अदालत र न्याय परिषद् सचिवालयमा काम गरेको अनुभव छ । 

उच्च सरकारी वकिल कार्यालय पाटनको उप–न्यायधिवक्ता पौडेलसंग स्थानीय तहको निर्वाचन अनुभुतिका बिषयमा धरातल अनलाईनका लागि टोपलाल अर्यालले गरेको कुराकानी :

समग्रमा निर्वाचनको अनुभूति ?

निर्वाचन आफैमा एउटा व्यवस्थापकीय कुशलतामा निर्भर हुने विषय हो । सदैव सुखद अनुभूति नहुन पनि सक्छ । किनकी यसमा धेरै पक्षमा Compromiseगर्नुपर्ने विषयहरु हुन्छन् । भने केही Compromise गर्नै नसकिने आधारभूत विषयहरु हुन्छन् । जस्तै : सुरक्षा व्यवस्थापन, निष्पक्षता, तटस्थता, विश्वसनीयता आदि । हाम्रा धेरै Limitationsका बिचमा पनि अन्तिम परिणाम निर्विवाद भएर आउनु नै सुखद अनुभूति रह्यो । 

तपाई धुर्काेटको निर्वाचन अधिकृतमा सिफारिस भएर गाउँ पुग्दा कस्तो महशुस भएको थियो ? र अहिले आफैलाई कसरी लिनु भएको छ ?

निर्वाचन अधिकृतको रुपमा यो मेरो पहिलो भूमिका थियो । यो पालिका धेरै विचारहरु भएको ठाउँ भएको हुँदा आफूलाई कसरी निष्पक्ष, तटस्थ, विश्वसनीय रुपमा प्रस्तुत गर्ने भन्ने विषय चुनौतिको विषय थियो । तर, निर्वाचनको कानूनले सुक्ष्म भन्दा सुक्ष्म कामहरु पनि विस्तृत रुपमा व्याख्या गरिदिएको कारणले गर्दा निर्वाचन आयोगले आफूलाई दिएको जिम्मेवारी पूर्णरुपमा निभाउन सक्छु भन्ने कुरामा विश्वस्त थिए । निर्वाचन आयोगले दिएको फरक किसिमको जिम्मेवारीलाई सहि ढंगबाट विवादरहित रुपमा सम्पन्न गर्न पाउँदा खसी नै छु ।

निर्वाचन सम्पन्न गरेका अघिल्ला अनुभवहरु छन् ? कहाँ कुन भूमिकामा ?

छन् । यस भन्दा अघिल्लो स्थानीय तह सदस्य निर्वाचन तथा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०७४ मा मतदान अधिकृतका रुपमा ललितपुर महानगरपालिकामा खटिएको थिए । त्यसैगरी राष्ट्रिय सभा सदस्य निर्वाचन २०७४ मा सहायक निर्वाचन अधिकृतको रुपमा खटिएको अनुभव छ । 

आफ्नै जिल्लामा कसरी आउनु भयो ?

निर्वाचन अधिकृतको भूमिका कसैले चाहेर, मागेर तथा रहरले प्राप्त हुने भूमिका होइन । म नेपाल सरकारको रा.प.द्वितीय श्रेणी (उप सचिव) को कर्मचारी भएको कारणले राज्यलाई आवश्यक परेको बखत सेवा गर्नु मेरो प्रमुख दायित्व हुन आउँछ । हामी निजामती कर्मचारीलाई देशको जुनसुकै स्थानमा खटाए पनि त्यसले तात्विक असर पार्दैन । हामीले सोच्ने भनेको व्यवसायीकता र निष्पक्षता नै हो । 

सबै प्रक्रिया पुरा गर्ने बेला सम्म अप्ठ्यारा के के थिए ? समाधान कसरी गुर्न भयो ?

हरेक कुरामा हाम्रो पूर्व तयारी थियो । तथापी राजनीतिक दलसँगको समन्वय र सहकार्य गर्ने काम तथा मतदानसँग सम्बन्धित विभिन्न सामाग्रीहरु मतदान स्थलसम्म पु¥याउने, निष्पक्ष तथा भयरहित वातावरणमा मतदान सम्पन्न गर्ने, आचारसंहिताको पालना, समयमै मतगणना कार्य सम्पन्न गरी नतिजा प्रकाशन गर्ने, मतगणनामा आउने विवाद समाधान, हामीसँग भएको स्रोतसाधनको सिमितता, अनुभवी जनशक्तिको कमी लगायतका थुप्रै अप्ठ्याराहरु थिए । ती अप्ठ्याराहरुलाई कानूनीरुपमा समाधान गर्नुबाहेक विकल्प थिएन । भने अन्य कठिनाइहरुलाई विवेकपुर्ण रुपमा स्रोत साधन र जनशक्तिको सही रुपमा प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

दलको सहयोग कस्तो पाउनु भयो ?

हाम्रो व्यवस्था नै दलीय व्यवस्था हो । दलीय व्यवस्थामा दलहरुका लागि निर्वाचन महत्वपूर्ण हुन्छ । यसमा सबै दलको सकारात्मक र सुझबुझ पुर्ण व्यवहारले गर्दा सबै कुरा सम्भव भयो ।

निर्वाचन प्रति मतदाताको उत्साह कस्तो पाउनु भयो ?

मतदानको राष्ट्रिय औषतको हामी नजिक पुगेको तथा हाम्रा सूचना कक्षमा आएका मतदाताका जिज्ञासा र राष्ट्रिय औषतसँगको निकटतमता देखिएको तथ्यांकले नै निर्वाचन प्रति मतदाताको उत्साहजनक र सक्रिय सहभागिता रह्यो भन्न सकिन्छ । 

समग्र निर्वाचन प्रक्रिया प्रति तपाई के भन्नु हुन्छ ? भूगोल र मतदाता मैत्री छ त ?

कुनै पनि कुरा आफैमा पूर्ण छैन । सुधार र सुझावका गुन्जायस सधै रहन्छन् । यस पालिकामा समग्रमा १ प्रतिशत भन्दा कम मतपत्र पूर्ण रुपमा बदर भएका छन् । यसो हुनु भनेको मतदाताले निर्वाचनको प्रक्रियागत झन्झट मान्नु भएन भन्नु हो । यसमा मतदान प्रकृया, मतगणनाको प्रकृया, मतपत्रको ढुवानी, मतगणनालाई अझै विश्वसनीय बनाउन प्रकृयागत रुपमा सरलीकृत बनाउदै क्रमिक रुपमा सुधार गर्न आवश्यक छ । तथापी निर्वाचन कानून आफैमा पूर्ण छ । यसलाई विश्वास गर्नु पर्छ । यहाँनिर भूगोल भनेको परिवर्तन गर्ने विषय होइन यसलाई मतदाता मैत्री बनाउन निर्वाचन आयोगले अधिकतम प्रयास गरेको देखिन्छ । राज्यको अपेक्षा भनेको शतप्रतिशत मतदान हो । पूर्ण बदर मतपत्र कम भएको कारण निर्वाचन प्रक्रिया मतदाता मैत्री छ भन्न सकिन्छ । भविष्यमा मतदान प्रणालीलाई प्रविधि मैत्री बनाउने कुरामा जोड दिन सकियो भने धेरै भन्दा धेरै मतदाताको भावनालाई सम्बोधन गर्न सकिन्छ ।

यो समयमा महिला भएकै कारण अरु कुनै अनौठो भोगाई वा आएको कठिनाई ?

यो प्रश्नले हाम्रो समाजमा महिला प्रति देखिने प्रवृत्ति झल्काउँछ । महिला हुुनु नै निर्वाचन अधिकृत हुन नसक्ने कारण हुन सक्दैन । त्यसैले फरक किसिमको भोगाई वा कठिनाईको अनुभवको कारण नै रहेन । 

कार्यालयबाट कार्य सम्पादन गर्दा र फिल्डमा कस्तो अनुभूती रह्यो ?

हामीले कार्यालयमा दैनिक रुपमा सम्पादन गर्दै आइ रहेका कार्य भन्दा यो भिन्दै किसिमको भूमिका थियो । यसमा निर्वाचन आयोगको निर्दिष्ट ऐन, नियम, कानून र आचारसंहिचा भित्र रहेर काम गर्नुपर्ने थियो । यसमा Learning by Doing भन्ने कुरालाई साच्चिकै अनुभव गर्ने अवसर प्राप्त भयो । जसले गर्दा नयाँ अनुभव गर्न पाइयो । हाम्रो कार्यसम्पादन Public ले मुल्यांकन गर्ने विषय हो हामीले मूल्यांकन गर्ने विषय होइन । 

अन्त्यमा आफ्ना कामलाई थाँती राखेर निर्वाचन आयोगले गरेको आह्वान अनुसार निर्वाचनमा मतदाताले देखाएको जोश जाँगर एवम् उत्साह निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीहरुले निभाएको जिम्मेवारी पूर्ण भूमीका, सुरक्षा निकायहरुले गरेको सुरक्षाको पूर्ण प्रत्याभूति, राजनीतिक दलहरुले देखाएको सुझबुझ पूर्ण व्यवहार, नागरिक समाज, संचारकर्मीहरुको सहयोग र समन्वयको कारणले गर्दा निर्वाचन शान्तिपुर्ण सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय