२६ बैशाख २०८१, बुधबार

रेशम खेतीका लागि गुल्मीका स्थानीय तहले थाले अध्ययन 

गुल्मी । जिल्लाका स्थानीय तहहरुले रेशम खेतीतर्फ चासो देखाएका छन् । मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका, रुरु गाउँपालिकालगायतका स्थानीय तहहरुले रेशम खेतीको बिषयमा सम्भाव्यता अध्ययन तथा परामर्श सुरु गरेका हुन् ।

किम्बु खेतीका लागि उत्कृष्ट मानिएका रेसुङ्गा र मुसिकोट नगरपालिकासगैं रुरु, छत्रकोट र गुल्मीदरबार गाउँपालिकामा रेशम खेतीको सम्भावना रहेको छ । यी क्षेत्रहरुमा बाँझो रहेका खाली जग्गाहरुमा किम्बु लगाउनाले जग्गाको सदुपयोग पनि हुने र रेशम खेतीबाट स्थानीय तहको आर्थिक वृद्धि पनि गर्न सकिन्छ ।

पूर्व कृृषि मन्त्री हरि पराजुली, प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका संयोजक कमलराज श्रेष्ठसहितको टोलीले गुल्मीमा रेशम खेतीको सम्भाव्यताका बिषयमा स्थानीय सरकारहरुसँग छलफल तथा परामर्श थालेका छन् । रेशम खेतीका बिज्ञ समेत रहेका पुर्व मन्त्री पराजुलीले गुल्मीमा प्रशस्त मात्रामा खाली जग्गाहरु रहेका र अधिकांश क्षेत्रमा किम्बु खेती गर्न सकिने भएको कारण रेशम खेतीको लागि राम्रो सम्भावना रहेको बताए ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले रेशम खेतीले स्थानीयको आयस्तर सगैं आर्थिक बृद्धि गर्ने सकिने भएकाले त्यसका लागि अध्ययन सुरु गरेको जानकारी दिए । नगरपालिका भित्र करिब ६ हेक्टर क्षेत्रफल जमिनमा रेशम खेती गर्न सकिने उनले बताए । 

छत्रकोट गाँउपालिका अध्यक्ष मधुकृष्ण पन्तले गाँउपालिकाले एक संयन्त्र नै बनाएर रेशम खेतीको बिषयमा काम सुरु गरेको बताए । उनले गाँउपालिकाका भित्र रहेका खाली जग्गाहरुमा किम्बु खेती गर्न कृषकलाइ प्रोत्साहन गरी रेशम खेती गर्ने योजना बनाएको बताए । 

गुल्मीसहित अर्घाखाँची र पाल्पामा रहेको झण्डै ५ हजार हेक्टर क्षेत्रफल जमिनमा रेशम खेतीको राम्रो सम्भावना रहेको छ । नेपालमा रेशम खेतीको विकास २०३२ सालदेखि कृषि विभाग अन्तर्गत व्यवसायिक किट विज्ञान आयोजनाको रुपमा थालनी गरिएको हो । श्री ५ महाराजधिराज सरकारबाट २०४२ सालमा मध्यमाञ्चल विकास क्षेत्रको अनौपचारिक भ्रमण निर्देशन भए बमोजिम हाल अधिराज्यका ४२ जिल्लाहरुमा रेशम खेती कार्यक्रम सञ्चालन भई काभ्रेपलान्चोक, स्याङ्जा, पाल्पा, इलामलगायतका जिल्लाहरुमा कृषक स्तरमा समेत यो उत्पादन भइरहेको छ । 

तराई क्षेत्रमा यसको खेतीका लागि करिब १००–७५० मिटर र पहाड ७५० मिटर देखि १५०० मिटरमा अवस्थित भुभाग हरुमा उपयुक्त मानिएको छ । रेशम खेतीको लागि चाहिने मिल्दो वातावरण तथा उपयुक्त भुभागहरु हुँदा हुँदै पनि नेपालमा यसको खेती र व्यवसाय फस्टाउन सकिरहेको छैन । अन्य खेती गर्नका लागि उपुयक्त नहुने र उब्जाउविहिन भूमिमा रेशम किराको आहारको रुपमा प्रयोग हुने किम्बुका विरुवाहरु लगाई रेशम खेती गर्न सकिन्छ ।

खेर गइरहेका जमिनबाट बहुमुल्य रेशमको धागो उत्पादन गर्नुको साथै अर्कोतर्फ धागो निकाली सकिएका कोयाभित्र रहेको प्युपाहरु घरपालुवा जनावरहरुलाइ खुवाएर पौष्टिक आहारको पुर्ति पनि गर्न सकिन्छ । यस खेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ । यसप्रति स्थानीय सरकारले अध्ययन मात्र होइन उत्पादन र व्यवस्थापनमा पनि जोड दिदैँ जनताहरुलाई यसप्रति उत्साह जगाउनुपर्दछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्