रेसुङ्गामा ढकमक्क लालीगुराँस
गुल्मी । यतिबेला गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ । ल्लाको रेसुङ्गा क्षेत्रको वनैभरी राताम्य फूलेका गुराँससँग रमाउन र फोटो खिचाउन आउने पर्यटकको चहलपहल पनि बढेको छ ।
प्रसिद्ध धार्मिक, ऐतिहासिक एबम् पर्यटकीय स्थल रेसुङ्गामा फुलेको लालीगुराँसले जोकोहीको मन लोभ्याउँछ । रेसङ्गालाई फुलेको लालीगुराँसले थप रमणीय बनाएको अघाखाँचीबाट रेसुङ्गा पुगेका बिनिराम घर्ति क्षेत्रीले बताए ।
लालीगुराँस कै कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्धि हुँदै जान थालेको रेसुङ्गा मन्दिरका पुजारी कृष्णप्रसाद पन्थीले बताए ।

भौगोलिक उचाइगत विविधताले ठूलो घना जंगल रहेको यस रेसुङ्गा क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा, नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु पाइन्छन् ।
पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँस लगायतका अन्य क्षेत्रमा परेको असरले मौसम अगावै र पछि फूल्ने गर्नाले प्रभाव पर्दै जान थालेको छ । रेसुङ्गा क्षेत्रमा ठूला र सुक्दै जान थालेपछि संरक्षणको अभाव खडकीन थालेको छ ।
धार्मिक पर्यटन
रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् ।

धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् ।
रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखलालगायत नौ जिल्लाको दृश्यावलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।
रेसुङ्गामा पैदल मार्ग निर्माण
रेसुङ्गाको पोखरीदेखि भ्यू टावरसम्म पैदल मार्गमा कुल ९८० मिटर आकर्षक सिँढी निर्माण गरिएको छ । सिँढी निर्माण गरिएको हो । बागलुङको गलकोटबाट ढुङ्गा ल्याएर यहाँ पैदल मार्ग बनाइएको हो ।

पैदल मार्गको पोखरीदेखि यज्ञशाला ७ सय मिटरसम्म १२ फिटको चौडाईमा तिनवटा रेलिङ्ग राखेर दुई लाइन हिड्न मिल्ने गरी पैदल मार्ग निर्माण गरिएको छ । यज्ञशालादेखि रेसुङ्गा भ्युटावरलगायतको ३ सय मिटरको क्षेत्रमा ८ फिट चौडाईमा २ वटा रेलिङ्ग राखेर निर्माण गरिएको छ ।
सिँढी निर्माण भएसँगै रेसुङ्गा पुग्ने पर्यटकलाई सहज भएको छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेट गाडीको यात्रापछि रेसुङ्गा क्षेत्रको पोखरीसम्म पुगिन्छ ।
पोखरीबाट रेसुङ्गा क्षेत्रको यज्ञशाला भ्युटावरलगायत बिभिन्न मन्दिरहरुमा पुग्न झण्डै २० मिनेट पैदल हिड्नु पर्दछ ।

मन्दिर अबलोकनमा पुग्ने श्रद्धालु भक्तजनहरुको सहजताका लागि पैदल मार्गले पैदल हिडनेहरुका लागि सजिलो र मनमोहक बनेको छ ।
रेसुङ्गा क्षेत्रको पोखरीमा स्नान गरेपछि मुख्य मन्दिरलगायत बिभिन्न स्थलको अबलोकनका लागि यज्ञशाला मन्दिर् जाने गर्दछन् ।
वनस्पतिको विविधता
रेसुङ्गा क्षेत्रको छल्दी खोला किनारको उपोष्णा पछाडी सालको वन, कटुस, चिलाउने मिश्रित वनदेखि शुद्द खोटेसल्लाको कोणधारी वन र खसु गुराँस मिश्रित समशितोष्ण चौडापाते वन अवलोकन गर्न सकिन्छ ।
जडिबुटीको विविधता

रेसुङ्गा क्षेत्रमा टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल, र अन्य गैरकाष्ठ वन पैदवारहरु पाइन्छन् ।
ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा,नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।
पारिस्थिकीय प्रणाली र बासस्थान विविधता
यस संरक्षित वनक्षेत्र समुद्री सतहदेखि ५ सय ७५ देखि २ हजार ३ सय ४५ मिटर उचाइसम्म फैलिएको छ । प्रशस्त पानी, उर्वरायुक्त माटो साथै जीवजन्तु वनस्पति र जडीबुटीको विभिन्नताले यहाँको पारिस्थिकीय प्रणाली र बासस्थानमा पनि प्रशस्त विविधता पाइन्छ ।
यहाँ स्थलचर, जलचर, उभयचर आदि सबैका बासस्थान भेटिन्छन् । यो क्षेत्र रतुवा, मृग र चितुवाको राम्रो बासस्थानको रुपमा रहेको छ । यहाँ कालिज प्रशस्तै पाइन्छन् ।

जलाधार क्षेत्रहरु
रेसुङ्गा वनक्षेत्र यस आसपासको जल आपूर्तिको प्रमुख स्रोतको रुपमा रहेको छ । यस वनक्षेत्रमा रहेका ३ सय ५० भन्दा बढि खानेपानीको मुहान र कुवाबाट वरिपरिका साविकका ७ गाबिसका ६२ हजार जनसंख्यालाई पिउने पानी र अन्य प्रयोजनका लागि पानी उपलब्ध भइरहेको छ ।
रेसुङ्गा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर रहेको छ । यसको ५० प्रतिशत भाग कृषि क्षेत्र र ४१ प्रतिशत भू–भाग वनक्षेत्रले ढाकेको छ ।
यो क्षेत्रले कालीगण्डकी जलाधार अन्र्तगत बडिगाड खोला र सो अन्र्तगत तल्लो छल्दी खोला, जोगीखोला, बलिथुम खोला, रटुकुवा खोला उप–जलाधारहरु समेटेको छ । जल आफूर्ति, भू–संरक्षण र पर्यापर्यटनको दृष्टिकोणबाट यस संरक्षित वनक्षेत्रमा पर्यावरणीय सेवाको प्रशस्त सम्भावना रहेको छ ।
यस क्षेत्रमा भएका बिभिन्न पानीका मुहान र कुवाहरुको साथसाथै यहाँको उपजलाधारको संरक्षण गरिनु अत्याबश्यक रहेको छ । यस क्षेत्रको भू–गर्भ र जलचक्रको अध्ययन भएमा थप सम्भावनाहरु निकाल्न सकिन्छ ।
रेसुङ्गाक्षेत्रमा विश्वब्यापी लोपोन्मुख गिद्द सहित २०८ प्रजातिका चराहरु
गुल्मीको गौरवको रुपमा रहेको यस धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल जैविक विविधतामा धनि छ । पंछी संरक्षण संघ नेपालको अभिलेख अनुसार रेसुङ्गा क्षेत्रमा ३ प्रजातिका विश्वब्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको छ ।

नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुरलगायत २ सय ८ प्रजातिका चराहरु यहाँ भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ । धार्मिक, ऐतिहासिक एवम् पर्यटकिय स्थल रेसुङ्गमा १ सय ६४ भन्दा बढि प्रकारका वनस्पति रहेको साबिककोे जिल्ला वन कार्यालय र हालको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख रहेको छ ।
रेसुङ्गा क्षेत्रमा २८ प्रकारका जनावरहरु पाइनुका साथै दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुहरुको बासस्थानको रुपमा महत्वपूर्ण रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । यस संरक्षित वनक्षेत्रमा जीवजन्तुको विविधताले भरिपूर्ण रहेको अध्ययनले देखाएको छ ।
रेसुङ्गा क्षेत्रमा रहेको वन क्षेत्रमा चितुवा, वन बिरालो, रतुवा, मृग, रातो बाँदर, ढेडु, स्याल, खरायो, लोख्रके जस्ता वन्यजन्तुहरुको बासस्थान रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख रहेको छ । धार्मिक तथा ऐतिहासिक क्षेत्र चरा अवलोकनको लागि एक उपयुक्त स्थलको रुपमा रहेको छ ।











प्रतिक्रिया थप्नुहोस्