मन भेटिने स्वर्गको टुक्रा ‘भार्से’
गुल्मी । जिल्लाकै सवैभन्दा धेरै मगर बस्ती भएको भार्से गाउँ । यो समुदायको आफ्नो परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, सस्कृति र पहिचान जीवितै छ । वरिपरि पहाडले घेरिएको समथर भु–भाग । बिचमा सानो बस्ती । अधिकांश ढुङ्गे घर । हरियाली अनि स्वच्छ वातावरण । मुटु नै खाने चिसो हावा र पानी ।
जिल्लाकै सबैभन्दा अग्लो स्थान थाप्लेको काखमा अवस्थित भार्से गाउँ प्राकृतिक रुपमा पनि निकै सुन्दर रहेको छ । रिडी र रिडि–रुद्रवेणी–वामी टक्सार मुख्य सडकखण्ड अन्तरगत खैरेनीबाट डेढ घण्टाको उकालो हिडेपछि भार्से पुगिन्छ ।
नेपालका बिरलै मध्येको भार्से गाउँ हो । अहिले गाउँ बिग्रिएका छन् । मान्छेका सोँचहरु राज्य केन्द्रित भएका छन् । तर, भार्से छोडेका वा गाउँमै बसेका सवैले गाउँको विकासमा देखाएको चासो निकै महत्वपूर्ण छन् । जहाँ मन पाउन सकिन्छ । भार्सेमा समुदायस्तरबाट करोडौका काम भएका छन । चाहे त्यो शिक्षा, स्वास्थ्य वा पर्यटन ।
अनेक बाध्यताले गाउँ छोड्नेहरु सोचे जस्तो बाहिर हुने बित्तिकै नर्फकने गर्छन् । कैयौले पढ्न, धन दौलत कमाउँछन् । तर, आफ्नो गाउँ र समुदायमा खर्च गर्ने मनकारी कम हुन्छन् । भार्सेका युवा र प्रबासीहरुको सहयोग र सक्रियता खोज गर्नेहरुको बिषय बन्न सक्छ ।
भार्सेली मगरहरुको कला संस्कृतीको संरक्षणसंगै पर्यटकीय सम्भावना देखेर चार बर्षदेखि होमस्टे सञ्चालन गरिएको छ । पुराना कलात्मक शैलीका घरहरुमा मगर दिदिबहिनीहरुको न्यानो आतिथ्यता र परिकार वर्णन गरि साध्य छैन् ।
भार्सेली महिलाहरुले रानीवन होमस्टे पाहुना घरमा अतिथीलाई स्वागत गर्छन् । सालैजो, सोरठी, कृष्ण चरित्र र ठाडो भाका पाको पुस्तादेखि नयाँसम्मले गाउन र नाच्न सक्छन् । गीत गाएर र नाचेर पाहुनालाई रात गएको पत्तै हुँदैन् ।
होमस्टेमा खान, बस्न र सुत्नका लागि खासै महङ्गो छैन । लोकल कुखुरा र कोदोको रक्सी होमस्टेको प्रमुख आकर्षण रहेको रानीवन होमस्टे सञ्चालक समिति अध्यक्ष गंगा दलार्मीले बताइन् । स्वादिष्ट कोदोको ढिडो, सिस्नो, बाँकको गुन्द्रुक, कालो भट्ट, मकै र फापरको रोटी होमस्टेको बिशेषता हो ।
मनहरु जोड्दै बौद्ध स्तुपा
सत्यवति गाउँपालिका ८ भार्सेको देउराली डाँडामा डेढ करोडमा बौद्ध स्तुपा निर्माणको काम भइरहेको छ । स्तुपा समुद्री सतहबाट दुई हजार एक सय ८० मिटर उचाईमा निर्माण हुँदैछ । स्तुपा निर्माणको नेतृत्व भार्सेली समाज हङकङका अध्यक्ष समेत रहेका कुल बहादुर बुढाथोकीले गरेका छन् ।
स्तुपा निर्माणको लागि भार्सेली समाज हङकङसहित, भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौँ लगायतका संघ–संस्था र व्यक्तिहरुबाट रकम संकलन भइरहेको बुढाथोकीले जानकारी दिए । बौद्ध स्तुपासंगै पर्यटकलाई थप आर्कषित गर्न नजिकै फन पार्क निर्माण गरिएको छ ।
भार्से देउरालीबाट उत्तरका धौलागिरी, अन्नपूर्ण र माछापुच्छे्र लगायतका मनमोह हिमश्रृङखला र गुल्मीसहित पर्वत, बाग्लुङ, म्याग्दी, पाल्पा र स्याङजाका महत्वपूर्ण दृश्यावलोक गर्न सकिन्छ । जसका कारण स्तुपा र फन पार्कले आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय गन्तव्य भार्से बन्ने स्वयम्भु देउराली बौद्ध स्तुपा निर्माण समितिका अध्यक्ष नर बहादुर बुढाथोकीले बताए ।
स्तुपा र पार्कसंग थाप्ले, खानीदेखि प्रसिद्ध स्थान राम पाइलालाई जोडेर पर्यटकीय विकास, संरक्षण र प्रचारप्रसार अगाडी बढाउने लक्ष्य रहेको बुढाथोकीले जानकारी दिए ।
पाइलट बनेर प्याराग्लाइडिङ उडाउँदै दुई युवा
जिल्लामा सम्भवत भार्सेमै प्याराग्लाइडिङको परिक्षण उडान गरिएको थियो । त्यसपछि विभिन्न स्थानीय तहमा पनि प्याराग्लाइडिङको परिक्षण गरिएको छ । गुल्मीका अधिकांश स्थान प्याराग्लाइडिङको लागि उपयुक्त भएपनि व्यावसायीक उडान कसैले गरेका छैनन् ।
तर, भार्सेका दुई युवा भुवन पुन र सुशील थापाले गाउँमै व्यावसायीक प्याराग्लाइडिङ उडानका लागि एक बर्षदेखि प्रशिक्षण लिइरहेका छन् । उनीहरुले स्याङजाको द बाबु एडभेञ्चर इन्टरनेशनल प्याराग्लाइडिङ स्कुलमा पढ्ने र उड्ने काम गरिरहेका छन् ।
अहिले उनीहरु दुई हजार एक सय २० मिटर उचाईमा रहेको जमादी डाँडाबाट भार्सेको आकाशमा उड्छन् । “भार्सेमा प्याराग्लाइडिङको सम्भावना प्रचुर रहेको छ । गाउँमै जनशक्ति नभएसम्म व्यावसायीक रुपमा अगाडी बढ्न गाह्रो छ” भुवनले भने, “कोर्ष पुरा गरेपछि गाउँमै फर्किएर उडान गर्छौ ।”
पर्यटक झुम्ने सोरठी र कृष्ण चरित्र
सोरठीका गुरु बा यमबहादुर छन्तेल । उमेरले ७६ बर्षका भए । उनी सोरठीका अब्बल गायक हुन् । भार्सेको सोरठी र कृष्ण चरित्र लुम्बिनी प्रदेशमै प्रख्यात मानिन्छ । मेला महोत्सवमा भार्सेलीहरुले सोरठी र कृष्ण चरित्रसंगै झ्याउरे, सालैजो र दोहोरी प्रस्तुत गर्छन् ।
भार्सेमा होमस्टे सञ्चालन भएकाले पाहुनाको चाहना अनुसार गाउने र नाच्ने पनि गरिएको छ । समूहमा छन्तेलले निकाल्ने सोरठीको भाकामा तन्नेरी मेलो थप्छन् । गाउने र नाच्नेहरु बच्चादेखि बृद्धसम्म हुन्छन् ।
कृष्ण जन्माष्टमीमा कृष्ण चरित्र गाउने र देखाइने गरिन्छ । यो प्रकारका कला संस्कृति र परम्पर जिल्लाका अधिकांश ठाउँमा संकटमा परिरहेका छन् । तर, यी गीत र नृत्यहरु भार्सेमा पाको पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गरिएको भार्सेका चर्चित गायक तथा बाध्यबाधक नारायण विकले बताए ।
उनले गाउन र बजाउन दुवै आउँछ । “मैले गाउँका पाको पुस्ताको पछि लागेर सोरठी र कृष्ण चरित्र सिकेँ । अहिले मैले पनि युवाहरुलाई सिकाइरहेको छु” उनले भने, “विद्यालय र क्याम्पसमा अध्ययन र अभ्यास आवश्यक छ ।”
विश्वयुद्ध लड्नेहरुको गोर्खा ग्यालरी
लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकीले भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका छन् । उनले आफ्नै करिब ३५ लाखको लगानीमा भवन निर्माण गरेर भार्सेबाट प्रथम र दोस्रो विश्व युद्ध लड्नेहरुको फोटो र इतिहासको लागि गोर्खा ग्लालरी स्थापना गरेका हुन् ।
ग्यालरीमा अहिलेसम्म एक जना जिवित र २४ जना दिवंगत व्यक्तिहरुको तस्विर र संक्षिप्त विवरण राखिएको छ । जसमा नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्ण बहादुर रानादेखि भारतीय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बुढाथोकी र श्रीप्रसादकै बुबा गिरीप्रसाद बुढाथोकीको तस्विर राखिएको छ ।
उनीहरु बाबुछोरा एउटै पल्टनबाट विश्वयुद्ध लडेको थिए । लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकीका बुवा मोति बहादुर बुढाथोकी पनि विश्वयुद्ध लडेका थिए । विश्वयुद्ध लडेका २५ जना मध्ये ९८ बर्षीय बहादुर आले जिवित छन् ।
लेफ्टिनेन्ट बुढाथोकीले आफ्नो बुबासहित भार्सेली पुर्खा, इतिहास र पहिचानको लागि ग्यालरी स्थापना गरिएको बताए । “नेपाल र बाहिर भार्सेका कैयौ व्यक्तिले काम गरेर नाम कमाएका छन् । त्यो भार्सेको मात्रै नभएर नेपालकै लागि महत्वपूर्ण कुरा हो” बुढाथोकीले भने, “मैले पनि इतिहास जोगाउने प्रत्यन गरेको हुँ !”
योसंगै तत्काल गोर्खा फोटो ग्यालरीको योजना रहेको छ । यसमा सवै भार्सेली भारतीय, बिर्टिस र नेपाली सेनाहरुको फोटो राखिने छ । गोर्खा ग्यालरीको एउटा तस्विरको मुल्य ३० हजार रहेको छ । भार्सेकै सुजना श्रीसले पेन्सिल आर्ट मार्फत आर्कषक फोटा बनाएकी छन् ।
भक्तपुरे पागोडा सैलिमा निर्मित झुलेथुम कालिका देवी मन्दिर जुन भार्सेलीहरुलाई बाग्लुंग कालिका दर्श गर्नु जानु टाढा भएकै कारण स्थानीय बासीहरुको सहजताको लागी बाग्लुंग कालिका देबी मन्दिर देखि शिला ल्याई भार्सेमा स्थापना गरिएको जुन केहि साल अधि मात्र पुरानो मन्दिरलाई जिर्णोद्वार अहिल्याको स्वरुपमा स्थापना गरिएको हो यस मन्दिरमा भक्तपुर देखि ल्याईएका २४ किसिमका ईट्टाहरु प्रयोग गरिएको छ।