१ जेठ २०८१, मंगलबार

खेलकुद विकास समितिका पदाधिकारीहरुद्धारा पदभार ग्रहण 

गुल्मी । जिल्ला खेलकुद विकास समिति गुल्मीका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमका बीच कार्यालयमा नवनियुक्त पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । 

नवनियुक्त अध्यक्ष गिरीप्रसाद महाकिमलाई निवर्तमान अध्यक्ष मनोज काउछाले पदभार ग्रहण गराएका थिए । नवनियुक्त अध्यक्ष महाकिमले समितिका अन्य पदाधिकारी सहित सदस्यहरुलाई नियुक्ती पत्र प्रदान गरेका थिए । 

लुम्बिनी प्रदेश सरकारले गत असार १९ गते गिरी प्रसाद महाकिमको नेतृत्वमा नयाँ समिति गठन गरेको थियो । जसअनुसार उपाध्यक्षमा नारायण जिसी, कोषाध्यक्षमा सुरेश श्रेष्ठ एवम् सदस्यहरुमा सन्तोष शाक्य, कर्ण थापा, सागर सोमै, अमर पल्ली, कमला बलामी र सीता श्रीस रहेका छन् । 

लुम्बिनी प्रदेश खेलकुद विकास ऐन, २०७६ को दफा १३ उपदफा (१) तथा प्रदेश खेलकुद नियमावली, २०७८ को नियम १० को उपनियम (१) अनुसार प्रदेश सरकारले समितिका पदाधिकारीहरुको परिवर्तन गरेको हो । 

कार्यक्रममा बोल्दै अध्यक्ष महाकिमले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने बताए । आफुले निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष लगायत सबै सरोकारपक्षको सुझाव लिएर मात्र काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै प्रमुख अतिथि खेलकुद विकास समितिका प्रदेश सदस्य भरत थापाले नवगठित समितिले खेल क्षेत्रको विकासका लागि रचनात्मक काम गर्नुपर्नेमा जोड दिए । निवर्तमान अध्यक्ष मनोज काउछाले ११ महिनामा राम्रोसँग काम गर्न नपाएको भन्दै नवगठित समितिको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

निवर्तमान कोषाध्यक्ष महेश काउछाले गठबन्धन सरकारको निर्माणपछि आफुहरु समितिबाट हट्नुपरेको गुनासो गरे । कार्यालय प्रमुख डिल्ली विश्वकर्माले पछिल्लो समय सम्पन्न भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता लगायत कार्यालयले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । सिमित बजेट र निश्चित समयका बाबजुत पनि राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न गर्न सहयोग गर्ने सबैलाई प्रमुख विश्वकर्माले धन्यवाद् दिएका थिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्