
गुल्मीमा नयाँ जनप्रतिनिधिका पुराना नीति
गुल्मी । स्थानीय तहको निर्वाचनबाट दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरु निर्वाचित भएपनि उनीहरुले पुरानै नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएका छन् । कालिगण्डकी गाउँपालिकाले पर्यटन, शिक्षा, पूर्वाधार लगायतका नीति दोहोर्याएको छ ।
धुर्कोट गाउँपालिकाले कृषि, पर्यटन र शिक्षासम्बन्धी र चन्द्रकोट गाउँपालिकाले नगर प्रहरी, कृषि पूर्वाधार, सहकारी तथा वित्तीय नीति, पर्यटकीय पूर्वाधारसम्बन्धी विषयमा पुरानै नीतिलाई दोहेयाएको पाइन्छ ।
त्यस्तै छत्रकोट गाउँपालिकाको शिक्षा, पोषण, खानेपानी लगायतका नीति पुरानै छन् भने मदाने गाउँपालिकाले कृषि, पर्यटन, पशु, शिक्षा, स्वास्थ्य लगायतका नीति तथा कार्यक्रम दोहोर्याएको छ ।
जिल्लामा दुई नगर र १० गाउँपालिका गरी १२ पालिका छन् जसमध्ये अघिल्लो निर्वाचनमा सात पालिका अध्यक्ष एमाले, चार काँग्रेस एवम् एक पालिका अध्यक्ष माओवादी केन्द्रले जितेको थियो ।
अहिले पाँच पालिका अध्यक्ष काँग्रेस, चार माओवादी केन्द्र र तीन पालिका अध्यक्ष एमालेले जितेका छन् । अघिल्लो चुनावमा एमालेले जितेको इस्मा, मदाने र रेसुङ्गामा अहिले काँग्रेसले जितेको छ ।
त्यस्तै मालिका र रुरुक्षेत्रमा माओवादी केन्द्र एवम् मुसिकोट र छत्रकोटमा एमाले स्वयम्ले नै जितेको छ । यसभन्दा अगाडी काँग्रेसले जितेको सत्यवतीमा अहिले एमाले एवम् चन्द्रकोटमा माओवादी केन्द्रले जितेको छ ।
त्यस्तै अघिल्लो पटक कांग्रेसले जितेको कालिगण्डकी र गुल्मीदरबारमा यसपटक पनि काँग्रेसले नै जितेको छ । यसभन्दा अगाडी माओवादी केन्द्रले जितेको धुर्कोट गाउँपालिका अहिले पनि माओवादी केन्द्रले नै जितेको छ । पालिकाहरुमा निर्वाचित हुने दल फेरिएपनि नीति तथा कार्यक्रम भने फेरिएका छैनन् ।
कालिगण्डकीको हुबहु
यसभन्दा अगाडी नेपाली काँग्रेसका वेद बहादुर थापा अध्यक्ष भएको कालिगण्डकीमा दोस्रो कार्यकालका लागि पनि थापा नै चुनिए । नयाँ कार्यभार सम्हाल्न चुनिएका थापाले नीति तथा कार्यक्रम भने पुरानै ल्याए । अर्थात् नेतृत्व पुरानै भएकोले नीति तथा कार्यक्रम पनि पुरानै ।
नीति तथा कार्यक्रमका शीर्षक एवम् त्यसभित्रका बुँदा जस्ताको तस्तै छन् । गत बर्षको नीति तथा कार्यक्रममा पहिलो बुँदामा कृषि गुरुयोजनाको तयारी गरी तपशिल बमोजिमको लक्ष्य हासिल गरिने उल्लेख छ । यो बर्ष पनि सोही बुँदा नै उल्लेख गरी नीति कार्यक्रम बनाइएको छ ।
उद्योग, पर्यटन क्षेत्र, राजस्व परिचालन, सामाजिक विकास, शिक्षा, पोषण, खानेपानी तथा सरसफाई, संस्कृति प्रवद्र्धन, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक समावेशीकरण, जनसङ्ख्या र श्रम तथा रोजगारी, सामाजिक सुरक्षा तथा संरक्षण, यूवा, खेलकुद तथा स्वयमसेवक सेवा, सडक तथा झोलुङ्गे पुल, सिँचाई, उर्जा, सञ्चार, वन तथा भू–संरक्षण, विपद् व्यवस्थापन, वित्तीय व्यवस्थापन एवम् विविध नीतिअन्र्तगतका सबै बुँदा गत बर्षकै कपि पेष्ट गरिएको छ । अर्थात् उक्त शीर्षकमा एउटा पनि नयाँ कार्यक्रम थपिएको छैन ।
कृषि एम्बुलेन्सको व्यवस्था, कृषकलाई परिचय पत्र दिने, कृषि संकलन केन्द्रको स्थापना एवम् विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने यस बर्षका नयाँ कार्यक्रम हुन् । तर गत बर्षकै नीति तथा कार्यक्रम कार्यान्वयन नभएकाले औपचारिकताका लागि मात्र कार्यक्रम ल्याएको देखिन्छ ।
गाउँपालिका अध्यक्ष थापाले नीति तथा कार्यक्रममा नयाँपन दिन नसकिएको स्वीकारे । “हामी अहिले पशुसँग सम्बन्धित उत्पादनमा लागेका छौ” थापाले भने, “तर, ठयाक्कै रोजगारीको तथ्याङ्क भने छैन ।”
यी नीति तथा कार्यक्रम भए कपि/पेष्ट :
- कृषि गुरुयोजना तयार गरी तपशिल बमोजिमको लक्ष्य हाँसिल गर्ने ।
- न्यूनतम कृषि उपजमा आत्मनिर्भरता हाँसिल गर्ने ।
- बाँस प्रजातिको बहुउपयोग गर्ने ।
- एक टोल–एक पोखरी, एक गाउँ–एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने ।
- लोपुन्मुख, रैथाने कृषि तथा पशुपक्षीं उत्पादनलाई संरक्षण गर्ने ।
- स्थानीय स्रोत एवम् सीपको उपयोग गरी घरेलु साना, मझौला उद्योगको स्थापना गर्ने ।
- जडिबुटिमा आधारित औषधीजन्य वस्तुको उत्पादन गर्ने ।
- पर्यटकीय क्षेत्रहरुको पहिचान गरी पर्यटकीय पूर्वाधारहरुको निर्माण गर्ने ।
- बजार तथा सडक क्षेत्रमा नक्सा पास नगरी भवन बनाउनेबाट दोब्बर शुल्क लिने ।
- विद्यालय मर्ज, दरबन्दी मिलान तथा आवासीय विद्यालयलाई निरन्तरता दिने ।
- वि.स. २०८० सम्म एक घर एक धारा कार्यक्रम पुरा गर्ने ।
- आवश्यकताअनुसार सार्वजनिक शौचालयको निर्माण गर्ने ।
- एउटा कभर्ड हलको निर्माण ।
- सबै घरधुरीमा विद्युतीकरण गर्ने ।
- टिमुर प्रजातिको विरुवा प्रवद्धन गर्ने ।
- विपद् व्यवस्थापन कोषमा आवश्यक रकमको व्यवस्था गर्ने ।
- आवश्यकता औचित्यताको आधारमा सार्वजनिक वित्त कोषको स्थापना गर्ने ।
मदानेमा पनि पुरानै
अघिल्लो कार्यकालमा एमालेका दान बहादुर केसी अध्यक्ष रहेको मदाने गाउँपालिकामा अहिले काँग्रेसका महेन्द्र कुँवर निर्वाचित भए । कुँवर निर्वाचित भएसँगै पालिकाको नेतृत्व मात्रै फेरिएन, नारा पनि फेरियो ।
एमालेका केसीले ‘समद्ध मदानेको आधार, कृषि पर्यटन र पूर्वाधार’ भन्ने नारा अपलम्बन गरेका थिए, तर काँग्रेसका कुँवरले ‘समुन्नत मदाने, सम्मानित मदाने बासी’ नारा अवलम्बन गरेका छन् ।
नयाँ नारा लिएपनि नीति तथा कार्यक्रम भने पुरानै रहेका छन् । खोर सुधारका लागि अनुदान, कृषि उपज केन्द्रहरु स्थापना गर्ने, संग्राहलयको स्थापना, टोल विकास संस्थाको गठन, छोरी–बुहारी शैक्षिक सुधार कार्यक्रम लगायतका कार्यक्रम पुरानै छन् । त्यस्तै बेरुजुमुक्त पालिका बनाउने, पर्यटन गुरुयोजना निर्माण गर्ने, उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने लगायतका नीति तथा कार्यक्रम पुरानै छन् ।
हुबहु नीति तथा कार्यक्रम :
- गरिबी घटाउन र कृषकहरुको आयस्तरमा बृद्धि गर्न कृषि विकास कार्यक्रमहरु सञ्चालन गर्ने ।
- कृषि साधन, बीउ र मलमा अनुदानको व्यवस्था गर्ने ।
- खोर सुधारका लागि अनुदान उपलब्ध गराउने ।
- कृषकको उत्पादनको मूल्य र बजार पहुँच सुनिश्चित गरिने ।
- वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई व्यवसायिक कृषिमा आकर्षित गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने ।
- कृषिउपज प्रशोधन केन्द्रहरु स्थापना गर्ने ।
- सांस्कृतिक सम्पदाको संरक्षण गर्न संग्राहलयको स्थापना गर्ने ।
- टोल विकास समितिमार्फत जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने ।
- पर्यटन गुरुयोजना निर्माण गर्ने ।
- विद्यालयहरुको भौतिक सुधार गर्ने, उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्ने ।
- छोरी–बुहारी छात्रबृत्ति कार्यक्रम सञ्चालन गर्ने ।
- बेरुजु समयमै फस्र्यौट गरी शून्य बेरुजुयुक्त गाउँपालिका बनाइने ।
- उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने ।
- गाउँपालिकाको विकासको लागि संघ, प्रदेश एवम् स्थानीय तहबीचको सहकार्य र समन्वयलाई उच्च प्राथमिकता दिने ।
छत्रकोटमा पनि उस्तै
छत्रकोट गाउँपालिकामा अघिल्लो कार्यकालमा एमालेका मधुकृष्ण पन्थ अध्यक्षमा विजयी भएका थिए । अहिले एमालेकै रामप्रसाद पाण्डे अध्यक्ष छन् । माओवादी केन्द्रमा सक्रिय पाण्डे निर्वाचनको केही दिन अगाडी मात्रै एमाले प्रवेश गरेका थिए । पन्थ अध्यक्ष हुँदा ‘कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार–समृद्ध जनता हाम्रो प्रतिवद्धता’ नारा रहेको थियो भने अहिले पाण्डे हुँदा ‘सुखी र खुसी छत्रकोट बासी, समृद्ध छत्रकोट’ नारा रहेको छ ।
पाण्डेले नारा फेरेपनि पालिकाका पुराना कार्यक्रम भने फेर्न सकेनन् । पाण्डे अध्यक्ष हुँदा अधिकांश कार्यक्रमहरु पन्थ अध्यक्ष हुँदाकै छन् । शिक्षकको क्षमता विकास, विद्यालयमा जङ्गफुड निषेध गर्ने, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने, सडकहरुलाई बाह्रै महिना सञ्चालनमा ल्याउने, पोषणमैत्री पालिका घोषणा गर्ने लगायतका कार्यक्रम पुरानै छन् ।
केही नयाँ कार्यक्रम पनि थप गरेका छन् । पालिका अध्यक्ष रामप्रसाद पाण्डेले निर्वाचित हुँदा लगत्तै नीति तथा कार्यक्रम ल्याउनुपर्दा केही बिषय छुटेको बताए । “घोषणापत्रमा उल्लेख भएबमोजिम काम गरेका छौ, तर केही बिषय छुटेका पनि छन्” उनले भने, “आगामी बर्षहरुमा सबै पक्ष समेटेर काम गर्छौ ।”
निरन्तरता रहेका पुराना नीति तथा कार्यक्रमहरु :
- शिक्षकहरुको क्षमता विकासमा जोड दिने ।
- आर्थिक अभावले विद्यालय जान बञ्चित बालबालिकाहरुको लागि जनप्रतिनिधि तथा अन्य इच्छुक व्यक्तिहरुले अभिभावकत्व ग्रहण गर्ने ।
- प्राविधिक धार सञ्चालन गरेको आत्मबोध माविको गुणस्तर बृद्धिको लागि पहल गर्ने ।
- विद्यालयमा जङ्कफुड निषेध गर्न अभियान चलाउने ।
- शैक्षिक संस्थाभित्र मादक पदार्थ, सुर्तिजन्य पदार्थ, नशालु पदार्थ लगायत प्रयोग भएमा प्रयोग गर्ने व्यक्तिलाई कारवाही गर्ने ।
- बाल शिक्षकहरुको सेवालाई निरन्तरता ।
- स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिदैँ आएका सेवाहरुलाई थप प्रभावकारी बनाउने ।
- गर्भवती तथा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्ने ।
- पाँच बर्षभित्र पोषणमैत्री गाउँपालिका घोषणा गर्ने ।
- महामारीजन्य रोगहरुको तत्काल रोकथाम गर्न आवश्यक व्यवस्था मिलाउने ।
- खानेपानीका मुल सुक्न नदिन वृक्षारोपणका कार्यक्रम सञ्चालन गर्ने ।
- सफा र स्वच्छ खानेपानीको लागि पानीको गुणस्तर र परीक्षणलाई जोड दिने ।
- प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्ने ।
- कृषक पेन्सन कार्यक्रमलाई निरन्तरता दिने ।
- कृषि तथा पशु विकास पकेट कार्यक्रमलाई निरन्तरता दिने ।
- सिँचाई सुविधा पु¥याउन आवश्यक व्यवस्था मिलाइने ।
- निःशुल्क रुपमा माटो परीक्षण गर्ने ।
- सबै सडकहरुलाई बाह्रै महिना सञ्चालन गर्ने ।
- गाउँपालिका तथा मातहतका शाखाहरुलाई सूचना मैत्री बनाउने ।
रेसुङ्गा नगरपालिकामा पनि पुरानै नीति हावी
यसभन्दा अगाडी एमालेले जितेको रेसुङ्गा नगरपालिकामा यसपटक काँग्रेसले जितेको छ । पहिले एमालेका डिल्लिराज भुसाल मेयर रहेको नगरपालिकामा अहिले काँग्रेसका खिलध्वज पन्थी मेयर छन् । पन्थी मेयर भएपछि केही नयाँ काम गर्न खोजेपनि त्यसलाई नीति तथा कार्यक्रममा भने उतार्न सकेनन् ।
पन्थीले जेठ ६ गते पदभार ग्रहण गर्दाकै दिन चारवटा महत्वपूर्ण निर्णय गरे । जसमध्ये गुल्मी अस्पतालमै डायलासिस गर्नको लागि आवश्यक सामग्री उपलब्ध गराउने र आँखाको शल्यक्रिया निःशुल्क गर्ने निर्णय लोकप्रिय मानिएका छन् । गुल्मी अस्पतालको लागि डायलासिस गर्ने मेसिन खरिद प्रक्रियामा रहेपनि आँखाका बिरामीले भने निःशुल्क रुपमा शल्यक्रियाको सेवा पाइरहेका छन् ।
पालिकाभित्रका विद्यालयबाट एसईईमा ३.२ जिपिएभन्दा बढी ल्याउने र पालिकाभित्रैका विद्यालयमा पढ्ने विद्यार्थीको लागि मासिक चार हजार उपलब्ध गराउने निर्णय पनि नगरपालिकाले गरेको छ । यी कार्यक्रमहरु नयाँ र लोकप्रिय हुन् । तर सदरमुकाम तम्घासका मुख्य नाकामा सिसिटिभि जडान गर्ने, मुख्य पर्यटकीय क्षेत्रमा निःशुल्क वाइफाईको व्यवस्था गर्ने, अन्य देशका विभिन्न नगर परिषद्बीच भगिनी सम्बन्ध जोड्ने, पोषणमैत्री नगरपालिका घोषणा गर्ने लगायतका कार्यक्रम भने पुरानै छन् ।
तम्घासका मुख्य सडकमा सिसिटिभि जडान, पोषणमैत्री पालिका घोषणा, छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड, लघु उद्यममार्फत रोजगारी सिर्जना लगायतका पुरानै कार्यक्रम दोहोरिएका छन् ।
यी कार्यक्रमहरु एमालेको सरकार हुँदा पनि समावेश रहेपनि पुरा भएनन् । काँग्रेसको सरकार बनेर नीति कार्यक्रम पारित भएको झण्डै दुई महिना सकिदा पनि काम सुरु नै भएको छैन । “कृषि, आँखा स्वास्थ्य, मेयरसँग रोजगार लगायतका नयाँ कार्यक्रम पनि समावेश गरेका छौ” मेयर पन्थीले भने, “अहिले ल्याएका नीति तथा कार्यक्रमहरु पूर्णरुपमा कार्यान्वयन गर्छौ ।”
रेसुङ्गाका हुबहु नीति तथा कार्यक्रमहरुः
- तम्घासका मुख्य सडक नाकाहरुमा सिसिटिभि जडान गर्ने ।
- पर्यटकीय क्षेत्रमा निःशुल्क वाइफाईको व्यवस्था गर्ने ।
- नगरपालिका र बेलायतको हाकिन्ज नगर परिषदबीच २ अक्टोबर २०२० मा भएको भगिनी सम्बन्धलाई कार्यान्वयनमा ल्याउन पहल गर्ने ।
- पोषणमैत्री नगरपालिका घोषणा गर्न पहल गर्ने ।
- एक वडा, एक विद्यालयको नीति अवलम्बन गर्दै विद्यालय मर्ज गर्न आवश्यक नीति लिइने ।
- विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने ।
- सडक बालबालिकाहरुको उचित व्यवस्थापन गर्ने ।
- प्राकृतिक प्रकोपबाट कृषकहरुको बालीमा क्षति भएमा राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिने ।
- तम्घास चारिखोलास्थित कृषि तथा पशु संकलन केन्द्रलाई थप व्यवस्थित गर्दै उत्पादित कृषिजन्य वस्तुको खरिद–विक्रिको सुनिश्चितता गर्ने ।
- प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थित बनाउने ।
- पशु उपचार सेवा, कृत्रिम गर्भाधान, पशुरोग नियन्त्रण, रेबिज तथा भ्याक्सिन सेवा संचालन ।
- लघु उद्यम कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने ।
- पशु चौपायहरु तथा कृषि व्यवसायलाई प्रोत्साहन गर्न बीमाको व्यवस्था गर्ने ।
- कृषिसँग सम्बन्धित लघु तथा घरेलु साना उद्योग विस्तार गर्ने ।
चन्द्रकोटमा केही नयाँ
चन्द्रकोट गाउँपालिकामा पहिले काँग्रेसका दोर्ण खत्री पालिका अध्यक्ष थिए भने अहिले माओवादी केन्द्रका युवराज केसी अध्यक्ष छन् । अझ गज्जबको बिषय त, अघिल्लो निर्वाचनमा आफैविरुद्ध उम्मेदवार बनेका केसीलाई जिताउन यसपटक खत्री लागे ।
वर्तमान अध्यक्ष केसीले कानुनमा स्तातकोत्तर गरेका छन् । यसर्थ उनले केही नयाँ कार्यक्रम ल्याउने अपेक्षा आम गाउँपालिकाबासीले गरेका थिए । केसीले पहिलेभन्दा केही नयाँ कार्यक्रम पनि ल्याएका छन् तर अधिकांश भने पुरानै कार्यक्रममा चित्त बुझाएका छन् ।
खत्रीले ‘हरेक क्षेत्रमा सबैका क्रियाशिलता, सबल एवम् सक्षम चन्द्रकोट भ्रष्टाचारमा शुन्य सहनशिलता’ भन्ने नारा लिएका थिए भने केसीले ‘विद्यमान समस्याको निकास, सुशासन सहितको विकास’ भन्ने नारा लिएका छन् ।
केसीले पदभार ग्रहण गर्दाकै दिन विपन्न नागरिकको स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने, स्थानीय स्वास्थ्य संस्थामा प्रसुती हुन नसक्नेहरुलाई बुटबलसम्मको खर्च पालिकाले दिने लगायतका निर्णय गरेका थिए । उक्त निर्णयहरु अन्य पालिकाहरुले पनि अनुशरण गरेका छन् ।
अहिले केसीले बाँझो जग्गामा खेती गर्नेलाइ अनुदानका साथै शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेका छन् । नीति तथा कार्यक्रम केही नयाँ र आशालाग्दो देखिएको छ ।
१० जनालाई रोजगारी दिने फर्मलाई लगानीमा अनुदान, टिमुरे ताललाई गौरवको आयोजनाका रुपमा अगाडी बढाउने, पञ्चबर्षीय गाउँ शिक्षा योजना बनाई कार्यान्वयन गर्ने, शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई तालिमको व्यवस्था गर्ने, शिक्षक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण, आँखासम्बन्धी अध्ययनका लागि प्रत्येक बर्ष एकजनालाई छात्रबृत्तिको व्यवस्था गर्ने, छोरीलाई अंश दिने बुबा–आमालाई सम्मान लगायतका नयाँ कार्यक्रम केसीले समावेश गरेका छन् ।
तर नगरप्रहरीको स्थापना जस्ता गत बर्ष पनि समावेश भएका नीति कार्यक्रमहरु हालसम्म पनि कार्यान्वयन नहुँदा अहिलेका कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिएको छ ।
यी हुन हुबहु सारिएका नीति तथा कार्यक्रमहरु :
- कृषि प्रसार सम्बन्धी स्थानीय नीति, योजना र कानुन निर्धारण गरी त्यसको कार्यान्वयन र नियमन गरिने ।
- कृषि बीउविजन, नश्ल सुधारको लागि कृत्रिम गर्भाधान, रासायनिक मल र औषधीहरुको आपूर्ति र नियमन गरिने ।
- कृषि उपज संकलन केन्द्रजस्ता कृषि पूर्वाधारको निर्माण गर्ने ।
- पर्यटन गुरुयोजनामार्फत पर्यटकीय स्थलहरुको पहिचान, प्रचार–प्रसार गर्दै पूर्वाधारको विकास गर्ने ।
- चन्द्रकोट मन्दिर, दिब्रुङ मन्दिरको भौतिक पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्धन गर्ने ।
- सरकारी, निजी र सहकारी तीनवटै क्षेत्रलाई गाउँपालिकाको सकारात्मक रुपान्तरणका लागि परिचालन गरिने ।
- सहकारीहरुलाई उत्पादनमुलक कार्यमा लाग्न उत्प्रेरित गरिने ।
- स्थानीय पाठ्यक्रम लागु गर्ने ।
- गाउँगाउँमा स्वास्थ्य चेकजाँच घुम्ती सेवा सञ्चालन गर्ने ।
- मातृ शिशु तथा बाल्यकालिन पोषण सुधारका कार्यक्रम सञ्चालन गर्ने ।
- विद्यालयमा निःशुल्क आँखा जाँच, चश्मा वितरण तथा आँखा अप्रेसन शिविर कार्यक्रम सञ्चालन गर्ने ।
- बर्थिङ सेन्टरलाई व्यवस्थित गर्ने ।
- युवाहरुका लागि खेल, मनोरञ्जन तथा ज्ञान सीपको विकास गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने ।
- ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदा तथा धरोहरहरुको संरक्षण र प्रवद्र्धन गर्ने ।
- एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने ।
- महिला समुह गठन गरी कृषि क्षेत्रमा प्रोत्साहित गर्ने ।
- बालविवाह न्यूनिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
- ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने ।
- अपाङ्गता भएका व्यक्तिहरुलाई जिविकोपार्जन तथा आय आर्जन सम्बन्धि सीपमुलक तालिम संचालन गर्ने ।
- दलित तथा पछाडी पारिएका वर्गलाई शसक्तिकरणका कार्यक्रम संचालन गर्ने ।
- नगरप्रहरीको स्थापना गर्ने ।
धुर्कोटमा नेतृत्व र नीति दुवै पुरानै
धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रबाट भुपाल पोखरेल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए । पोखरेलको अघिल्लो कार्यकालकै बेला गाउँपालिका कार्यसम्पादनका आधारमा नेपालकै तेस्रो नम्बरमा परेको थियो । विकासका दृष्टिकोणले पनि धुर्कोट गाउँपालिका जिल्लामै अब्बल मानिन्छ ।
अघिल्लो कार्यकालको लागि ०७४ असार २८ गते पदभार ग्रहण गर्दा पोखरेलले खरका छाना विस्थापन गरी टिनका छाना लगाउने निर्णय गरेका थिए । उक्त निर्णय अन्य पालिकाहरुले पनि अनुशरण गर्दै पछि संघीय सरकारले पनि नीति तथा कार्यक्रममा उल्लेख गर्यो । अहिले धुर्कोट गाउँपालिका खरका छाना मुक्त घोषणा भइसकेको छ ।
दोस्रो कार्यकालको लागि गत जेठ ९ गते पदभार ग्रहण गर्दा पोखरेलले चारवटा निर्णय गरे । विद्युतीय चुलोमा ५० प्रतिशत अनुदान, घर बीमामा ५० प्रतिशत अनुदान, दलित एवम् विपन्न नागरिकको लागि एसइइ परीक्षापछिको तीन बर्षे प्राविधिक शिक्षामा छात्रबृत्ति र बाबुआमा गुमाएका २० जना बालबालिकाहरुलाई निःशुल्क आवासीय अध्ययनको व्यवस्था ।
उक्त निर्णय अहिले कार्यान्वयनकै चरणमा छन् । तर पालिकाले लिने अन्य नीति तथा कार्यक्रम भने गत बर्षकै दोहोरिएका छन् । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जनताको माग र आवश्यकताका आधारमा नीति तथा कार्यक्रम ल्याइएको बताए । “नीति तथा कार्यक्रम बजेटमार्फत कार्यान्वयन हुन्छ” उनले भने, “बजेटमार्फत नागरिकका समस्या समाधान गर्ने प्रयास गरिएको छ ।”
धुर्काेटमा के–के नीति तथा कार्यक्रम हुबहु आए ?
- कृषि पकेट क्षेत्र तथा कृषि जोन र व्लक निर्धारण गरी कृषिमा आधुनिकीकरण, यान्त्रीकीकरण र विविधकरण गरिनेछ ।
- कृषि पकेट क्षेत्र निर्धारण गरी सामुहिक खेतीलाई प्रोत्साहित गर्ने ।
- २५ रोपनीभन्दा बढी जग्गामा हरियो तरकारी उत्पादन गर्ने किसानका लागि तीन बर्षसम्म अनुदानको व्यवस्था गर्ने ।
- भूमी बैंक स्थापना गरी उत्पादनमा जोड दिने ।
- व्यवसायीक च्याउ खेतीलाई प्रोत्साहित गर्ने ।
- ‘एक बार–एक घुम्ती हाटबजार’ भन्ने नाराका साथ पालिकाको केन्द्र बर्बोटमा हाटबजार संचालनमा ल्याउने ।
- गाई, भैसीँ र बाख्रा पालनका लागि ठुला किसानलाई ५ बर्षे कार्ययोजनाका आधारमा तीन बर्षसम्म अनुदानको व्यवस्था गर्ने ।
- पशु बीमा वापतको किसानले बुझाउने प्रिमियम रकममा ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने ।
- दुई बर्षभित्रमा अण्डामा आत्मनिर्भर बनाउनका लागि कुखुरा पालन व्यवसायलाई विशेष जोड दिने ।
- घाँस खेतीलाई प्रवद्र्धन गर्ने ।
- सहकारीहरुद्धारा संचालन गरिने कृषि फर्मका लागि अनुदान उपलब्ध गराइने ।
- नेपाली काठ प्रयोग गरेको फर्निचर खरिदमा प्राथमिकता दिइने ।
- खनिजजन्य उद्योग, सम्भाव्यताको खोज अनुसन्धानका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्ने ।
- घरेलु तथा साना उद्योगका विकासमा प्रोत्साहन गरिने ।
- पुरातात्वीक सम्पदाहरुको संरक्षण गरिने ।
- विभिन्न कारणले बुबाआमा गुमाएका बालबालिकाहरुको लागि निःशुल्क आवासीय शिक्षा संचलन गरिने ।
- पालिकास्तरिय खेलकुद विकास समिति स्थापना गर्ने, अध्यक्षकप खेलकुद प्रतियोगिता संचालन गर्ने ।
- गर्भवतीको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने ।
प्रतिक्रिया थप्नुहोस्