१४ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्रीहरुको विदेश भ्रमणबारे कूटनीतिक निकाय बेखबर

बुटवल । प्रदेशका मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमणमा जान थालेका छन । कोही मुख्यमन्त्री गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन त कोही भगिनी सम्बन्ध कायम गर्न भन्दै आफूखुसी विदेश भ्रमणमा निस्किएका हुन । उनीहरूको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रमा बहस हुन थालेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग दुईपक्षीय वार्ता गरिरहँदा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल गान्सुको लान्झाओ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल सछुवान (सिचुवान) मा थिए । 

मुख्यमन्त्रीहरूले चिनियाँ अधिकारीसँग गरेको वार्ताबारे कूटनीतिक निकाय बेखबर छ । उनीहरूको भेटमा कूटनीतिक प्रतिनिधिको उपस्थिति पनि थिएन । बेइजिङस्थित दूतावासका अधिकारीले मुख्यमन्त्रीको भ्रमणबारे जानकारी भए पनि अन्य विषयमा अनभिज्ञता प्रकट गरे । उनीहरुको गतिविधि र भेटघाटलाई नेपाली दूतावासले ‘नोट’ गरेको छैन । साथै भगिनी सहर सम्बन्धमा साक्षी बस्न पनि दूतावासका अधिकारी गएका छैनन ।

सरकारले भ्रमणबारे जानकारी नराख्ने हो भने सबैले आफ्नै तरिकाले कूटनीति चलाए भइहाल्यो भन्दै परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले गम्भीर चासो देखाएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।  अन्नपूर्ण पोस्ट दैनिकमा चन्द्रशेखर अधिकारीले समाचार लेखेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्