हरिबोधिनी एकादशीमा रेसुङ्गामा पूजा गर्नेहरुको भीड

गुल्मी । हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको धार्मिकस्थल रेसुङ्गामा विशेष मेला एवम् पूजा गर्नेको भीड लागेको छ ।
नेपालकै चार धाम मध्येकै एक रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक विश्वास रहेको छ । आज विहानैदेखि गुल्मीलगायत छिमेकी जिल्लाका बिभिन्न स्थानबाट श्रद्धालुहरु भक्तजनको पूजा तथा स्नान गर्न भीड लागको छ ।
अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारको काम भइरहेको छ ।
रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यात्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् ।
धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ विभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् ।
रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।
यस मन्दिरमा दैनिक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडिको यात्रापछि यहाँ पुग्न सकिन्छ ।
रेसुङ्गाको मेलालाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएका छन् । हरीबोधनी एकादशी अवसरमा गुल्मी पाल्पा र स्याङ्गजाको संगम स्थल रिडीमा समेत धार्मिक मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया थप्नुहोस्