३ बैशाख २०८१, सोमबार

बागलुङकाे ताराखाेलामा सुरू भयाे परम्परागत ‘भुस पोल्ने पर्व’

बागलुङ । अर्गली मगरको पुस्तैनी ‘भुस पोल्ने पर्व’ बुधबारदेखि सुरु भएको छ । ताराखोला गाउँपालिका–२ मा बर्सेनि यो पर्व मनाइन्छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती सुरु गरेको सम्झनामा सो पर्व मनाउने प्रचलन छ । पन्धौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल गाउँमा आएका मगरहरूले पर्वको चलन बसालेको मानिन्छ ।

अर्गल खेलकुद विकास मञ्चका अनुसार आउँदो आइतबारसम्म विविध कार्यक्रमसहित पर्व मनाइनेछ । मञ्च परम्परागत भुस पोल्ने पर्वको संरक्षण र प्रवद्र्धनमा क्रियाशील छ ।मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले हरेक वर्ष कात्तिक २४ देखि २६ गतेसम्म मुख्यरूपमा पर्व मनाउने चलन रहेको बताए ।

मञ्चले यो वर्ष अघिल्लो दिनदेखि नै कार्यक्रम तय गरी पर्व मनाउन सुरु गरेको हो । मगर भाषा तथा संस्कृति सम्वद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले भुस पोल्ने पर्वलाई प्रकृति पूजाका रुपमा लिए । उनका अनुसार कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने काम हुन्छ ।

मकै बाली भित्राएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ । शङ्खुघरका मुल भाञ्जाले भुस पोल्ने चलन छ । उक्त दिनमा पनि शङ्खुबारीमा पूजाआजा हुन्छ । शङ्खुबारीमा उब्जेको जौ बाली शुङ्खु (मुल) घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ ।

गाउँको ज्येष्ठ व्यक्तिको घरलाई नै शङ्खुघर नामाकरण गर्ने गरिन्छ । पर्वको अर्को दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारको रुपमा बरखी (दुःख) उम्काउने चलन छ । २४ गते अघि जहिले मृत्यु भएको भएपनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ । २४ गते मृत्यु भएमा भने वर्ष भरिनै दुःख बार्नुपर्ने हुन्छ ।

घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाइ दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल र सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन छ ।

मृतकको परिवारबाट पनि सोही अनुसार मावली र माइतीघरमा पठाउने गर्छन् । त्यसरी पठाएको कोशेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा गर्ने चलन छ । भुस पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको समितिका सचिव घर्तीमगरले बताए । पर्वको मुख्य दिन २६ गते छापे खन्ने गरिन्छ ।

शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पूज्ने चलन छ । प्रकृतिका देउता ‘शङ्खु’ को प्रतिक स्वरुप मुल घर र बारीलाईसमेत शङ्खु भनेर चिनिन्छ । पूजाको विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन्, युवतीलाई डाक्छन् । युवतीहरु पनि कोदालोसहित शङ्खुबारी आउँछन् ।

पाका र विवाहितले अघिअघि बिउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् । मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन् र खेती लगाएको सन्देश दिन्छन् । छापे खनपछि २७ गतेदेखि यो वर्ष छोरा जन्मिएका घरमा पुत्र बढाइँ सुरु हुन्छ ।

पुत्र बढाइँमा गोपीचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन छ । बाह्र मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पाल्ने पर्व पनि लिएर आएको गाउँका अगुवा बताउँछन् ।पर्वका अवसरमा आयोजना गरिएको खुला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भइसकेको मञ्चले जनाएको छ ।

महिला भलिबल, सामूहिक लोकनृत्य, धनुषवाण, रस्साकस्सीलगायत प्रतियोगितात्मक खेल पनि आयोजना गरिएको छ । सांस्कृतिक नाच र झाँकी पनि प्रदर्शन गरिनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्