२६ बैशाख २०८१, बुधबार

घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार अभियान शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न नसक्ने, शारीरिक हिसाबले कमजोर हुने कारणले घरमै पुगेर उपचार गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।

घरमै आएर गाउँपालिकाले स्वास्थ्य जाँच तथा उपचार गरेपछि गाउँपालिका–३ का लक्ष्मीप्रसाद तिमिल्सेनाले भने, “गाउँमै सिंहदरबार आउँछ भन्थे, हो रैछ, स्थानीय सरकारले यस्तो अभियान ल्याउलाजस्तो लागेको थिएन, गाउँपालिकाले छोराछोरीले झैँ उपचार गरिदियो ।”

गाउँपालिकाभरिका करीब ३०० हाराहारीमा रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उपचार सेवा दिने गाउँपालिकाको योजना छ । गाउँपालिकाभरिका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई परिचालन गरेर परीक्षण गरिएको र आवश्यकताअनुसार औषधि वितरण गरिएको छ । ज्येष्ठ नागरिकलाई च्यवनप्राशसमेत वितरण गरिएको छ ।

पहिलो दिनमा वडा नं ३ का ७१ वृद्धवृद्धालाई उपचार सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले जानकारी दिए । छ स्वास्थ्यकर्मीको टोली स्वास्थ्य परीक्षणमा खटाएको गाउँपालिकाले जनाएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्