७ असोज २०८०, आइतबार

पौंदेलीहरुले मनाए न्वागी

बागलुङ । १७ औं शताब्दीदेखि पश्चिम बागलुङको खारमा मनाईदैँ आएको न्वागी यस वर्ष पनि शुभ साईतमै न्वागी खाएर मनाईएको छ । 

मंसिर १ गते निकालिएको शुभ साईत अनुसार आज विहान ९ बजेर ३१ मिनेटमा उत्तरदिशा फर्केर न्वागी खाइएको बडिगाड गाउँपालिका–५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जनाकारी दिए ।

गलकोट र पर्वत राज्यको सहयोगमा इस्मा राज्यले जुम्ला राज्यकोे विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनैतिक महत्वको रहेकोे र यसै खुसियालीमा न्वागी पर्व मनाउन थालिएको खौलारका स्थानीय कलाधर घिमिरेले सुनाए ।

उनले भने, “बागलुङको ग्वालिचौर, गुल्मीको अरेवा, अमराई लगाएत पौंदीबासीको खेतमा धान पाकेपछि कार्तिको पहिलो हप्ता मुसिकोटको छत्रकोटका पुजारी, स्थानिय र जनप्रतिनिधिको रोहवरमा मुठि लिने (धान काट्ने) र न्वागि खाने मिति हेराईने चलन रहको छ ।” 

यस वर्षको मुठिलिने (धान काट्ने) दिन भने गत कार्तिक १३ गते परेको थियो भने न्वागी खाने दिन आज परेको उनले बताए । तर न्वागी खाने समय र कुन दिशातर्फ फर्केर खाने भनेर भने मंसिर महिना लागेपछि मात्र तोक्ने चलन रहेको घिमिरेले बताए ।

“कार्तिक पहिलो हप्ता सबैसंगबाट मुठिलिई धान काटेर स्याहार्ने र नयाँ चामलमा दहि, चामल तिल केरा सिलाम र मह मिसाएर खाने चलन छ” घिमिरेले भने, “न्वागीलाई घर घरमा होमन गरेपछि थानपति, छत्रभुमि, सिद्धका नाममा देवतालाई चढाई मंसिरको पहिलो हप्ताभित्र खाने चलन छ ।”

कसरी खाईन्छ न्वागी ?

स्थानीयका अनुसार यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाइ खेत भएका र नभएका दुवैले खाने प्रचलन छ ।

खेत भएकाहरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन भने आफना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन छ । परापूर्व कालमा स्थानीयहरुले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई अहिले भने आधुनिकताले छोपेको बुढापाकाहरुको गुनासो छ ।

न्वागीको ईतिहास

संस्कृति, संस्कार तथा मुल्य मान्यताको चिनारी र पहिचान दिने प्रचलित कला, मेला, जात्रा, पर्व, हाम्रा अमुल्य सम्पति हुन । जसमा पुर्खाको केहि न केहि जीवनगाथा समेटिएको हुन्छ । विसं. १७३४ सालदेखि बागलुङ पश्चिमको बडिगाड ५, खारमा यस्तै एक पर्व मनाइन्छ । जहाँ पुर्खाको योगदान, सहयोगि भवना र स्थानियको खुसी समेटिएको छ ।

१२ औं शताब्दीमा स्थापित खस राज्य मल्लकालीन समय अर्थात १५ औं शताब्दीतिर टुक्रिन पुग्यो । जसबाट बनेका बाइसी र चौवीसी राज्य मध्ये इस्मा र मुसिकोट राज्यको भु–भागको रुपमा बागलुङका दगातुम्डाँडा, जलजला, पाण्डवखानीका केही भाग गुल्मीको इजरा क्षेत्रमा प¥यो भने दगाको केहि क्षेत्र मुसिकोटको मौजा समेत रहेको ईतिहास छ । 

सोहि ईतिहाससंग जोडिएको पौदीँ क्षेत्रको आफ्नो छुट्टै ईतिहास रहेको छ । बागलुङको साबिक जलजला, ग्वालीचौर र गुल्मीको पौदीअमराई गाविसलाई पौदीं क्षेत्र भनिन्छ । यस क्षेत्रमा मगरहरुको उल्लेख्य बस्ती रहेको र उनीहरुकै खाम भाषामा ‘पोम’ भनेको हिमालय शिखर वा उच्च टाकुरा र डि भनेको पानी भन्ने हुन्छ । 

अर्थात उच्च टाकुराबाट बग्ने नदि भन्ने अर्थमा सो क्षेत्रलाई पौडी भनिएको हो जुन शब्द पछि अपभ्रंश भएर पौंदी बन्न गएको बडिगाड–५ का स्थानिय कृष्ण बहादुर घिमिरेले बताए । उनले भने, “रुद्रतालबाट बगेको बडिगाड खोला र मदाने लेकबाट बगेको निस्ती खोलाको तटिय क्षेत्रलाई नै पौंदी क्षेत्र मानिएको ईतिहास गुल्मी दरबारको लिपिमा समेत रहेको छ ।” 

विसं. २००७ साल भन्दा पूर्व ८० कुरिया पौंदी क्षेत्र भनेर चिनिने ग्वाचिलौर, अरेवा, अमराई, थाम आदि क्षेत्र र उक्त समयकालमै पाल्पा हुँदै नेवार समुदायले ग्वालीचौरको खारबजारमा व्यापार गर्न थालेको पनि ईतिहास रहेको छ । 

निवार्चनले मेला स¥यो

हरेक वर्ष न्वागी खाने दिनको अवसरमा यस क्षेत्रमा भव्य मेला लाग्ने गर्छ । कोरोना महामारीले दुई वर्ष यहाँ मेला लागेन ।

यो वर्ष प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनका कारण आजबाट सुरु हुने भनिएको मेला केही दिन पछि (मंसिर १०) सारिएको पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्