१४ बैशाख २०८१, शुक्रबार

अग्लुङ्गका महिलाहरुलाई सशक्तिकरण र सीप विकास तालिम 

गुल्मी । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका महिलाहरुलाई सशक्तिकरण तथा सीप विकास तालिम प्रदान गरिएको छ । गाउँपालिकाका वार्षिक कार्यक्रम अन्तरगत दुई दिने तालिम प्रदान गरिएको हो । 

तालिममा संविधानमा महिला अधिकार, नयाँ मुलुकी संहिता, नेतृत्व विकास, आधारभुत उद्घोषण, सकारात्मक सोच, गाउँपालिकामा महिलाहरुको स्थिती र योजनाहरुलगायतका विषयमा जानकारी दिइएको थियो । तालिमको गाउँपालिका उपप्रमुख सरिता खड्का, महिला मानव अधिकार रक्षक संजालकी जिल्ला अध्यक्ष हिरा कुवंर, नेपाल पत्रकार महासंघका सचिव टोपलाल अर्याललगायतले सहजीकरण गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपप्रमुख खड्काले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रह गरिन् । उनले महिला क्षेत्रमा अरु धेरै सीप र उद्यमका कार्यक्रम सञ्चालन गरेपनि चेतना विनाको उपलब्धी सार्थक नभएकाले यो तालिमको आयोजना गरेको बताइन् । महिलाहरुको उत्साह र सहयोग विना आफुले गाउँपालिकामा योजना माग गर्न र कार्यक्रम सञ्चालन गर्न गाह्रो हुने भएकाले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् । 

त्यस्तै वडाध्याक्ष प्रेम चन्द बोहोराले महिलाहरु सीप विकास भनेर मुडा बुनाई र सिलाईकटाई मात्रै नभनेर सशक्तिकरण सहितको आर्थिक समृद्धी तर्फ जोड दिन आग्रह गरे । उनले तालिमहरुलाई समय कटाउने माध्यममात्रै ठानेकाले व्यवसायीक बन्ने महिलाहरुको संख्या अत्यन्तै कम रहेको बताए । 

त्यस्तै सहभागीको तर्फबाट बोल्दै दुर्गा विकले महिलाहरुलाई अझै पनि घरबाट बाहिर ल्याउन गाह्रो रहेको अनुभव सुनाइन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्