१४ बैशाख २०८१, शुक्रबार

बन्यो नयाँ व्यवस्थित तरकारी बजार

दाङ । बजारका सडक छेउछाउमा तरकारीको अस्तव्यस्त व्यापार हुन थालेपछि त्यसलाई व्यवस्थित गर्न घोराहीमा फेरि अर्को तरकारी बजार बनेको छ । घोराहीको वडा नं १४ नयाँबजारमा विगत १५ वर्षदेखि तरकारी हाटबजार सञ्चालनमा छ । तर बजार, जनसङ्ख्या र उपभोक्ताको माग बढ्दै जादाँ एउटा मात्र तरकारी बजारले धान्न नसकेपछि अर्को तरकारी बजार बन्न थालेको हो । 

बजारको चोक र गल्लीमा हुने तरकारी र फलफूलको व्यापारलाई व्यवस्थित पार्न अर्को तरकारी बजार निर्माण अन्तिम चरणमा पुगेको छ । घोराहीको घरेलु तथा साना शिल्पकला उद्योगको करीब एक बिघा सरकारी जग्गामा उक्त कृषि हाटबजार निर्माण भएको हो । सङ्घीय सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत आएको रु ५० लाख र घोराही उपमहानगरपालिकाको करीब रु आठ लाखमा कृषि हाटबजार बन्न लागेको हो । 

घोराही उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठका अनुसार उपमहानगरको आफ्नै जग्गा नभएको कारण अस्थायीरूपमा टिन, फलाम र केही कङ्क्रिटका टहरा बनाइएको छ । कृषि हाटबजार निर्माणको रेखदेख गरिरहेका इञ्जिनियर श्रेष्ठले अहिले खुला आकाशमुनि बसेर तरकारीको व्यापार गरिरहेकालाई व्यवस्थित गर्ने प्रयास मात्र गरेको बताए । “अहिले करीब रु ५८ लाख बजेट थियो । त्यसले सबै संरचना निर्माण गर्न पुगेन”, उनले भने, “आगामी वर्ष पनि बजेट आयो भने यसलाई थप व्यवस्थित गरिनेछ ।” 

उनका अनुसार तरकारी हाटबजारमा अझै धेरै निर्माण सामग्री बन्न बाँकी रहेको छ । पछिल्लो चरणमा तारबार, घामपानीबाट रोक्ने घर, सार्वजनिक शौचालय, कार्यालयलगायतका निर्माणको काम मात्र हुन लागेको छ । 

कृषि हाटबजार निर्माण समितिका अध्यक्ष केशव ढकाल निर्माणपछि यसको सम्पूर्ण जिम्मा उपमहानगरपालिका अन्तर्गत वडा नं १५ र टोल विकास संस्थाले लिने बताए । हाटबजारमा पश्चिमतर्फ २० र दक्षिणतर्फ १७ गरी ३७ तरकारीका स्टल निर्माण भएका छन । त्यसको प्रमाणित हुन र केही संरचना बनिरहेको हुँदा त्यहाँबाट तरकारीको व्यापार हुन केही समय लाग्ने उनले बताए ।

अहिले त्यहाँ खुला आकाशमा तरकारी बेचिरहेकाहरुले दैनिक रु ३० तिर्दै आइरहेका छन भने ढकियामा रु दुई÷चार सयको तरकारी बेच्नेले पनि पैसा तिर्नुपरिरहेको छ । तरकारी बजारमा कर्मचारी राख्ने, सरसफाइ गर्नेलगायतका काम भने वडा नं १५ को अमृत टोल विकास संस्थाले गरिरहेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्