१५ बैशाख २०८१, शनिबार

मतदाता रिझाउँन उम्मेदवारहरुको रस्साकसी

बाँके । विसं २०७४ को स्थानीय निकायको निर्वाचनमा कोहलपुर नगरपालिका–६ का मतदाताले निर्वाचित जनप्रतिनिधि गुमाए । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै खुशी भएका वडावासीलाई निर्वाचित वडाध्यक्ष गुमाएपछि वडाबाट प्राप्त गर्ने सेवा सुविधा लिन झमेला भइरह्यो । वडाध्यक्षको निधनपछि आगामी मङ्सिर १४ गते सो वडामा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनको समयमा नजिकिँदै गर्दा जनप्रतिनिधिको रिक्ततालाई आफ्नो पक्षमा पार्न राजनीतिक दल र तीनका उम्मेदवार वडाका टोलटोलमा पुग्न थालेका छन । वडा नं ६ मा तीन ठूला दल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै नेपाल मजदूर किसान पार्टी तथा समाजवादी पार्टीले मतदाता रिझाउन विभिन्न कार्यक्रम लिएर चुनावी चहलपहल बढाइरहेका छन ।

विसं २०७५ मंसिर ९ गते वडाध्यक्ष रामसोहन थारुको निधनपछि रिक्त पदका लागि सो वडामा हुन लागेको उपनिर्वाचनमा विभिन्न कार्यक्रम गर्दै उम्मेदवारले मतदातालाई रिझाउने प्रयास गरिरहेका छन । मतदातालाई आफ्नो पकडमा पार्न राजनीतिक दल भेला, अन्तरक्रिया र प्रचारमा जुटेका छन । दलका सम्पर्क कार्यालयमा नेता तथा कार्यकर्ताको भीड छ ।

सत्तारुढ पार्टी र सबैभन्दा ठूलो दल भएकाले नेकपाले तामझामसहित सक्रियता देखाइरहेको छ । “सबै भ्रातृ तथा शुभेच्छुक सङ्गठनलाई सबै तहसम्म पु¥याउन र जनमत नेकपाका पक्षमा ल्याउन खटिइरहेका छौँ” नेकपा नगर कमिटीकी अध्यक्ष वसन्ती अधिकारीले भन्नुभयो भनिन, “हामीले टोलटोल, गाउँगाउँसम्म कार्यक्रम गरिरहेका छौँ ।”

घरदैलो अभियानसँगै नेपाली कांग्रेसले पनि प्रचारका कार्यक्रमलाई तीव्रता दिइरहेको नगर सभापति बलराम शर्माले बताए । “विगतमा पनि हामीले नै जितेका हौँ” उनले भने, “यसपटक पनि हामी निर्वाचनलाई आफ्नो पक्षमा पार्छौँ, हाम्रो जीत निश्चित छ ।” कांग्रेसले पनि मतदातालाई रिझाउन टोलटोलमा चुनावी गतिविधिलाई तीव्रता दिएको छ ।

नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने तथा त्यही बीचबाट आफ्नो जित निकाल्ने दाउमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी अभियानलाई तीव्र बनाएको राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले बताए । जिल्लामै एउटा मात्र वडामा उपनिर्वाचन हुन लागेकाले सबै दलको ध्यान उक्त वडामै गएको छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थारु समुदायबाट उम्मेदवार उठाएका छन भने राप्रपाले पहाडी समुदायबाट उम्मेदवार छनोट गरेको छ ।

थारु मतदाता धेरै रहेको सो वडा भएकाले दुई ठूला दलले थारु समुदायबाट उम्मेदवार बनाउँदा थारु समुदायको मत विभाजन हुने र त्यसको फाइदा राप्रपालाई हुने अनुमान पनि गरिएको छ । तीन ठूला दलसँगै नेपाल मजदूर किसान पार्टी र समाजवादी पार्टीले पनि चुनावी अभियान चलाइरहेका छन ।

सो वडामा नेकपाबाट रामशरण थारु, नेपाली कांग्रेसबाट श्रीकृष्ण थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदी, नेपाल मजदूर किसान पार्टीबाट दीपालक्ष्मी हमाल र समाजवादी पार्टीबाट शुभाखर पोख्रेल चुनावी मैदानमा छन । सो वडामा अहिले दुई हजार २६ मतदाता छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्