२७ बैशाख २०८१, बिहीबार

सेतो बस्त्रमा कलिलो अनुहार !

अभिभावकविहिन कार्की गाउँ

गुल्मी । गुजुप्पको बस्ती । इस्मा गाउँपालिका ४ को पैयाँपाटा । दुई घर बाहेक सबै कार्की । तीन बर्षमा एक पटक आउने कुलपुजाले सबै परिवार खुसी थिए । देश परदेशबाट आएका  अभिभावक र छोराछोरीले कार्की गाउँको उमङ्ग फरक नहुने कुरै भएन । समुदाय अनुसारको कुल पुजा ठुलो पर्वनै भएकाले स्वभाविक पनि थियो । दुर्भाग्य त्यो खुसी धेरै दिन टिकेन् । 

मंसिर १७ गते कुलपुजाकै लागि हिडेका कार्की परिवार चढेको जीप बाग्लुङको बडिगाड गाउँपालिका ७ मा दुर्घटनामा प¥यो । दुर्घटनामा एउटै गाउँका १६ जनाले ज्यान गुमाए । दुई जना उपचारको लागि काठमाडौं छन् । अहिले कार्की गाउँका अधिकांश घर शोकमा छन् । केही घरमा दुई/तीन जना नै दुर्घटनामा परेका छन् । जसका कारण सहयोग गर्ने मान्छेसम्म गाउँमा नभएको सोही गाउँका बद्री कार्कीले बताए । ‘एक परिवारको दुःख जस्तो भएन, गाउँ नै शोकमा छ’ उनले धरातल अनलाईनसँग भने, ‘बाँकी रहेका घरहरुले मात्रै सहयोग गर्न मुस्किल परेको छ ।’

बल्लबल्ल अडिएको कच्ची घर । देख्दै अप्ठ्यारो । सेतो बस्त्रमा कलिलो अनुहार । ढोक्कै छेउमा टुसुक्क बसेकी १६ बर्षीया इशा कार्की । आमा ४२ बर्षीया सिता र दुई बर्षीया बहिनी अनुष्काले सडक दुर्घटनामा ज्यान गुमाए । किरिया कर्म इशाको काँधमा छ । उनी मंसिर १९ बाट आमाको किरिया बसेकी छन् । बुवा प्रेम कार्की मजदुरीको लागि भारतमा थिए । दुर्घटनाको खबर सोहि दिननै थाहा पाए । पत्नी र छोरी गुमाएका कार्की बिक्षिप्त छन् । उनी १८ गते साँझ घर फर्किए ।

पत्नी सिताले मेलापातबाटै घर धानेकी थिईन् । प्रेम भारतमा काम गर्थे । अब बावुछोरी मात्रै घरमा भए । ‘साना छोराछोरी छोडेर कसरी फर्कर्ने, काम नगरे उपाय छैन’ आँसु पुच्छदै कार्कीले भने, ‘दैवले बिचल्ली पा¥यो ।’ इशा कक्षा सातमा पढ्छिन् । १० बर्षीया बहिनी पुजा कक्षा दुईमा पढ्छिन् । अर्धबार्षिक परिक्षा सञ्चालन भइरहेकै बेला दुर्घटना भयो । अहिले दुवै बहिनी नै परिक्षा दिनबाट बञ्चित भएका छन् ।

बुवा चन्द्रदिप बस्नेत परदेश । आमा मिनाको दुर्घटनामा ज्यान गयो । छुट्टिएर बसेको परिवारमा १३ बर्षीया सुनिल र नौ बर्षकी बहिनी रबिना मात्रै भए । दाजुबहिनीकै अर्धबार्षिक परिक्षा थियो । परिक्षा राम्रो गर्न भन्दै हिडेकी आमा फर्किनन् । परिक्षा र आमा दुवैबाट बञ्चित भएकाले सुनिलसंगै नौ बर्षीया बहिनी रबिना बस्नेत पीडामा छन् । त्यहि माथी सानो उमेरमै आमाको काज किरियाले सुनिललाई थप पीडित बनाएको छ । 

‘सानो मान्छे आमाको शोकले आफै पीडामा छ, त्यसैमाथी काज किरिया र चिसोले थला पर्ने भो’ हजुर बुवा लाल बहादुर बस्नेतले भने, ‘जस्तो पनि भोग्नु पर्ने रहेछ ।’ मौसम चिसो र सानो मान्छे भएकाले खानपानका कारण स्वास्थ्यमा समेत समस्या परेको बस्नेतले बताए । सोहि गाउँकै भुमि कार्कीले पनि दुर्घटनामा ज्यान गुमाईन् । 

घरमा पति तिलबहादुर र १६ बर्षीय छोरा बिष्णु कार्की थिए । आफु बिरामी, त्यो माथी सानो छोराले किरिया गर्नुपर्ने भएकाले थप पीडा भएको तिल बहादुर कार्कीले बताए । उनले आमा नभएको पीडा त्यसैमाथी परिक्षा दिन नपाउँदा छोरा बिष्णु थप चिन्तित बनेको बताए । स्वास्थ्यमा समेत समस्या देखिएको छ ।
 
सोहि गाउँका महेन्द्र कार्कीले पनि दुर्घटनामा ज्यान गुमाए । छोरा १७ बर्षीय मेघराज र १३ बर्षीय प्रेम कार्कीले बुबाको किरिया थालेका छन् । महेन्द्र २० बर्षमा कुल पुजाकै लागि भारतबाट गाउँ आएका थिए । उनी भारतमा नशारोग बिशेषज्ञ डाक्टरका असिस्टेण्ड थिए । राम्रो कमाई भएकाले दुई छोराले राम्रोसंग पढेका पनि थिए । सानो परिवार खुसी थियो ।

‘नियतीले खुसी सहेन त्यसैले बज्र्रपात प¥यो’ महेन्द्रका बुवा झवि कार्कीले दुःख व्यक्त गरे, ‘खाउँ–खाउँ, लाउँ–लाउँ भन्ने उमेरमा परिवार बिचल्लीमा परे ।’ सोहि दिन दुर्घटनाको खबर पाएकी पत्नी जमुना कार्की छोराहरु लिएर १८ गते गाउँ फर्किएकी छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्