१४ बैशाख २०८१, शुक्रबार

छोरीलाई मोटरसाइकलले ठक्कर दिएको झोकमा कुटिए चालक 

गुल्मी । छोरीलाई मोटरसाइकलले ठक्कर दिएको आवेगमा बुवाको कुटपिटबाट गुल्मीमा एक युवा घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा व्यवसाय गर्दै आएका रेसुङ्गा नगरपालिका ४ का ३२ वर्षिय रेमलाल बस्याल कुटपिटबाट घाइते भएका हुन् ।

बस्यालको लु ३३ प ५३९९ नम्बर मोटरसाइकलले तम्घासको मिलनचोकमा ठक्कर दिँदा इस्मा गाउँपालिका ४ ढाडाकी  ७ वर्षीय सफलता जिसी सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

तम्घासको मिलनचोकमा मोटरसाइकलले ठक्कर दिएर घाइते बालिकालाई चालकले उपचारमा लैजान खोज्दै गरेको अबस्थामा वालिकाका बुवा अन्दाजी २९ वर्षिय शिवलाल जिसीले बस्याललाई कुटपिट गरेर घाइते बनाएको बताइएको छ । 

कुटपिटबाट बस्यालको मुखमा चोट लागेको छ । घाइते बस्यालको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते वालिकाको अबस्था भने सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जानकारी दिएको छ । बालिकाको गुल्मी अस्पतालमा समान्य उपचारपछि घर फर्किएकी छन् । कुटपिट गर्ने जिसीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । घटनाबारे दुवै पक्षलाई राखेर छलफल गराइने प्रहरी नायव उपरिक्षक घलेले बताए । 

कुटपिट गर्ने जिसी स्याङजा जिल्ला प्रहरी कार्यालयमा प्रहरी जवानका रुपमा कार्यरत रहेको श्रोतले बताएको छ । उनी बिदामा घरमा आएका थिए । बस्नेतका आफन्तले कुटपिट गर्ने जिसीलाई कारवाहीको माग गरेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्