१४ बैशाख २०८१, शुक्रबार

गुल्मीमा रोजगारीको लहर : मालिका गाउँपालिकाले दियो १२६ जनालाई रोजगार

गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरूवात गरेको छ । शुक्रबार मालिका गाउँपालिकाले विभिन्न विधामा एक सय २६ जनालाई नियुक्ति पत्र दिएर कार्यक्रमको सुरुवात गरेको हो । 

मालिका गाउँपालिका प्रमुख रित वहादुर थापाले नियुक्त पत्र दिदै कार्यक्रमको सुरुवात गरेका हुन् । नियुक्ती पत्र प्रदान गर्दै गाउँपालिका प्रमुख थापाले काममा अनुशासन र विश्वासनीयता प्रदान गर्न सवैलाई अनुरोध गरे । ‘पहिले काम पाइएन भन्ने, काम पाए ठग्ने प्रवृति रहेको छ’ उनले भने, ‘आ–आफ्नो क्षेत्रबाट कर्तव्य पालना गरौँ ।’

मालिका गाउँपालिकाभित्र बेरोजगारको सुचिमा दुई हजार एक सय ४६ जना रहेका थिए । त्यस मध्येबाट अति निम्न गरिबहरुलाई छानेर अहिले ४९ महिला र ७७ पुरष गरी १ सय  २६ जनालाई रोजगारी दिइएको मालिका गाउँपालिका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । गाउँपालिकाले कामको बिधामा संख्या नै नछुट्टाए पनि मोटरबाटो मर्मत, घोरेटो बाटो मर्मत, खानेपानी मर्मत, सिँचाइ ब्यवस्थापनमा काम लगाउने जनाएको छ । त्यस्तै गाउँपालिका भित्रका विद्यालयमा पुगेर त्यहाँको भौतिक संरचनालाई ब्यबस्थापन गर्ने काम विभाजन गरिएको छ । 

गाउँपालिकाको वडा नं १ बाट ११ जना, वडा नं २ बाट २८, वडा नं ३ बाट नौ, वडा नं ४ बाट १२, वडा नं ५ बाट १६, वडा नं ६ बाट १८, वडा नं ७ बाट २० र वडा नं ८ बाट १२ जनाले रोजगारी पाएका छन् । फाराम भरेका सवैलाई यो बर्ष व्यावस्थान गर्न मुस्किल परेकाले आगामी बर्षमा समेट्दै लैजाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भटराईले बताए । 

गाउँपालिकाले रोजगारी दिँदा स्थानीय खुसी भएका छन् । सवै जनाले प्रतिदिन ५ सय १७ रुपैयाँका दरले गाउँपालिकाबाट पारिश्रमिक पाउनेछन् । गाउँपालिकाले दिएको रोजगारमा महिला पुरुषको बराबर तलव हुने भएपछि महिलाहरु पनि निकै हर्षित बनेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्