सत्तापक्ष दलले कायरता देखाए : प्रदीप ज्ञवाली
गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले एमालेसँग एक्लै लडने तागत कसैमा नभएको बताएका छन् । उनले सत्तारुढ दलहरुको गठबन्धनलाई कायरताको संज्ञा दिए ।
जिल्ला सदरमुकाम तम्घासमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले बलियो पार्टी भएकाले छ दलले मोर्चाबनदी गरेर चुनावी मैदानमा उत्रिएको बताए । उनले भने, “गठबन्धनका नाममा शेरबहादुर प्रचण्ड यति मिल्नु भएको छ । कांग्रेस भनेको माओवादी र माओवादी भनेकै कांग्रेस, चिसो भनेकै कोका कोला भनेजस्तै । यति बिग्न मिल्नु थियो भने ०५२ सालमा हतियार किन उठाएको ?”
ज्ञवालीले ०५२ सालमा मर्ने मार्ने खेल किन शुरु गरेको भनेर गठबन्धनका नेताले जवाफ दिनुपर्ने बताए । उनले भने, “त्यतिबेला पनि प्रधानमन्त्री शेरबहादुर र पार्टी प्रमुख प्रचण्ड भएकाले माग पनि ४० बुँदे थियो । अहिले क्याबिनेट ५ जना मन्त्री हुनुहुन्छ क्यारे, चार पाँच जना मन्त्री दिएपछि त देशको युद्ध रोकिने रहेछ नि त ।”
एमाले उपमहासचिव समेत रहेको ज्ञवालीले थपे, “के कारणले १७ हजार मान्छे मर्ने गरि युद्ध शुरु गर्नुभयो जवाफ दिनु पर्दैन ? युद्ध गर्नेहरु अंकमाल कसरी गरिरहनुभएको छ ? कि युद्ध सत्य हो भने आजको मेलमिलाप असत्य हो, कि आजको मेलमिलाप सत्य हो भने हिजको युद्ध गलत हो ?”
यो अवसरवादी गठबन्धन बाहेक अरु केही नभएको टिप्पणी गर्दै ज्ञवालीले भने, “गठबन्धनमा चुनाव जितेमा को प्रधानमन्त्री बन्ने भन्ने अझै पनि अन्योल छ ।” देशभरि नै नेकपा एमाले प्रति जनलहर र आकर्षण वढिरहेको बताउँदै चुनावपछि एमालेको सरकार बन्ने दाबी गरे ।
गठबन्धनको सरकार बनेमा देशमा फेरि अस्थिरता महङ्गी, कालो बजारी बढने कुरा जनताले बुझि सकेकोले जनताले एमालेलाई मत दिने निश्चित भएको उनले बताए ।
प्रतिक्रिया थप्नुहोस्