‘पश्चिम बागलुङको विकासका लागि यही भुगोलका उम्मेदवारले जित्नुपर्छ’
बागलुङ । बागलुङ–२ मा नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेकी मञ्जु शर्मा चालिसेले पश्चिम बागलुङको विकासका लागि यही भुगोलका उम्मेदवारले जित्नुपर्ने बताएकी छन् ।
जिल्लाको बडिगाड गाउँपालिका–२ दनियामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन्, “भौगोलिक विकट यस क्षेत्रको उम्मेदवार नेतृत्व गर्ने ठाँउमा नहुँदा पछाडि प¥यो । त्यसैले यही खाए–खेलेको र यहाँको भौगोलिक अवस्था र समस्याको ज्ञान भएको मान्छेले जित्नुपर्छ ।”
शर्माले आफु निवार्चित भए यस क्षेत्रको विकासको लागि सडक, स्वास्थ्य र शिक्षासंगै पर्यटन, सीप विकास र रोजगारीको क्षेत्रमा पनि काम गर्ने बताईन् ।
यस्तै एमालेको सर्मथन पाएका प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तिले आफुले पालिकाको नेतृत्व गरेकाले कुन योजनाको लागि कहाँ कसरी समन्वय गर्ने भनेर आफु जानकार रहेको सुनाए । उनले चुनाव हारे पनि, जिते पनि जनताको बीचमा रहेर नागरिकका समस्या समाधानका लागि पहल गर्ने बताए ।
प्रतिनिधि समानुपातिक उम्मेदवार बाबुराम नेपाली र प्रदेश सभाका समानुपातिक उम्मेदवार बिना कुमारी थापाले नैतिक रुपमा गठबन्धन पराजित भएको बताउँदै एमाले जित सुनिश्चित भईसकेको दाबी गरे ।
नेकपा (एमाले) का जिल्ला सचिव विष्णु भुसालले गठबन्धनका उम्मेदवार तर्फ संकेत गर्दै विजयी बनेर नेतृत्व तहमा पुग्दैमा विकास नहुने बताए । उनले विकासका काम गरेँ भनेर जनतामा भ्रम नछोड्न चेतावनी दिए ।
“दनियाँको विद्यालयको कुरा होस या बडिगाड खोलाको तटबन्ध, खर्वाङ सिसाखानी मोटरबाटो अथवा अन्य कुनै आयोजना कस्सको पहलमा भएको हो बुझने अधिकार मतदातालाई छ” उनले भने, “यस क्षेत्रमा परेको योजना अन्यत्र पार्नेले यो क्षेत्रमा योजना पारे भन्नु लजास्पद छ ।”
प्रतिक्रिया थप्नुहोस्