२७ बैशाख २०८१, बिहीबार

आत्मबोध : एक न्यायिक कानुन !

सही के हो र गलत के हो ? असल के हो र खराब के हो ? सबैभन्दा जटिल प्रश्न अनि त्यही प्रश्नले मागेको उत्तरको खोजी गर्दा नसकिएका सास्ती प्राय अन्योलमा होलान् । आफैले आफैलाई बुझ्न सक्नु, जान्न सक्नु यस्ता अनौठौ खोज आफैमा एउटा अनुसन्धानात्मक कार्य होला अथवा आत्मबोधको ऐना होला ।
 
हामी समाजका सभ्य नागरिक, अरुलाई देखाउनको लागि मात्र हैन साँच्चै आफ्नै आत्माले बोध गर्ने गरेर बन्न  सकिदैन र ? “म” पात्र र “उ” पात्रको युद्दबिराम पछि मात्र “हामी” पात्रको कोमलयुक्त  परिभाषाको पार्दुभाव हुन्छ । सुन्दैमा अनौठो, रम्न सकिने, आनन्द लिन सकिने, सिकिने माहोल अनि सिकाउन सकिने माहोल “हामी” भन्ने पात्र बाटै हुने हो, होइन र ? कहिले सम्म “म” पात्र र “उ”  पात्रको घमण्डमा एक अर्कालाई घमण्डी ठहराउने र आफुले आफैलाई मात्र स्वाभिमानका परिभाषा दिएर अरुलाई चाहिँ खाल्टोमा पारिरहने ? 

सुन्दैमा टुक्रने अनि कहाली लाग्दो  अनुभूति लाग्ने एकल अवस्थाका “म” र “उ” पात्रलाई के मिलाउन साच्चिकै सकिदैन र ? यी पात्रलाई मिलाएर सुशासनको बाटोमा भविष्यका आकुराहरु उमार्न सकिदैन र ? यवम रितले समृद्दिको लागि चहकिलो दियो बलेझै  प्रकाश छर्न के दक्षता खुबी  र ज्ञानको कुञ्ज  हुँदाहुँदै पनि अदृश्य दाईजो भेटी चढाउनु पर्ने नै हो र ? 

कोही गरिब यति विघ्न पनि छैन कि उसले खुशी र सन्तुष्ट लिन नपाओस । र कोही धनी यति विघ्न पनि छैन कि उसले सादा जीबनमा उत्कृष्टतता किन्न सकोस् ।

नमागी नमागी मागिएको अदृश्य दाईजो भेटी चढाउन नसकेकै कारण आफ्नो सङ्लो कर्तव्य, एकाग्रता,  पबित्रताका परिभाषामा नसा चढे झै अरुका झुटा व्याख्यालाई हैन भन्न पनि नपाउने गरि मोडिनु पर्ने नै हो र ?

शान्त, रिस, खुशी, माया, घृणा, घमण्ड, सद्भावना जस्ता मनोभाव सबैमा हुन्छ । कुनै एक मात्र सधै शान्त, ज्ञानी  हुँदैन । सबै मनोभाव प्राय सबैमा हुन्छ, कुन मनोभाव को अधिपत्यले व्यक्तिमाथि विजयगाथा चुम्न सफल भयो भन्ने कुरा न हो । ऊ माथि दिएका वातावरणले मनोभावका सृजनालाई खेलाउने फुलाउने र मगमगाउने नै न हो आखिर ।

मन्दिरको स्थापना गरेझै गरि अनि त्यही मन्दिरमा  आश्रय लिन गएका माथि विश्रामको  मूल्य खोज्नेलाई कसरी जवाफ  दिने त ? अर्कोतिर झुपडीमा गई पाहुना बनेर दुःखीको आशु पुछिदिनेले कहिलेसम्म अरुको गलत प्रहारको कारण आफुले आफैलाई दुःखी बनाएर बस्ने त ?

हरबखत जीवन जगतको अबिरल छहारीमा “हामी” पात्रले जिउने कलालाई सर्बोत्कृष्ट बनाउन सक्छौ । “म” र “उ” पात्रले एक अर्कोलाई दोहोन गर्यो भने त जीवनकलाको रुप नै कुरुप बनिदिन्छ । सामाजिक, भावनात्मक, शारीरिक, न्यायिक कुरामा दोहोन गरेर टुक्राइएका बिशिष्टतालाई लगाईदिएको मालाले कहिलेसम्म कुन बेलासम्म खुशी प्राप्त  गर्ला ? 

कोही गरिब यति विघ्न पनि छैन कि उसले खुशी र सन्तुष्ट लिन नपाओस । र कोही धनी यति विघ्न पनि छैन कि उसले सादा जीबनमा उत्कृष्टतता किन्न सकोस् । कक्षाकोठामा लैङिगकताको पाठ सिकाएर बाहिर निस्कन नपाउदै कोहि महिला माथि असहज हिसांको व्यबहार गर्छ । उच्च पदमै रहेको मानिसले दोहोरो अर्थ लाग्ने व्यवहार गर्छ अनि सैदान्तिक व्याख्याको हत्या गरेर वा तोडमोड गरेर हिंसाको भूर्णलाई हुर्काईदिन्छ ।

हिंसाका जराहरु उखेलिन सक्दैनन् । अनि विदेशीन्छन कोही, मनोरोगी बनिदिन्छन् कोही, जिन्दगी नै जिउन छोडिदिन्छन कोही ।

अर्को पाटोबाट हेर्दा कोही  फेरी कानुनका पाठ  बडो चतुर तरिकाले पढेर गल्ति नै नभएका पूरुषलाई नफसाउने पनि होईनन । महिला हुनु प्रकृतिले दिएको शारीरिक संबेदनशिल अंग हुनु उसको कदाजित कमजोरीको निसाना हैन र हुँदै होईन । जहाँ पुरुष भएकै दम्भका आधारमा पुरुषले हिंसा गरोस् र महिलाले मेरो अपमान फैलन्छ भनेर सहेर बसोस् भित्र भित्रै मरेर बाँचोस् । 

पहुँचमूलक ठाउँमा त आवाज उठ्लान साथ पनि पाउँलान् तर हिंसा भनेको के हो यो पनि नबुझेका र हिंसामा पर्दा पनि आबाज उठाउँदा उल्टै आफ्नो इज्जतको खिल्ली उड्ने डरले आफैलाई मनोरोगको बिरामी बनाएर बस्नेको आवाज कसले सुन्ला, कसले उठाईदेला ? उनीहरुको न्यायका लागि तारे होटेलमा  चलाइएको सेमिनार भन्दा उत्तम त पहुँच नपूगेको ठाउँमा पुगेर सारथीको भूमिका खेलिदिनु वेस होला नि हैन र ? होइन भने अझै पनि देवत्वकरण  मानिएका र अरुको नजरमा पत्यार कुनै पनि हालतमा नलाग्ने ढोंगी देबताहरुबाट नै अबोधहरुको बलात्कार हुन छोड्दैन । 

हिंसाका जराहरु उखेलिन सक्दैनन् । अनि विदेशीन्छन कोही, मनोरोगी बनिदिन्छन् कोही, जिन्दगी नै जिउन छोडिदिन्छन कोही । त्यसैलै “म” पात्र अनि “उ” पात्र तिमीहरु सूधार आफैलाई, जब सम्म  आत्मबोध गर्दैनौ र आफैलै आफैलाई सुधार गर्दैनौ तबसम्म अरुले बनाएका न्यायिक कदमहरुले पनि पाइला चाल्न सक्दैनन । हरेक पात्र स्वतन्त्रता मा उड्न चाहान्छ, खुशीको श्वास फेर्न चाहान्छ । स्वभिमान र अस्मिताको लाज राख्न चाहन्छ । त्यसैले आत्मबोध सरल बुझिने र व्यबहारमा ल्याउन सकिने एक न्यायिक कानून हो, जहाँ बोझिला भाषा हुँदैन । 

लेखक तमानखोला गाउँपालिका बागलुङको रोजगार संयोजक हुन ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्