१६ बैशाख २०८१, आइतबार

कोभिडले दशै दशा नबनोस्...

कोभिड–१९ को संक्रमणका कारण कैयौँले ज्यान गुमाए । आर्थिक तथा समाजिक रुपमा ठुलो क्षति पुग्यो । अहिले पनि कोभिड–१९ संक्रमणले ज्यान जानेहरुको संख्या दैनिक थपिएको छ ।

तर, राजनैतिक चेत भएकाहरु नै अचेत छन् । यात्रा खुलेका छन् । राजनैतिक र साँस्कृतिक जात्रा रोकिएका छैनन् । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनेहरुको संख्या कम हुँदै गएको छ । चोक, चौतारो र बसपार्कहरुमा माक्स प्रयोग शुन्य छ । सवारी साधनमा पनि यात्रु बिना माक्स चढ्छन् । न चढ्नेलाई मतलब न चढाउनेलाई । 

दलका तमासा तारे होटलदेखि गाउँसम्म बढेका छन् । तर, स्वास्थ्य कार्यालय गुल्मीका अनुसार पछिल्लो साता कोरोना संक्रमण बढ्दै गएको छ । बिहिबारसम्म जिल्लामा सक्रिय कोरोना संक्रमित ४ सय ५९ पुगेका छन् । 

गुल्मी अस्पताल र स्थानीय स्वास्थ्य संस्थाहरुमा भर्ना हुन थाले । समस्या जटिल भए बढिमा १० जना थेग्ने अस्पताल जिल्लामा छैनन् । दशै सवैको घर आगनमा आइपुग्यो । कसरी दशै मनाउने, के खाने, कहाँ जाने ? आम मान्छेका आशा र योजना छन् । 

दललाई कार्यकर्ता भेटघाट, सभा सम्मेलन र गुट रिझाउने चिन्ता छ । क्लब तथा संघ संस्थाले पनि विभिन्न खेल र सांस्कृतिक मेला महोत्सवको मौका अहिले नै छोपेका छन् । 

जनसंख्याको आधारमा धेरै गुल्मेलीले खोप पाएका छैनन् । विद्यालयमा बालबालिका बिरामी परेर बेहाल छन् । बालबालिकाको भविष्य कि ज्यान ठुलो ? अभिभावक उत्तर दिन सक्दैनन् । 

बिज्ञहरुले तेस्रो लहर बालबालिकाको लागि खतराजनक भनेकै छन् । भोली चिच्याएर, कराएर र हत्केलाले आँशु पुछेर पनि परिस्थति अनुकुन नहुने दिन आउनेछ । 

बिहिबार कोभिड–१९ व्यवस्थापन समितिको बैठक बस्यो । मुख्य छलफल दशै, मेला महोत्सव र कोभिड–१९ संक्रमणको अवस्थाका बिषयमा केन्द्रित रह्यो । सवैले राय राखे । कोभिड संक्रमणको बिषयमा प्रहरी प्रशासन, स्वास्थ्य कार्यालय र अस्पतालबाट गम्भिर सुझाव आउँछ ।

केही स्थानीय सरकार प्रमुख त्यसलाई मजाक पनि सम्झिए । सवैका आफ्नै ताल आफ्नै डम्फु । अवस्था प्रस्तुत गर्ने सरकारी निकाय र थप गम्भिर बनाउने नागरिक समाज र पत्रकार नै बरु निकम्मा जस्तै बने । 

मुख्य दलहरु पनि बोलेनन् । किनकी राजनैतिक भेलाका कार्यतालिका बिग्रने स्थिती रह्यो । व्यवसायी बोल्दा व्यापार चौपट । पत्रकार बोले मुखाले । भोलीकै दिनबाट हेरौँ परिस्थीति बुझेर दलहरुले आफुलाई सच्याउँछन् कि नाई ? आफुलाई देखाएर नागरिक कन्भिन्स गर्न सकुन् । 

राजनीति दलले भटाभट कार्यक्रम गर्ने । तर, सराय नाच रोकिनु सस्कृति प्रेमीको लागि अन्याय हुनेछ । राजनीति गतिविधि गर्न लाज नमान्ने । तर, क्लब समुहका कार्यक्रम अन्कुस लगाइए बिद्रोह हुन सक्छ । 

निति कानुन सबैलाई हुनुपर्छ । नत्र अराजकता निम्तन्छ । कि कोभिड–१९ संक्रमणलाई ध्यानमा राखेर सबै मेला महोत्सव र भेला पुर्ण प्रतिबन्ध गरौं । नत्र दललाई चैन आम नागरिकलाई ऐन हुँदैन ।

जिल्लाका पालिकामा संक्रमणको स्थिती

संक्रमणको हिसाबले जिल्लाका ६ स्थानीय तह रेड जोनमा छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यका अनुसार रेसुङ्गा नगरपालिका, धुर्कोट, इस्मा, गुल्मीदरवार, छत्रकोट र रुरु क्षेत्र गाउँपालिका सवैभन्दा धेरै सक्रिय संक्रमित छन् । 

रेसुङ्गामा ४८, धुर्कोटमा ४९, रुरु क्षेत्रमा ९२, छत्रकोट ८१, इस्मा ७२, गुल्मीदरवारमा ३५ जना कोरोनाका संक्रिय संक्रमित रहेको आचार्यले जानकारी दिए । 

उनले कोभिड संक्रमणको अवस्था अझै धेरै भएपनि परिक्षण छैन् । पछिल्लो साता सत्यवती र चन्द्रकोट गाउँपालिकाले एन्टिजिन परिक्षण नै नगरेको बताए । 

कोभिड–१९ व्यवस्थापन समितिका निर्णयहरु

कोभिड–१९ व्यवस्थापन समितिले निषेधाज्ञाका पुर्वबत् निर्णयहरुलाई कायम गरेको छ । मन्दिरहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित पुजा गर्ने र भाकल दिने निर्णय गरेको छ । 

मन्दिरमा दर्शक उपस्थित गराउन पाइने छैन् । त्यो बाहेक सराँयसहित अरु कुनै पनि ठुला मेला महोत्सव, जात्रा, उत्सव, खेल र भेलाहरु नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

उनले जीवन रहे अर्को साल पनि मेला पर्व र उत्सवहरु हुने भएकाले कोभिड संक्रमणको स्थितिलाई हेरेर निर्णय गरिएको बताए । उनले निर्णय उल्लंघन गर्नेलाई रोग संक्रामक ऐन अनुसार कारबाही गरिने बताए । 

त्यस्तै सवारीधनीले यात्रुलाई अनिवार्य माक्सको प्रयोग गर्न लगाउने र माक्सबिना यात्रु राखेको भेटिएमा प्रहरीले तत्काल कारबाही गर्ने प्रहरी प्रमुख एसपी गोपालचन्द्र भटराईले जानकारी दिए । उनले यात्रु र सावरीधनी दुवै सजग र सचेत रहन आग्रह गरे ।

त्यस्तै संक्रमणको लक्षण भएका व्यक्तिहरुलाई स्थानीय तहले एन्टिजिन परिक्षण गर्ने, समुदाय र परिवारमा कसैलाई लक्षण भए पालिकालाई खबर गर्न बैठकले आग्रह गरेको छ ।  

रिर्पोटरको आग्रह

फेरि पनि पक्कै समय अनुकुल छैन् । म पनि कोभिड संक्रमणको राम्रै अनुभव गरेको मान्छे हुँ । म त ठिकै छु, नि ! ज्यान त जोगाएँ । परिवारमा कसैलाई केहि भएन् । 

एकचोटी सम्पत्ति सकिएर पनि घर  नफर्किएकाहरुको परिवारमा पुगौँ न । छोराछोरीले दशै भन्लान कि बाबा । बाबाले दशै भन्छन् की छोराछोरी । कोभिडले चुडेका अभिभावकको सम्झनामा कहिल्यै मुस्कुराउन नसक्ने परिवारका सदस्य भएर मानसिकता बदलौँ ।

स्वार्थ केन्द्रित निर्णयले नागरिक संक्रमित भए भने नेता ज्यू त हेलिकप्टर चढेर काठमाडौँ पुग्नुहोला । तर, बिपन्न नागरिक मरे भने छिमेकीले समेत थाहा पाउँदैनन् । आम नागरिक आफैले पनि सोँच परिवर्तन गरौँ।

घरमै दशै मनाउँ । सकेसम्म भेला पनि छोडौ मेला पनि । मर्दा जन्म दिने बाआमाले त एक थोपा पानी राख्न पाएनन । जीवन संगीनीले कात्रो उघार्न सकिनन् । छोराले दागबत्ति दिन पाएनन् । 

सवै अनुकुलतामा बुई चढ्ने हुन् । सोच्ने बेलामा हो । जमाना तर्कनेका छन् । केहिबेरलाई सिडियो कसैलाई दोषि देखाएर तर्केलान, जनप्रतिनिधीले पनि कसैलाई दोष देखाएर उम्केलान । प्रहरी, पत्रकार, सरोकारवाला एवम् आम नागरिक पनि । 

जीवन सवैभन्दा अमुल्य कुरा हो । आफु बाँचे न परिवार, दशै, मेला महोत्सव हो । कसैलाई कारण देखाएर जिद्धि नगरौ, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाऔ । नव दुर्गा भवानीसंग अरु फेरि मागौला अहिले संक्रमणलाई परास्त गर्ने आर्शिवाद मागौँ, दशै घरमै सिमित गरौँ । सवैलाई विजया दशमीको शुभकामना !

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्