२० बैशाख २०८१, बिहीबार

प्रदेश ३ को पर्यटन क्षेत्रमा १० प्रतिशत खर्च

प्रदेश ३ सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहने गरी ६ महिनाअघि स्थापना गरेको पर्यटन विकास आयोजनाले १० प्रतिशत मात्र खर्च गरेको छ । 

मन्त्रालयबाट विनियोजन भएको ९१ करोडमध्ये आयोजनाले ११ करोड रुपैयाँ मात्र खर्च गरेको हो । आयोजना प्रमुख राजु क्षत्रीले प्रदेश सरकारले आयोजना स्थापना गरेपछि आयोजनामातहतबाट हुने काम र व्यवस्थापनमा समय खर्चिएकाले बजेट खर्च न्यून भएको बताए । उनले तुलनात्मक रूपमा आयोजनाबाट भएको खर्च चित्तबुझ्दो रहेको पनि दाबी गरे । 

पर्यटन विकाससम्बन्धी साना–ठूला गरी २४ वटा योजनामा ७ करोड १८ लाख रुपैयाँ खर्च भएको आयोजना प्रमुख क्षत्रीले जानकारी दिए ।

५० लाख रुपैयाँसम्मका योजनाहरू उपभोक्ता समितिमार्फत र सोभन्दा बढी रकमका योजनाहरू टेन्डरमार्फत सम्पन्न गर्ने काम गरिएको क्षत्रीले जानकारी दिए । आयोजनाले प्रदेश ३ का १३ जिल्लाका १ सय ९२ वटा साना–ठूला योजना सूचीकृत गरी काम सुरु गरेको छ ।

३ वटा ट्रेकिङ रुटको पहिचान गरिने

चालू आर्थिक वर्षमा आयोजनाले कम्तीमा ३ वटा ट्रेकिङ रुटको पहिचान गरी पूर्वाधार विकास गर्न लागेको छ । सिन्धुपाल्चोकको पाँचपोखरी सर्किट ट्रेल (चौतारबाट पाँच पोखरी हुँदै मेलम्ची निस्किने)लाई व्यवस्थित गरी सञ्चालनमा ल्याउने काम गर्न लागिएको आयोजना प्रमुख क्षत्रीले जानकारी दिए । पाँच पोखरीमा हिउँ नपग्लेका कारण यो रुटको डिपिआर तयार गर्न ढिलाइ भएको उनले बताए । त्रिभुवन राजपथलाई पर्यटकीय मार्गका रूपमा विकास गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । हेटौँडाबाट २ घन्टाको यात्रामा पुगिने त्रिभुवन राजपथको दामन सिमभञ्ज्याङ क्षेत्रमा थप होटेल विस्तार गर्न सकेमा भारतको बिहारका पर्यटकलाई आकर्षण गर्न सकिने आयोजनाले जनाएको छ ।

ब्रान्ड र लोगो टुंग्याउने तयारी

आयोजानाले प्रदेश ३ को पर्यटन क्षेत्रको ब्रान्ड र लोगो चैत महिनाभित्रै सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । पर्यटन क्षेत्रको विकासका लागि के कुरालाई ब्रान्डिङ गर्ने र लोगो कस्तो बनाउने भन्ने विषयमा विज्ञहरूसँग छलफल चलिरहेको क्षत्रीले बताए । काजमा ल्याइएका १५ जना कर्मचारीबाट १३ वटै जिल्लाको पर्यटन पूर्वाधार निर्माणदेखि पर्यटकको सेवासुविधाको अनुगमनसमेत गर्नुपरेको पनि उनको भनाइ छ ।

प्रदेश ३ का ऐतिहासिक र सामरिक महत्वका १३ वटा गढीहरूलाई पनि आयोजनाले उच्च प्राथमिकतामा राखेर काम गर्न लागेको छ । प्रदेश ३ को पर्यटन नीति, नियमावली, निर्देशिका, कार्यविधि निर्माणको काम पनि अन्तिम चरणमा पुगेकाले आगामी वर्षदेखि पर्यटनको क्षेत्रमा सोचेभन्दा बढी नै उपलब्धिमूलक काम हुने आयोजना प्रमुख क्षत्रीले बताए । ०७५ असोज २२ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले पर्यटन विकास आयोजना स्थापना गर्ने निर्णय गरेको थियो । आयोजनाले धादिङमा ट्रेकिङ इन्स्टिच्युट र दोलखामा माउन्टेनिङ इन्स्टिच्युट स्थापना गरी विभिन्न किसिमका तालिम प्रदान गर्ने तयारी गरिरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्