२९ बैशाख २०८१, शनिबार

यो वर्ष बुटवलमा पनि गाईजात्राको रमाईलो

काठमाडौं । हरेक वर्ष आउने गाइजात्रा हरेक वर्ष नै काठमाण्डौमै केन्द्रित हुने गरेको थियो । यसो हुँदा काठमाण्डौभन्दा बाहिर बसोबास गर्ने नेपालीहरुले गाइजात्राको रमाइलो विरलै मात्रै पाउने गरेका थिए । काठमाण्डौ उपत्यकामा धुमधामसँग गाइजात्रा मनाइरहँदा अन्य स्थानमा भने सुनसान हुने गरेको थियो । रमाइलो हेर्नकै लागि रेडियो, टेलिभिजन, युट्यूबको भर पर्नुपर्ने अवस्था थियो । तर यस वर्षबाट भने यो सबै कुराको अन्त्य हुँदैछ । नेपालका सातै प्रदेशमा बसोबास गर्ने नेपालीहरुले यसपटक गाइजात्रको मज्जा लिन पाउने भएका छन् । 

यस वर्षदेखि गाईजात्रा प्रदेश १ को राजधानी विराटनगरबाट सुरु हुने भएको छ । ब्रान्ड वर्थ प्रालिले यस वर्ष सातै प्रदेशमा गाईजात्रा कार्यक्रम गर्ने तयारी गरेको छ । ‘सिग्नेचर प्रदेश प्रदेशमा गाईजात्रा’ नाम दिइएको कार्यक्रम साउन ३२ गतेबाट सुरु हुने पक्का भएको छ । ‘सिग्नेचर प्रदेश प्रदेशमा गाईजात्रा’ विराटनगरबाट सुरु भएर सिमरा, हेटौंडा, सुर्खेत, बुटवल, धनगढी, पोखरा हुँदै अन्त्यमा काठमाण्डौमा आएर समापन हुने ब्राण्ड वर्थ प्रालिका कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए । 

‘हरेक वर्ष गाइजात्रा काठमाण्डौ उपत्यका केन्द्रित हुने गरेको छ । पछिल्लो पुस्ताले त गाइजात्रा काठमाण्डौमा मनाइने पर्वका रुपमा बुझ्न थालेको पायौँ ।  तर, गाईजात्रा काठमाण्डौ उपत्यकाको मात्र नभइ सिङ्गो देशको पर्व हो । यो नेपालको संस्कृति र परम्परामध्येको एक हो । त्यससँगै जनतामा राजनीतिक तथा सामाजिक चेतना फैलाउनु, विकृति र विसङ्गतिलाई हास्यव्यङ्ग्य मार्फत पर्दाफास गर्नु हाम्रो उद्देश्य हो’, हास्य कलाकार मनोज गजुरेलले भने ।

सातै प्रदेशमा हुने कार्यक्रममा मनोज गजुरेलसँगै शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग) रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर), सुबोध गौतम (एकदुमे), सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारी लगायतको हास्य व्यङ्ग्य प्रस्तुति रहने बताइएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्