२७ बैशाख २०८१, बिहीबार

प्रसिद्ध पर्यटकीय वस्ती घोडेपानी सडकमा जोडियो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानी सडक सञ्जालमा जोडिएको छ । असार, साउनको झरी, बादल नभनी सडक निर्माण भएपछि अब घोडेपानीसम्मै मोटर चढेर पुग्न सकिने भएको हो । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा चित्रेदेखि घोडेपानी जोड्ने सडकको ट्याक खुलेको हो । प्रदेशको रु ३२ लाख ७० हजार र अन्नपूर्ण गाउँपालिकाको रु १५ लाखको लागतमा पाँच किलोमिटर सडकको ट्रयाक (मार्ग) निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालयले रु ५३ लाख ४० हजार लागत अनुमान गरे पनि जनश्रमदानसहित रु ३६ लाख ३८ हजारमा लक्षित सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष बिरेन पुनले बताए ।“प्राविधिकको लागत इष्टिमेटभन्दा धेरै–थोरै बिलमा सडक निर्माण गरेका छौँ”, पुनले भने, “इष्टिमेटभन्दा झण्डै रु १८ लाख कम खर्चमा सडक निर्माण भयो । बचेको पैसा बिल बनाएर राखेनौँ, प्रदेश सरकारको खातामै फिर्ता गरेका छौँ ।” सात मिटर फराकिलो सडकमा बर्खा सकिएलगत्तै मर्मत गरेर सवारी सञ्चालन गरिने वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । 

कताबाट सडक लैजाने भन्ने विषयमा स्थानीयवासीको विवादका कारण अघिल्लो आर्थिक वर्षमा काम हुन सकेको थिएन । आव २०७५७६ मा घोडेपानी र चित्रेका बासिन्दाबीच सहमति जुटेपछि सडक निर्माण भएको हो । घोडेपानीका बासिन्दाका साथै पर्यटकलाई आवतजावत, ढुवानी र निकासीमा सहज हुने अपेक्षा गरिएको छ । बर्खामा खनिएको सडक सामान्य मर्मतपछि सहजरूपमा सवारीसाधन सञ्चालन गर्न सकिने पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर रविन चोखालले बताए । गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रेसम्म यसअघिनै सडक निर्माण भएको थियो । चित्रेदेखि घोडेपानीमा ढुवानीका लागि घोडा, खच्चड र भरियामा निर्भर हुनुपर्ने थियो । दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानीमा बढी खर्च हुन्थ्यो ।

समाजको आवश्यकताले पर्यटकीय पदमार्गलाई असर नपुग्ने र नमासिने गरी सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । घोडेपानीदेखि पोखरा–बागलुङ भूपि शेरचन राजमार्गमा पर्ने नयाँ पुललाई सडकले जोड्ने योजना छ । कास्की तर्फबाट म्याग्दीको सिमानामा पर्ने वनठाटी नजिकैको बस्ती उल्लेरीसम्म सडक निर्माण भइसकेको छ । “दुई जिल्ला जोड्ने सडक यस क्षेत्रको लाइफलाइन पनि बन्न सक्छ”, अध्यक्ष पुनले भने । उल्लेरीदेखि घोडेपानीको दूरी करीब १५ किलोमिटर छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर ५०० मिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित आयोजना सञ्चालन गरेको छ । पोखरेबगरदेखि दुरबिनडाँडा घार हुँदै शिखसम्म सडक फराकिलो बनाइएको छ । घोडेपानी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा अवस्थित घोडेपानी पुनहिल र घान्द्रुक जाने आउने पदमार्गको केन्द्र हो । घोडेपानीदेखि ४० मिनेट उकालो हिँडेपछि पुगिने पुनहिल सूर्योदय, हिमशृङ्खला, गुरासे जङ्गलको दृश्य अवलोकनका लागि प्रसिद्ध छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्