गन्धर्व समुदायको ‘खेती र जागिर’ सारङ्गी

बागलुङ । चरीले रनवन डुलेझैँ भद्र र विष्णुबहादुर गन्धर्व गाउँघर डुल्छन । लोकलयमा जनजीवनका सुखदुःख, संवेदना सुसेल्छन, जसरी वनतिर चरी चिरबिर गर्छन । यसपालि झरीले गन्धर्व जोडीको यात्रा छोटियो ।

चार दिनअघि बागलुङ नगरपालिका–१२, अमलाचौरस्थित घरबाट निस्केका उनीहरु बिहीबार घर फर्के । “धम्जा गाउँ गएका थियौँ”, भद्रले भने, “झरी प¥यो, धेरै नघुमी फर्कियौँ ।”
काठखोला गाउँपालिका–३ मा धम्जा गाउँ पर्छ । चिप्लो बाटो हुँदै झरी छलेर घरघर पुग्न गाह्रो भएको भद्रले सुनाए । घर फर्कनुपूर्व बागलुङ बजारमा भेटिएका उनले दिन घमाएपछि फेरी गाउँ जाने बताए ।

भद्र र विष्णुबहादुर छिमेकका दाजुभाइ पर्छन । सारङ्गी रेट्दै जुन गाउँ पुग्दा पनि उनीहरुसँगै हुन्छन । “सात वर्षको उमेरबाट सारङ्गी बजाउन सिकेको हुँ”, ५५ वर्षीय विष्णुबहादुरले भने, “हाम्रो खेती नै यही हो ।” सानैमा बुबा बितेपछि मामाघर बसेका उनले मामा मतिलालसँग सारङ्गी सिकेका थिए । 

श्रीमती, एक छोरी र छोरासहितको परिवारको जीविका विष्णुबहादुरकै सारङ्गी बजाउने कलामा टिकेको छ । एक छोरीको विहेवारी भइसकेको छ । “घरखर्च, छोराछोरीको पढाइ जेनतेन धानिन्छ”, विष्णुबहादुरले भने । खेतीपाती गर्न गन्धर्व परिवारलाई जग्गा अभाव छ ।

“हाम्रो पुख्र्यौली चलन र पेशा नै यही हो”, ६२ वर्षीय भद्रबहादुरले भने, ‘वर्षभरी गाउँघर डुल्दै, गाउँदै जीवन चलेको छ ।” गाउँघर पुग्दा गन्धर्वलाई अन्नपात र नगद दिने चलन छ । अन्न बोकेर हिँड्न गाह्रो भएपछि बढीजसो नगद दिन्छन । “लाहुरे आएको घर र दानी व्यक्तिले राम्रै पैसा दिन्छन”, भद्रबहादुरले भने, “हप्तादिन घुम्दा दुई, चार हजार हात पर्छ ।” उनलाई पनि श्रीमती रम्बासहित एक छोरा र छोरीको जिम्मेवारी छ । दुई छोरीको विहेवारी भइसकेको छ ।

अमलाचौरमा १८ गन्धर्व परिवार छन । गन्धर्व बस्तीलाई गायकथर भनेर पनि चिनिन्छ । पुख्र्यौली गायन पेशा अङ्गालेका चार/पाँच जना मात्र छन । गन्धर्व परिवारका अधिकांश युवा रोजगारीमा विदेश छन । नयाँ पुस्तामा गायन र सारङ्गी वादनको सीप हस्तान्तरण हुन नसके गन्धर्व जातिको पेशा नै हराउने चिन्ता छ । आफ्नो १८ वर्षीय छोरा सन्दीपले सारङ्गीमा रुची नदेखाएको विष्णुबहादुरले बताए । “नयाँ युवालाई चासो नै छैन”, उनले भने ।

नेपाली मौलिक बाजा सारङ्गी नै लोप भएर जाने हो कि भन्ने चिन्ता गन्धर्व समुदायमा छ । समाज र जीवनका विविधतालाई शब्दमा टिपेर सारङ्गीमा लय भर्ने गन्धर्वहरुको कलागत पेशा जोगाउनु चुनौतीपूर्ण देखिन्छ । भद्र र विष्णुबहादुर सारङ्गी बजाउँदै बागलुङ, पर्वत र म्याग्दीको गाउँगाउँ पुग्छन ।

सारङ्गी रेट्दै गाउँघर चहार्दाका तीतामिठा अनुभव उनीहरुसँग छन । गाएरै जीविका धान्नेहरु अहिले पनि सारङ्गीलाई नै ‘खेती र जागिर’ मान्छन । परिवार धान्ने आधार नै सारङ्गी बनेको छ । जीवन, जगत, ईश्वरीय महिमा, युद्ध, प्राचीन कथा, घटना, दुर्घटना आदिलाई शब्दमा टिपेर सारङ्गीमा लयबद्ध गर्दै गन्धर्वहरु गाउने गर्छन ।

घटना विशेषलाई कथानक बनाउने र त्यसलाई सारङ्गीको तालमा गाउने गन्धर्वहरुको विशेषता हो । यथार्थपरक र मार्मिक गीतहरुलाई ‘कर्खा’को रुपमा गाउने गर्छन । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय