सरकारी जागिर छाडेर कलाकारितामा जमेका ५ नेपाली सेलिब्रेटी
नेपाली समाजमा प्रचलित एउटा भनाई छ ‘तिहुन मीठो तरकारी, जागिर राम्रो सरकारी’ अर्थात सरकारी जागिर भयो भने जीवन भरलाई ढुक्क हुन्छ । सरकारी जागिर भयो भने बुढेसकालमा पेनसेन आउँछ, काम नगरी खान पाईन्छ भन्ने आम धारणा छ ।
अझ सेनामा काम गर्नेको शान र इज्जत समाजमा बेग्लै हुन्छ । प्रायः मानिसहरु सरकारी जागिर भनेपछि मरिरहत्त नै गर्छन् । सरकारी जागिरका लागि लोकसेवाको परीक्षाको फर्म भर्नेको आंकडा हेरेमात्रै पनि पुग्छ सरकारी जागिरको क्रेज । तर सबैलाई सरकारी जागिर मनपर्छ भन्ने छैन ।
कतिले लहै लहैमा सरकारी जागिरमा लागेर पछि विविध कारणले छाडेका पनि हुन्छन् । आज हामी यस्तै सरकारी जागिर विशेष गरी सेनामा काम गरेर छाडेर कला क्षेत्रमा रमाएका नेपाली कलाकारहरुको विषयमा चर्चा गर्दैछौँ ।
तुलसी घिमिरे
निर्देशक तुलसी घिमिरेले सरकारी जागिर छाडेर सिनेमालाई अंगालेका हुन् । उनी भारतीय सेनामा भर्ति भएका थिए । उनलाई सानैदेखि सिनेमामा आउन मन थियो । यही कारण नै उनले सेनाको जागिर छाडेका हुन् ।
६ महिने ट्रेनिङ सकेपछि उनले आर्मीको जागिरलाई अलविदा भनेर सिनेमामा काम सुरु गरे । उनको पारिवारिक पृष्ठभूमि नै आर्मी भएका कारण उनी आर्मीमा भर्ति भएका थिए । उनका बुवा र तीनजना दाजुहरु पनि आर्मी नै हुन् ।
अहिले तुलसी नेपाली सिनेमाको ईतिहासमा एक सफल निर्देशको रुपमा स्थापित भईसकेका छन् । उनले निर्देशन गरेको चर्चित सिनेमा ‘दर्पण छायाँ’को सिक्वेल ‘दर्पण छायाँ २’ समेत बनाएका थिए ।
दर्पण छायाँले नेपाली सिनेमाको ईतिहासमै पहिलो पटक सिंगल थियटरमा सय दिन मनाएको थियो । कुसुमे रुमाल, देउता, दक्षिण, दर्पणछायाँ लगायत दर्जन बढी सुपरहिट चलचित्र उनले दिइसकेका छन् । अहिले उनी चलचित्र ‘दर्पण छायाँ’ का पुरानै कलाकारलाई लिएर ‘दर्पण छायाँ पछि’ बनाउँदैछन् ।
दीपकराज गिरी
नेपाली सिने क्षेत्रका राजा बनिसकेका कलाकार दीपकराज गिरी आफूलाई हुन नसकेको असई भन्छन् । कलाकारितामा आउनु पहिले आफू प्रहरी सहायक निरिक्षक (असई) मा भर्ति भएर केही दिन बिताएको कुरा केही अन्तरवार्ताहरुमा भनेका छन् ।
सुरुका चार दिनमै ट्रेनिङ गाह्रो लागेपछि उनले त्यो जागिरबाट कुलेलम ठोके । यो कुरा कमैलाई मात्र थाहा छ । पहिले प्रहरी अधिकृत बन्ने रहरले असई भएका उनीसँग थोरै भएपनि फौजी जागिरको अनुभव छ । सरकारी जागिर छाडेर कलाकारितामा लागेका उनलाई निकै फापेको छ ।
धिरेन शाक्य
धिरेन शाक्यले नेपाली सिनेमामा झण्डै तीन दशक जति बिताई सकेका छन् । पाल्पामा जन्मेका धिरेनले पनि अभिनयका लागि ब्रिटिश आर्मीको जागिर छाडेका थिए ।
“त्यतिबेला जोश थियो, उमेर थियो, त्यस कारण म गएँ । तर पछि मलाई त्यो जीवन मन परेन । अनि म छाडेर कलाकारितामा लागेँ” उनी भन्छन्, “मैलै राजीनामा दिएर छोडेको पनि होईन तर कलाकारितामा आउन लेखेको रहेछ त्यहि भएर मैलै छाडेँ जस्तो अहिले लाग्छ ।”
आर्मीबाट फर्किएर उनी साथीहरुको हौसला र सहयोगले सिनेमामा लाग्ने सोंच बनाएका थिए । उनलाई निर्देशक बसन्तजंगले सिनेमाको ढोका खोलिदिएका थिए भने चेतन कार्कीले ब्रेक दिएका थिए । जुन कुरा उनी कहिल्यै पनि बिर्सन सक्दैनन् ।
अर्जुन घिमिरे (पाँडे)
अजुर्न घिमिले उर्फ पाँडेले पनि नेपाली सेनाको अनुभव संगालेका छन् । संकटकालको समयमा उनी आर्मीमा भर्ति भएका थिए । तर उनको संकटकालको सरकारी जागिर संकटकालले नै खाईदियो ।
देशमा माओवादी र सरकारबीच बढेको द्धन्दले उनको जागिर खाइ दिएको हो । उनी त्यो पल सम्झँदै भन्छन्, “संकटकालमा जागिर खाको संकटकाल मै अवकास प्राप्त भयो ।” अर्जुनका दाई प्रहरीमा थिए । उनले दाईको माध्ययमबाट सेनाको जागिर खाएका थिए ।
तर पछि संकटकालमा बढेको द्धन्दले उनी लगायत अन्य १२ जनाले एकैपटक आर्मीको जागिर छोडेका थिए । उनी आफुले जागिर छोडेको नभएर छोडाईएको बताउँछन् ।
कलाकारिता भने उनले आर्मीमा जानु भन्दा पहिले नै सुरु गरेका थिए । उनले पहिलो पटक ‘हिजो आजका कुरा’मा क्यामेरा फेस गरेका थिए । पछिल्लो समय उनी भद्रगोल हुँदै ‘सक्किगोनी’ मा ‘पाँडे’को भूमिका निभाएर चर्चित छन् ।
प्रशान्त तामाङ
ईन्डियन आईडल बनेका गायक तथा नायक प्रशान्त तामाङ पनि ईन्डियन प्रहरीमा कार्यरत थिए । प्रशान्तले कलाकारिता र प्रहरी मध्ये एउटा छान्नु पर्ने भएका कारण कलाकारितालाई छानेको र प्रहरीको जागिर छाडेको बताउँछन् ।
तर उनी लामो समयसम्म गयल भएका कारण उनलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको थियो । उनी ईन्डियन आईडल भएपछि सन् २००९ देखि २०१४ सम्म एक हजार ८ सय ७० दिन गयल भएका थिए ।
प्रशान्तले सिनेमा गोर्खा पल्टन र निशानीमा आर्मीको भूमिका निभाएका छन् । उनलाई वास्तविक जीवनमा भएको प्रहरीको अनुभवले सिनेमामा काम गर्न पनि निकै सजिलो भएको थियो ।
प्रतिक्रिया थप्नुहोस्