३१ बैशाख २०८१, सोमबार

ताता लासहरु

यो चिसो मौसममा पनि आगो चाहिँदैन
वरिपरी यहाँ ताता लासहरुको खात छ
आँत नै ठि¥याउने यो ठन्डीमा न्यानो पाईदैन
जताततै छरपस्ट सात्तो गएको आँत छ
चिहानको चिसोमा कोही चुपचाप सुतिरहेछ
अनि यो बिहानी घाममा पनि कोही सपना देख्दै
सास नभएका आत्माहरु त ज्ञानी भई बसिरहेछ
सास फेर्ने शरिरहरु आफ्नै सपनाको चिता ताप्दै !

यी जिउँदा लासहरु रमिते छन् यहाँ
समाजमै बसी समाजलाई नै जलाऊँछन्
अर्काको प्यासको त मतलब छैन यहाँ
आफुलाई प्यास नलागुन्जेल पानी पोख्छन्
स्वतन्त्रताको पनि सिमाले नै हेप्छ मात्रै
अनि न्यायले आँखा छोपी जिउ चैं नाङ्गिन्छ
पैसा र खुशी फरक फरक भन्छन् मात्रै 
तर खै डलरको लोभले भगवान् त बदलिन्छ !

सास गएका लास भन्दा आश गएकाहरु खतरनाक हुन्छन्
लास त खरानी भै जान्छ तर आश गए मन खरानी पार्छ
यहाँ गाली गर्नेको संख्या भन्दा ट्वाल्ल हेर्ने आँखा बढि छ
गालीले घोच्ला मात्रै तर ट्वाल्ल हेर्ने आँखाले जिउँदै मार्छ
प्रेमको चाहना भन्दा वासनालाई प्रेम देख्ने नजरले बर्बाद गर्छ
चाहनाले त भोको बनाऊला तर त्यो नजरले प्रेमलाई मार्छ
मरेको चिसो लास भन्दा यहाँ जिउँदा ताता लास खतरनाक हुन्छन्
मरेको त बिलाएरै जान्छ तर ताता लासले जिउँदा सपनालाई मार्छ ।


लेखक ढुंगाना धरातल अनलाईनको अंग्रेजी संस्करणका सम्पादक हुन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्