१५ बैशाख २०८१, शनिबार

व्यावसायिक खरायो पालनबाट राम्रो आम्दानी

बगलुङ । बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिक रुपमा खरायोपालन शुरु गरेका छन । शर्माले चार महीना अगाडि घरमा पाल्न दुई वटा खरायो जैमिनी नगरपालिकाको राङ्खानीबाट ल्याएका हुन ।

“दुई वटाबाट शुरु गरेको खरायोपालन अहिले २५ वटा पु¥याएको छु”, शर्माले भने । व्यावसायिक रुपमा खरायो पाल्नका लागि आठ लाखको लागतमा खोर निर्माण गरेको बताउँदै शर्माले खरायोको संख्यामा वृद्धि गर्ने योजना रहेको सुनाए । “हालसम्म तीन जोर खरायो बेचे”, शर्माले भने, “एक सय पु¥याएर मात्र अब बेच्ने योजना छ ।”

खरायो शाकाहारी भएकाले घाँस मात्र खुवाउँदा धेरै खर्च लाग्दैन । हाल खरायोलाई मासुका रुपमा प्रयोग गर्ने प्रचलन बढेको छ । सेतो मासु भएका कारण रातो मासु नखानेका लागि उपयुक्त हुन्छ । एक जोर खरायोलाई एक हजार पर्छ । “एक सय पु¥याएपछि मासुका लागि बिक्री–वितरण गर्ने योजनामा छु”, शर्माले भने ।

अहिले ठूला होटल तथा रिसोर्टमा खरायोको मासुको माग रहेको थाहा पाएकोले खरायो पालनलाई व्यावसायिक रुप दिएको शर्माले बताए । करीब पाँच–६ महीनाको उमेर पुगेपछि पोथी खरायो वयस्क हुन्छ । गर्भ रहेको २८ देखि ३२ दिनमा नै खरायोले चारदेखि १२ वटासम्म बच्चा जन्माउने गर्छ । फेरी त्यसको १२–१५ दिनमा नै पुनः गर्भधारण गर्दछ ।

त्यसैले पनि भालेको भन्दा पोथीको मूल्य बढी पर्छ । खरायो जन्मेको तीन महीनामा नै मासुका लागि योग्य हुन्छ । खरायो पाल्नका लागि त्यति धेरै जग्गा नचाहिने घरको कुनै एक छेउ, कौसीमा पनि गर्न सक्ने भएकाले यो व्यवसायमा हात हालेको उनको भनाइ थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्