फेरी सँगै देखिँदै पल र मलिका

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री मलिका महतले एकसाथ केही म्युजिक भिडियोमा काम गरेका छन् । उनीहरुले अभिनय गरेका म्युजिक भिडियो निकै रुचाइएका पनि छन् ।
यसैले पनि यो जोडीमाथि दर्शकको चासो निक्कै हुने गरेको छ । पल र मलिकाले चलचित्र ‘सत्यम्’मा समेत काम गर्ने पक्का भएको थियो । तर, पोखरामा चलचित्रको वर्कसप हुँदै गर्दा मलिकाले चलचित्र छाडिन् । मलिकाले पढाइलाई ध्यान दिएर चलचित्र छाडेको बताएकी थिइन् । तर, पलको गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको चर्चा बजारमा चलेपछि मलिका पलसँग सहकार्य नगर्ने मुडमा पुगेको पनि चलचित्र वृत्तमा चर्चा चलेको थियो ।
यसपछि पल र मलिकाले एकसाथ काम गर्छन् कि गर्दैनन् भन्ने अड्कलबाजी भइरहेका थिए । तर, यस्तो चर्चाका बीच उनीहरुले फेरि एकसाथ एउटा म्यजिक भिडियोमा काम गरेका छन् ।
पल र मलिकाले केन्द्र मोसन पिक्चर्सले निर्माण गरेको ‘गाजलु टिकी’ बोलको गीतमा काम गरेका हुन् । पलले तस्वीर शेयर गर्दै ‘कसैको नजर नलागोस् मेरी मायालाई’ भनेर लेखेका छन् ।
हुन त पल र मलिकाले केन्द्र मोसनसँग ६ वटा भिडियोमा काम गर्ने सहमति केही समयअघि नै गरेका थिए । त्यसैले सोही सहमति अनुसार नै उनीहरुले यसलाई निरन्तरता दिएका हुन् वा आगामी दिनमा पनि उनीहरु एकसाथ देखिने हुन्, केही समय पर्खनैपर्छ ।
प्रतिक्रिया थप्नुहोस्